Monday 17th June 2024

पाल्पा भैरवस्थानको कथा


पुष्कर अथक रेग्मी – पालिका स्तरीय बालकथा प्रतियोगितामा अनिल प्रथम भयो । पुरस्कार र प्रमाणपत्र प्राप्त गरी आफ्नो र विद्यालयको नाम राख्न सफल भयो । प्रधानाध्यापक खुशी भई बधाई शुभकामनाको, तस्विर सहित कथा विद्यालयको नामबाट संचालित सामाजिक संजाल फेसबुकमा राखिदिनु भयो । धेरै भन्दा धेरैले कथा रोचक, शिक्षाप्रद, ज्ञानवर्धक, एतिहासिक, सांस्कृतिक तथा उत्कृष्ट बाल कथा रहेको भनी बधाई, शुभकामना साथै टीप्पणी समीक्षा गर्न लागे। अनिलले लेखेको कथा यस्तो थियो ।

पाल्पामा करीब चारसय पचास वर्ष सम्म सेनहरुले शासन गरे । पाल्पा रिब्दीकोटबाट सेन वंशीय शासनको सूत्रपात भयो । रिब्दिकोट रिसायतका प्रथम राजा धर्मपाल सेन थिए भने विशाल पाल्पा राज्यका संस्थापक रुद्रसेन थिए । रुद्रसेनका छोरा मणिमुकुन्द सेन (प्रथम) ले पाल्पालाई एकीकृत विशाल पाल्पा राज्यको रुपमा व्यापीकरण गरे । यही क्रममा केही वर्ष सम्म काठमाडौं उपत्यकालाई पनि पाल्पा राज्यको अधिनमा राखे । दिग्विजयको क्रममा चक्रवर्ती महाराज मणिमुकुन्द सेनले थुप्रै कलाकृति एवं मूर्तिहरूका साथ उपत्यका भित्र भएको रातो मच्छेन्द्रनाथको मन्दिरमा रहेको काल भैरवको मूर्तिलाई भ्याली सहित बाजा बजाउँदै सम्मानका साथ पाल्पा लिएर आए ।

काल भैरवले आफूलाई अनिष्ठ गर्छन् कि भने डरले उनले एकसय एकका दरले बोका, राँगो, कुखुरा, हाँस र भेडा गरी पाँच सय पाँच बलि दिइसकेपछि क्षमा पूजा गर्न लाग्दा काल भैरव प्रकट भई “पशुहरूलाई होइन, मलाई तिम्रो बलि चाहिएको छ ।” भन्दै राजा मणि मुकुन्द सेन तर्फ कुद्ध भई आइलाग्दा दैवसंयोग महाकालीले हावाको रुप धारण गरी भैरवलाई रोकी ढोका बन्द गरी बाहिर निस्कन नदिई मुकुन्द सेनको ज्यान जोगाई दिइन् । नाथ सम्प्रदायका महन्तहरूले आफ्नो साधना मन्त्रद्धारा भैरवलाई शान्त पारी शिलामै प्रवेश गराए ।

क्षमा पूजा आराधना सहित राजा मुकुन्दसेनले पाल्पाको आराध्य देवको रुपमा भैरवनाथको मूर्ति प्रतिष्ठापित गरी भव्य र दिव्य मन्दिर बनाए । जुन मन्दिरलाई आज हामी पाल्पाको भैरवस्थान मन्दिर भन्दछौं । त्यतिबेलादेखि नाथ समुदायका महन्त (पूजारी) हरूले भैरवको नित्य पूजा गर्दै आएका छन् ।

राजा मणिमुकुन्द सेनको दरबार पाल्पाको भैरवस्थानको मन्दिरको पश्चिमपट्टि र हार्थोक बजारको पूर्वपट्टि रहेको पूरनकोट (पूर्णकोट) डाँडामा थियो । आफ्नो दरवारको नजिकैको सुन्दर डाँडामा उनले भैरवको मूर्तिलाई मन्दिर बनाई प्रतिष्ठापित गरेका थिए । तात्कालीन समयमा जयमुनि नामका सन्यासी भैरवनाथका पूजारी थिए । उनी राजा मुकुन्द सेनको साथ लागेर सधै रातीनै उठेर रीडी, काली गण्डकीमा नुहाउन गई त्यहाँबाट गंगाजल ल्याएर भैरवको नित्य पूजा गर्दथे । कालकममा एकदिन काली गङ्गा प्रशन्न भई “अब देखि जल लिन नित्य यहाँ आउनु पर्दैन, मन्दिरमुनिको धारामा यहाँको जल पुग्नेछ” भनेकाले उक्तधारालाई ‘जयधारा’ भनी आज सम्म पनि जयधाराबाट जल ल्याएर नित्य पूजा गर्ने चलन छ ।

भैरवको शाब्दिक अर्थ भयानक, डरलाग्दो, भयङ्कर भन्ने हुन्छ । भैरवलाई शिवजीको गणहरू मध्ये एक मानिन्छ । भैरवनाथको मन्दिर काठमाण्डौ हनुमान ढोका स्थित देगुतले मन्दिरको वास्तुशैली एवं नेपाली तलेशैलीमा निर्माण भएको छ । मुख्य कालभैरवको मूर्ति भूइँतलाको गोप्य कोठामा राखिएको छ । यसलाई पूजारी बाहेक अन्य भक्तालुहरूले दर्शन गर्न पाउदैनन्। गोपनियता र रहस्यमय विशेषताले यस्को धार्मिक आस्था र महत्व अझ वढन गएको छ । दोश्रो तलामा भक्तालुहरुको दर्शनका लागि कीर्तिमुख भैरवको मूर्ति राखिएको छ । तेश्रो तलामा सुनको मोलम्बा जडित धातुद्धारा निर्मित छानामाथि कलात्मक सुन्दर सुवर्णकलश र छत्रसहितको गजूर रहेको छ । मन्दिरको भूइँतलामा ‘माई’ अर्थात ‘आमा’ को मूर्ति रहेको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट दुईकोष अर्थात् करीब नौ किलोमिटर पश्चिममा रिब्दीकोट गाउँपालिका अन्तर्गत पर्ने चारैतिरबाट शिखरिदै गएको सुन्दर डाँडाको टाकुराको समथल भागमा भैरवको विशाल दिव्य मन्दिर अवस्थित छ । सेनकालीनल मल्लकालीन, राणकालीन एवं आधुनिककालीन कलाहरूको समिश्रण भई चारैतिर घेरिएको कलात्मक प्रासाद अधावधि रहेका छन् । अखण्ड धुनी, खुला चोक, विशाल पित्तलको त्रिशुल देवीदेवता सानाठूला मूर्तिहरू घण्टहरू, त्रिशुलहरू, बली दिने स्थान, परेवाको बासस्थान आदिले मन्दिर सुसज्जित रहेको छ ।

भैरव मन्दिरमा कानफट्ट सन्यासीहरूद्वारा गरिने पूजा विधि विचित्रको रहेको छ । भाकल भैरवलाई गरिन्छ र पनि पूजा गर्दा भैरव र माईलाई अलग अलग रोट चढाइन्छ । चामल वा गहुँको पिठोबाट बनाइने रोट एकमानाको वा एकपाथीको हुने गर्दछ । रोट शुद्ध गाई भैंसीको घिउ, दूध, नरिवल, छाडा, ल्वाङ्ग, सुकमेल, अलैंची, मरिच, दालचिनी, मसला मिसाएर पकाएर बनाइन्छ । प्रसादको रुपमा खाइने यो रोट अपूर्व अमृतमय स्वादिलो हुन्छ । भाकल अनुसार बली र पञ्चवली दिने चलन छ । पञ्चवली दिदा नौमति बाजा बजाइन्छ । पूजा र वलीको लागि कुनै पनि तिथि मितिको छेकवार छैन । विषेश गरी वैशाख, मंसिर, माघ, र शारदीय नवरात्रमा टाढा टाढाबाट भक्तालुहरू आउँछन् । नेपालको मेची देखि महाकलीसम्मका भक्तजनहरू र मित्रराष्ट्र भारतका हिन्दूमार्गीहरू समेत भैरवनाथको दर्शन गर्न आउँछन् । सबैले गौरवका साथ रातो, पहेलो, सेतो धजा लगाउँछन् । भाकल गरेको कुरा यहाँ पूजा गरेपछि सबै पुग्दछ भन्ने जनविश्वास रहेको छ । वर्तमान समयमा भैरवस्थानको भन्दिर क्षेत्रमा निकै चहल पहल वढ्दो छ। मन्दिर अगाडिको छतमाथिबाट चारैतिरको रमणीय दृश्य देखिन्छ । अझ उत्तरतर्फ हेर्दा धवलागिरी, गणेश, अन्नपूर्ण, गौरीशङ्कर लगायतका सुन्दर हिमदृश्य सृङखलाहरू देख्न सकिन्छ । ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक पर्यटकीय गन्तव्य भएकोले यस ठाउँमा पुग्नु भूस्वर्गमै रमाउनु हो । जय भैरव !

स्रोत : अपूर्व दर्शन (ऐतिहासिक बालकथा सङ्ग्रह)
लेखक : पुष्कर अथक रेग्मी (२०७८)


सम्बन्धित शीर्षकहरु

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

प्रतिकृयाहरू
...