जय नारायण माझी थारू – सर्व प्रथम त आज बुबाको मुख हेर्ने दिन ( कुशे औंशी ) को उपलक्ष्यमा सम्पुर्ण बुबाहरु प्रति कोटी कोटी नमन तथा सु-स्वास्थ्यको कामाना।
साच्चिकै बुवा शब्द आफैमा महान छ र बुवा तपाईं साच्चिकै धेरै महान हुनुहुन्छ । म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु चलाउँदा आमालाई कति धेरै दुखथ्यो होला कष्ट हुन्थ्यो होला तर आमाले सम्पुर्ण दुःख कष्टलाई बिर्सेर हर्षित मुद्रामा हजुरको हात समाएर आफ्नो पेटमा स्पर्श गराउँदा हजुर कति धेरै खुशी भएर हास्नु हुन्थ्यो होला । तपाईं आफ्नो दिनभरीको मेहनत परिश्रम गरेर लखतरान र थकित भएर घर आउँदा सबै भन्दा पहिला आमालाई सोध्नु हुन्थ्यो कि तिमीलाई कस्तो छ? आज हाम्रो प्रेमिल (माया)को चिनोले कति चोटि हात खुट्टा चलायो त्यति सोधेर चित्त नबुझ्दा आफै आमाको पेटमा कान थापेर मैले सलबलाएको सुनेर हजुरको दिनभरिको थकान सेकेन्ड मै हराउँथ्यो र खुशि हुनुहुन्थ्यो अरे आमाले भन्नू भएको ।
बुवा जब म आमाको गर्भमा थिए आमाले भन्नू भएको तपाईं कति रात अनिदो बस्नु भयो, मेरो आगमन भएपछी छोरा होस वा छोरी यस्तो गर्छु उस्तो गर्छु, डाक्टर ,मास्टर , इन्पेकटर ,पाईलट बनाउन्छु भनेर के के हो के के सपना देख्नु हुन्थ्यो भनेर आमाले भन्दै हुनु हुन्थ्यो । हो बुवा तपाईं साच्चिकै संरको महान ब्यक्ति हुनुहुदोरहेछ । आफ्नो हरेक आवश्यकतालाई त्यागेर म आगमन हुने दिनलाई ब्यवस्थित बनाउन पाइ पाइ (पैसा) जम्मा गर्नु भयो होला, एउटी गर्भवती श्रीमती र पेटमा हुर्केको सन्तानको लागि हरेक आवश्यक पर्ने खानेकुरा देखि पोसिलो परिकारमा आमाआई कमि हुन दिनु भएन ताकी मेरो बच्चा धर्तीमा आईसकेपछी स्वस्थ र तनदुरुसत जन्मियोस भनेर ।
आमाले भन्नू हुन्थ्यो -तिमीलाई संरमा अवतरण गराउन तिम्रो बुबा कति उतौलो बन्नु भएको थियो अरे । म जन्मिने प्रत्येक दिन गन्दै बस्नु हुन्थ्यो अरे । घरको भित्ते पात्रोमा गते बारलाई चिनो लगाउँदै बस्नु हुन्थ्यो अरे । यसरी नै एक दिन दुई दिन समय बित्दै जाँदा जब म यश भौतिक संसारमा पदार्पण गरे त्यति खेर सायद हजुर संसार कै सबै भन्दा खुशी ब्यक्ति बन्नु भएको होला ।
जब म नवजात शिशुबाट आफ्नो जिवनको शुरुवात गर्न लाग्दा हजुरले मलाई आफ्नो काखमा संसार देखाउने सपना बुन्दै गर्दा मैले जानी नजानी कति चोटि दिसापिसाब गरिदिए होला त्यो हिसाब गर्न साध्य छैन अहिले तर मैले यसो गर्दा मायाले मेरो हरेक गल्तीलाई मुटुको टुक्रा सम्झेर माफ गर्नु भयो होला , मेरो हरेक गल्तीलाई स्विकार्दै मलाई समाजमा कसरी सफल ज्ञानी र राम्रो मानिस बनाउने सपना देख्दै मलाई पहिलो शब्द `आमा र बाबा ´ बोल्न सिकाउनु भएको भनेर पल्ला घरे काईलो काकाले भन्दै हुनुहुन्थ्यो ।
दिनभरिको कामको तनावले साँझपख घर पुग्दा मेरो अलिकति हाँसो अलिकती रुवाईले हजुरको सबै तनाव र बेदनाहरु हराउँथ्यो होला है ! यसरी नै हरेक दिनको समय बित्दै जाँदा जब म बामे सर्दै म अलि अलि गर्दै उभेर हिड्न खोज्दा हजुरले मेरो हात समाएर पहिलो पाइला हिड्न सिकाउँदा म कति चोटि लडें होला कति चोटि भुइँमा पछारिए होला । म लडेको देख्दा हजुरको मुटु नै फुट्ने गरि कष्ट भयो होला ।
आकासमा फाट्ट-फुट्ट बादल छाई रहेको देख्दा एउटा बादलको टुक्राले अर्को बादलको टुक्रा समाउन खोज्दा, त्यो बादलको टुक्रा टुक्रा बिचको छोटोदुरीलाई देखेर हामी बाउ छोराको सम्बन्ध यस्तै छन, जसरी आकासमा बादलहरुले लुकामारी खेल्दै त्यो लुकामारी खेल्ने हामी बाउ छोराको हो तर मेरो छोरा कहिले बादल जस्तो कालो मनको नहोस भनेर भन्नु भएको कुरा मलाइ आमाले सुनाउनु भएको थियो । अहिले कहिले काहीं आकास तिर हेर्दा आफैंमा कल्पना गर्द्छु कि कतै म पनि त्यही गन्तव्य बिहिन कालो बादल जस्तै त हराई रहेको छैन ।
साच्चिकै बाबा तपाईं महान हुनुहुन्छ । मैले बालखपनमा गरेको गरेको गल्तीलाई सच्याउँदै मेरो जिवनलाई सार्थक प्रेरणा दिनु भएको होला । हजुरले दिनु भएको स्नेह, माया, ममता र प्रेरणा बाट नै आज मेरो जिवनलाई सार्थक बनाउन नै हजारौं हजार उतार चढाव सँग लड्ने प्रयास गरिरहेको छु ।
भनिन्छ नि – “जिवनमा सबै कुरा बिर्सनु तर बुबा प्रतिको आफुले गर्ने आस्था र कर्तव्य कहिले नबिर्सनु ।” हामी आफ्नो नीजि स्वार्थमा तल्लीन भएर नै आज हामीलाई आफ्नो मुटुको टुक्रा सम्झी असाध्य माया गर्ने बुवा आमालाई बिर्सनु हुँदैन तर हिँजो आज हामीलाई हरदम सफल बनाउन प्रयत्न गर्ने हाम्रो लागि प्रेरणाको स्रोत आमा बुवा निम्ति हामीले गर्नु पर्ने कर्तव्य बिर्सदै गएको अभास भैइरहेको छ । त्यसैको उपज आजको दिन सम्म हजारौं लाखौ बाबु आमाले आफ्नो कष्टकर जीवन बृद्धाश्रममा बिताउन बाध्य भएका छन । वहाँहरुले आफ्नो दुःख सहेर पनि दिनरात भग्वान सँग प्राथना गरिरहनु हुन्छ कि हाम्रो सन्तानलाई केही नहोस, म यो बुढेसकालमा आँसु झारे पनि मेरो सन्तानले आँसु झार्न नपरोस, सधै भरी उनिहरुको जिवनमा खुशी र हाँसो छाइरहोस ।
जिवनको अन्तिम घडीसम्म आईपुग्दा पनि आफ्नो सन्ततिको खातिर चिन्तित रहने बुवाआमा लाई यस्तो बेवास्ता आखिर किन? हाम्रो समाजमा बुवा (ब्रह्माण्ड) र आमा ( जननी) लाई यति धेरै उपेक्षा किन? के हामीमा चेतनाको कमि भयो? किन हामी एति निर्दयी भएर खाली आफ्नो स्वार्थको लागि तल्लिन हुँदै छौ? के हामीलाई जन्म दिने आमा बुबालाई बिर्सन यति धेरै बिवस छौ? वा हामीले जन्मदिने आमा बुबालाई बिर्सन चाहन्छौं । सायद हाम्रो मानवता हराए कै हुनु पर्छ र हामी यति धेरै निर्दयी भएका छौ, होइन भने जन्माउने हुर्काउने पढाउने र योग्य बनाएर आफ्नो खुट्टामा उभिन सिकाउने आमाबुबालाई चट्ककै बिर्सने गरेका छौँ जुन सरासर गलत हो । जिवनमा जब हामीले आमा बुबालाई अपमान गर्छौ कहिल्यै खुशी पाउँदैनौ, कहिल्यै मनमा शान्ती हुँदैन कहिले सफल हुन सक्दैनौ ।
आमाबुवा सुखमा होउन या दुःखमा सदा आफ्नो सन्ततिको खुशी र सुखी र सफलताको लागि जीवन अर्पण गर्न तम्तयार हुन्छन । हामीलाई यो संसारमा अवतरण गराउने आमाबुबाको कसै गरे पनि ॠण तिर्न सकिदैन । त्यसैले बृद्धा अवस्थामा पुगेका आमाबुबा प्रतिको हाम्रो जिम्मेवारी, दायित्व र कर्तव्य नभुलौ । हामी सबैमा बुबा आमा प्रति कर्तव्य बोध होस । यो संसारमा सङ्घर्स गरेर हिड्न सक्ने बनाउने, आफ्नो र पराई छुट्याउन चिन्न सक्ने बनाउने, आफूभन्दा सनालाई माया ठुलालाई आदर गर्ने सिकाउने रीस द्वेष कहल होइन, माया-ममता, स्नेह, प्रेम सिकाउने आमा बुबालाई कहिले तिरस्कार नगरौं, आदर सत्कार र सम्मान गरौ । आमा बुबालाई कहिले बोझ नसम्झौं । आज हामीले वहाँहरुलाई तिरस्कार गर्दा भोली हाम्रो सन्ततिले पनि अपमान गर्न सिक्ने छन । सके आफ्नो आमाबुबा जस्तै परोपकारी आफैं मार्फत आमाबुबालाई चिनाउँ नसके आमाबुबालाई हेला पनि नगरौ ।
आसा छ – आउने दिनहरुमा केवल एकदिन मात्र बुबाको मुख हेर्ने दिन (कुशे औंशी) सम्झेर वा बुबा सँग फोटो ( सेल्फी ) खिचेर समाजिक सञ्जालमा श्रदाभाव देखाएर होइन, बुबा त हाम्रो लागि प्रेरणाको स्रोत, जगतपालक, हामीलाई संसारमा पहिलो चोटि अवतरण गराउने, पहिलो पाईला हिड्न सिकाउने, पहिलो शब्द सिकाउने भनेर सम्पुर्ण आमा बुबा भएका छोराछोरीको मन मस्तिष्कमा यो वर्षको कुशे औंशीले वा बुवाको मुख हेर्ने दिनले बुवा प्रतिको स्नेह, माया-ममता, आदर-सत्कार, सद्भाव र आफ्नो कर्तव्य बोध होस । अनि मात्र बुबाको मुख हेर्ने दिन सफल हुन्छ अनि मात्र संसारका सबै बुबाहरु खुशी र सुखी हुन्छन । फेरि पनि सम्पुर्ण बुबाहरु प्रति कोटी कोटी नमन .. पितृदेवो भवः ।