Tuesday 9th June 2026

किमाथांका हिमाली बस्ती – सडक निर्माण सम्पन्न


संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ। यो बस्ती चीनको तिब्बत सीमासँग जोडिएको रणनीतिक क्षेत्र पनि मानिन्छ। यहाँको भू–बनावट गहिरा खोँच, उकालो पहाड, अरुण नदीको किनार, ढुंगाका घर र हिमाली संस्कृतिले भरिएको छ।

हिमाली बस्ती, अरुण नदी आसपासको भूगोल, ढुंगाका परम्परागत घर र कठिन पहाडी जीवनशैली देख्न सकिन्छ। वर्षौंदेखि पैदल वा खच्चडको भरमा रहेको क्षेत्र सडकसँग जोडिनु स्थानीयका लागि केवल यातायातको सुविधा होइन, विकास, व्यापार र राज्यसँगको प्रत्यक्ष पहुँचको प्रतीक बनेको छ।

संखुवासभा  जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमानजिक किमाथांकासम्म सडक सञ्जाल जोडिएको छ।

उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत मोरङको जोगवनीदेखि किमाथांकासम्मको ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।

खाँदबारी–किमाथांका १ सय ५७ किलोमिटर तथा खाँदबारी–जोगवनी २ सय किलोमिटर सडक तयार भएको उत्तर–दक्षिण कोशी सडक योजनाले जनाएको छ। हाल खाँदबारीसम्म २ सय किलोमिटर कालोपत्र सडक सञ्चालनमा छ ।

खाँदबारीदेखि नूमसम्मको ३९ किलोमिटर सडक कालोपत्र गर्ने काम तीव्र गतिमा भइरहेको छ। नुमभन्दा माथिल्लो क्षेत्रमा कच्ची सडक निर्माण सम्पन्न भइसकेको योजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।

सडक निर्माणको सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङदेखि घोङ्गप्पासम्म सडक निर्माण गरेको थियो । वैशाख २८ मा सेनाले उक्त सडक योजनालाई हस्तान्तरण गरेको थियो। प्रारम्भिक रूपमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिए पनि भूगोल र एलाइनमेन्ट परिवर्तनका कारण अन्तिम सर्वेक्षणमा सडकको कुल लम्बाइ १० दशमलव ८१ किलोमिटर कायम भएको छ।

सडक हस्तान्तरण भएको तीन दिनपछि जेठ १ मा खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक किमाथांकासम्म पुगेका हुन्। भोटखोलाको च्याम्ताङदेखि घोङ्गप्पाको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाँदबारीबाट हिँडेको सवारी पहिलो पटक किमाथांका गाउँ पुगेको हो।

पहिलो पटक गाउँसम्म ट्याक्टर पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। ट्याक्टर चालक, एक्स्काभेटर चालक तथा किमाथांका सडक अभियानसँग सम्बन्धित टोलीलाई स्थानीयले भव्य स्वागत गरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाड्छेदर भोटेले बताए। वर्षौंदेखिको सडक सपना पूरा हुँदा स्थानीयले खुसीयाली मनाएका छन्।

बरुण नदीभन्दा माथिल्लो क्षेत्र अझै जोखिमपूर्ण र अप्ठ्यारो रहेको छ। उक्त क्षेत्रमा हाल सडक स्तरोन्नतिको काम जारी रहेको छ। वर्षायाममा पहिरो, भीर तथा कठिन भूगोलका कारण सडक सञ्चालन चुनौतीपूर्ण बन्ने भए पनि स्तरोन्नति गर्ने योजनाको लक्ष्य रहेको गुरुङले बताए ।

‘सडक निर्माण सम्पन्न भएसँगै भोटखोला क्षेत्रको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरेका छौं,’ गाउँपालिका अध्यक्ष भोटेले भने, ‘स्थानीय उत्पादनले बजार पाउने, दैनिक उपभोग्य वस्तु ढुवानी सहज हुने तथा स्वास्थ्य र शिक्षामा पहुँच विस्तार हुने विश्वास लिएको छु ।’

सडक संचालनले आपतकालीन सेवामा समेत सहजता आउने स्थानीयको अपेक्षा छ । चीन सीमासँग जोडिएको किमाथांका क्षेत्रमा सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना खुल्ने अध्यक्ष भोटेले बताए ।

कोशी प्रदेशको आर्थिक समृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वाससहित यस सडकलाई उत्तर–दक्षिण रणनीतिक महत्वको मार्गका रूपमा हेरिएको उनले बताए । ‘दशकौंदेखि दुर्गम हिमाली बस्तीमा सीमित रहेको किमाथांका अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएको छ। बल्ल गाउँमा विकास आइपुगेको स्थानीयलाई अनुभूति भएको छ,’ उनले भने ।


सम्बन्धित शीर्षकहरु

इरान र इजरायलबीचको बढ्दो द्वन्द्वका बीच सामान्य इरानी नागरिकहरूमा चिन्ता, अनिश्चितता र थकान बढ्दै गएको छ। BBC Persian सँग कुरा…

इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले…

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

प्रतिकृयाहरू
...