Thursday 20th August 2026

इरानमाथि आज आक्रमण गर्ने योजना ट्रम्पद्वारा स्थगन


एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन् ।
युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको बताएका छन् ।
ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनै पनि क्षणको पूर्वसूचनामा इरानमाथि पूर्ण तथा ठूलो स्तरको आक्रमण सुरु गर्न तयार रहन आफूले अमेरिकी सैन्य नेतृत्वलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।
उनले मध्यपूर्वमा अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य हुने सम्झौता हुनसक्ने सम्भावनाप्रति क्षेत्रीय नेताहरू आशावादी रहेको दाबी गरे
“यस सम्झौतामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको इरानसँग कुनै पनि प्रकारको आणविक हतियार नहुने सुनिश्चित गर्नु हो,” ट्रम्पले भनेका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसपटकको अवस्था विगतमा इरानसँग सम्झौतानजिक पुगेको भनिएका अवस्थाहरूभन्दा थोरै फरक रहेको बताएका छन् ।
“यो अत्यन्त सकारात्मक विकास हो । तर, यसले मूर्त रूप लिन्छ वा लिँदैन, त्यो हेर्न बाँकी छ,” उनले भने ।
वार्ताको सुस्त गतिबाट असन्तुष्ट बनेपछि ट्रम्पले वरिष्ठ सैन्य सल्लाहकारहरूले दिएको विकल्पहरूको सूचीका आधारमा मंगलबार इरानका विभिन्न लक्ष्यहरूमा आक्रमण गर्ने योजना बनाएका थिए । तर, ट्रम्पले कुन लक्ष्य वा कति ठूलो स्तरको सैन्य कारबाहीबारे विचार भइरहेको हो भन्ने खुलाएका छैनन् ।
“हामी भोलि एउटा धेरै ठूलो आक्रमण गर्ने तयारीमा थियौँ । मैले त्यसलाई केही समयका लागि सारेको छु । आशा छ, सायद सधैँका लागि होला । तर, सम्भवतः केही समयका लागि मात्र,” ट्रम्पले भने ।
इरानसँग ठूला छलफलहरू भइरहेको भन्दै उनले ती कहाँ पुग्छन्, त्यो हामी हेर्ने बताएका छन् ।
इरानसँग आणविक हतियार हुन नहुने आफ्नो रेड लाइन पुनः दोहोर्‍याउँदै ट्रम्पले खाडी राष्ट्रहरू कुनै शान्ति प्रस्तावबाट सन्तुष्ट भए अमेरिका पनि सन्तुष्ट हुन सक्ने संकेत गरे ।
यसैबीच सीएनएनसँग कुरा गर्दै ट्रम्पले भने, “यदि, हामीले उनीहरूमाथि भयानक बमबारी नगरीकन यो समस्या समाधान गर्न सक्यौँ भने, म अत्यन्त खुसी हुनेछु ।”
यसअघि, आइतबार ट्रम्पले इरानलाई सम्झौताका लागि समय घर्किरहेको चेतावनी दिएका थिए । अन्यथा, गत महिनादेखि रोकिएको सैन्य अभियान पुनः सुरु हुने संकेत उनले दिएका थिए ।
सोमबार बिहान इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत आफ्नो वार्तासम्बन्धी दृष्टिकोणबारे जवाफ पठाएको जनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...