बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको व्यावसायिक विमान निर्माता कम्पनी कोम्याक (COMAC) ले विकास गरेको सीई–२५ए (CE-25A) विमानले शनिबार पूर्वी चीनको शान्दोङ प्रान्तस्थित बिन्झाउको आकाशमा पहिलो उडान गरेको हो।
करिब १० टन तौल रहेको उक्त विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए। परीक्षण उडानका क्रममा विमानले निर्धारित उडान परीक्षण पूरा गरेको बताइएको छ।
विद्युतीय उड्डयन क्षेत्रमा चीनको नयाँ उपलब्धि
परीक्षण उडानका क्रममा विमानले १६ मिनेट ३८ सेकेन्ड आकाशमा बिताउँदै ६०.४ किलोमिटर दूरी पार गरेको थियो। कम्पनीका अनुसार विमान सामान्य रूपमा सञ्चालन भएको र सबै प्राविधिक सूचक अपेक्षाअनुसार देखिएका छन्।
सीई–२५ए विमानले प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उडान गर्न सक्छ। यसको उडान क्षमता करिब ४०० किलोमिटर र निर्धारित उडान उचाइ २ हजार ४०० मिटर रहेको छ। यसले एकपटकमा १९ जनासम्म यात्रु बोक्न सक्छ।
यस विमानको विकासमा कोम्याकसँगै विश्वकै प्रमुख विद्युतीय ब्याट्री उत्पादकमध्ये एक सीएटीएल (CATL), सांघाई जियाओ तोङ विश्वविद्यालयलगायत संस्थाहरू सहभागी छन्। विमानमा पखेटामाथि जडान गरिएका विद्युतीय पङ्खासहितको विशेष प्रविधि प्रयोग गरिएको छ।
यसअघि यही विमानले सन् २०२६ फेब्रुअरी २ मा पहिलो मानवरहित स्वचालित उडान गरेको थियो। त्यसपछि १९ वटा मानवरहित परीक्षण उडान सम्पन्न गरेको थियो।
व्यावसायिक उडानको तयारी
चीनको नागरिक उड्डयन प्रशासनले सीई–२५ए को प्रकार प्रमाणीकरण (टाइप सर्टिफिकेसन) का लागि कम्पनीले दिएको आवेदन स्वीकार गरिसकेको छ। तर, यात्रु बोक्ने व्यावसायिक उडान सञ्चालन गर्न आवश्यक अन्तिम अनुमति भने प्राप्त भइसकेको छैन।
विद्युतीय ऊर्जाबाट सञ्चालन हुने विमानको विकासलाई हवाई यातायातमा इन्धनको खपत र कार्बन उत्सर्जन घटाउने दिशामा महत्त्वपूर्ण प्रविधिगत प्रयासका रूपमा हेरिएको छ। सीई–२५ए को सफल मानवसहितको परीक्षण उडानले चीनको विद्युतीय उड्डयन प्रविधिमा नयाँ चरण थपेको छ।
स्रोत: सिन्ह्वा