Thursday 19th November 2026

शेख हसिनाका समर्थक आक्रामक; देशभर अर्धसैनिक बल परिचालन


ढाका, नोभेम्बर १९। बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको विषयलाई लिएर राजनीतिक तनाव चुलिएको छ। हसिनाको पार्टी अवामी लिगका समर्थकहरू सडकमा उत्रिएपछि देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन, बम विस्फोट र आगजनीका घटना बढेका छन्।

भारतमा निर्वासनमा रहेकी हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने योजना सार्वजनिक गरेकी छन्। त्यसका लागि उनले नयाँ राहदानी र परिचयपत्र माग गरे पनि सरकारले अस्वीकार गरेको छ। यसप्रति आक्रोशित अवामी लिगका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन तीव्र बनाएका छन्।

अवामी लिगले नोभेम्बर १९ मा देशव्यापी बन्दको आह्वान गरेको छ। पार्टीले आफ्नो राजनीतिक गतिविधिमाथिको प्रतिबन्ध हटाउन, राजनीतिक बन्दीहरूलाई रिहा गर्न तथा हसिनाविरुद्धका मुद्दा र फैसलाहरू खारेज गर्न माग गरेको छ।

पछिल्लो १० दिनमा कम्तीमा २८ जिल्लामा बम विस्फोट र सवारीसाधनमा आगजनीका दर्जनौँ घटना भएका छन्। गोपालगञ्जमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेताको घर तथा समर्थकका पसलमा आगजनी भएको छ। राजधानी ढाकामा एक मन्त्रीको निवासबाहिर पनि बम विस्फोट भएको प्रहरीले जनाएको छ।

हिंसा नियन्त्रण गर्न सरकारले देशभर सयौँ अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरेको छ। राजधानी ढाकामा मात्रै १७७ स्थानमा सुरक्षा जाँच चौकी स्थापना गरिएको छ। प्रहरीले पछिल्लो २४ घण्टामा प्रतिबन्धित संगठनसँग सम्बन्धित कम्तीमा ७१ जनालाई पक्राउ गरेको जनाएको छ।

यसैबीच, नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले नेतृत्व गरेको ग्रामीण बैंकका कम्तीमा ३७ शाखा तथा कार्यालय नोभेम्बर १० यता आगजनीको निशानामा परेका छन्। पछिल्ला घटनामा प्रहरी, सर्वसाधारण र राजनीतिक कार्यकर्तासमेत घाइते भएका छन् भने आगजनीमा एक बसकर्मीको मृत्यु भएको छ।

बंगलादेश सरकारले अवामी लिगका विदेशमा रहेका नेताहरूले हिंसा भड्काउन उक्साएको आरोप लगाएको छ। हसिनाको सम्भावित पुनरागमन र प्रतिबन्धित पार्टीको देशव्यापी आन्दोलनले बंगलादेशको राजनीतिक स्थिरता तथा सुरक्षा व्यवस्थामाथि थप चुनौती खडा गरेको छ।

स्रोत: रोयटर्स,


सम्बन्धित शीर्षकहरु

१८ नोभेम्बर २०२६ | मध्यपूर्व / मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। इरानको केश्म टापुस्थित क्षेप्यास्त्र प्रक्षेपण…

-गोबिन्द राज ओझा (राजन ) अनन्त आकाशबीच चम्किने ताराका ज्योति हौँ हामी सबै, प्रकृतिका कणकणभित्र लुकेको चेतनाका मोती हौँ हामी…

कुवेतमा आयोजनामा हुन गइरहेको प्रथम मुजैनी–पूर्वेली टाइगर गोल्ड कप २०२६ फुटबल पर्व–मेला को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको…

प्रतिकृयाहरू
...