एजेन्सि- विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका सह—संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको नाटकीय बहिर्गमनले विश्व प्रविधि बजार, कर्पोरेट सुशासन र भूराजनीतिक वृत्तमा हलचल पैदा गरेको छ।
३३ वर्षअघि अमेरिकाको एक सामान्य ‘डेनिज’ रेस्टुरेन्टबाट सुरु भएको यात्रापछि एनभिडियालाई विश्वकै शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) साम्राज्यका रूपमा उभ्याएका ६३ वर्षीय हुआङ व्यक्तिगत आचरण र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विवादका बीच पदबाट बाहिरिएका हुन्।
विवाहेत्तर सम्बन्ध र विदेशी गुप्तचर सञ्जालसँगको सम्भावित सम्पर्कको आरोप चुलिएपछि हुआङले सीईओ, अध्यक्ष र सञ्चालक समिति सदस्यको पदबाट राजीनामा दिएका छन्। राजीनामापछि कम्पनीको सञ्चालक समितिले प्रमुख वित्तीय अधिकारी (सीएफओ) कोलेटे क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी सुम्पिएको छ भने स्थायी नेतृत्वका लागि आन्तरिक तथा बाह्य उम्मेदवारहरूको खोजी सुरु भएको छ।
हुआङको पतनको शृंखला गत साताबाट सुरु भएको थियो, जब उनी र एलिस हुआङ नामकी एक महिलाबीचको सम्बन्धबारे समाचारहरू बाहिरिए। अमेरिकी गुप्तचर निकायहरूले एलिस हुआङ (जेन्सेनसँग पारिवारिक नाता नभएकी) चिनियाँ गुप्तचर एजेन्ट भएको र उनले संवेदनशील सूचना बेइजिङ पठाएको आशंका गरेको छ। सुरुमा नोभेम्बर ८ मा हुआङले नाम नखुलाइकन विवाहेत्तर सम्बन्ध रहेको स्वीकार गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र न्युयोर्क टाइम्सका अनुसार हुआङको एनभिडियाकै स्वास्थ्य सेवा उपाध्यक्ष किम्बर्ली पावेल तथा अर्की एक महिला कर्मचारीसँगसमेत अन्तरंग सम्बन्ध रहेको तथ्य बाहिरियो। यसअघि नै एनभिडियाको बोर्डले स्वतन्त्र निर्देशक र बाह्य कानुनी सल्लाहकारको नेतृत्वमा हुआङ विदेशी गुप्तचर अपरेसनको निसानामा परेका थिए वा थिएनन् भन्नेबारे छानबिन सुरु गरिसकेको थियो। चौतर्फी दबाब थेग्न नसकेपछि अन्ततः उनले राजीनामा दिएका हुन्। बेइजिङले भने जासुसीको आरोपलाई ठाडै अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीबार भनिन्, ‘अमेरिकाले तथाकथित जासुसीका कथाहरू बुन्न बन्द गर्नुपर्छ र चीनमाथि प्रविधि नाकाबन्दी लगाउन यसलाई बहाना बनाउनु हुँदैन।’
सेयर बजारमा पहिरोः १.७६ ट्रिलियन डलर गुम्यो
हुआङको राजीनामासँगै सेयर बजारमा एनभिडियाले ठूलो धक्का व्यहोरेको छ। बिहीबारमात्रै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आउँदा एकैदिन करिब १ सय ८२ अर्ब डलरबराबरको बजार मूल्य घट्यो। अक्टोबर ६ मा कायम भएको उच्च विन्दुयता एनभिडियाको सेयर ३०.५ प्रतिशतले ओरालो लागिसकेको छ, जसका कारण कम्पनीले समग्रमा करिब १.७६ ट्रिलियन डलरबराबरको बजार पुँजीकरण गुमाएको छ।
एनभिडियाका कटु प्रशंसक मानिने सीएनबीसीका प्रस्तोता जिम क्रेमरले समेत निराशा व्यक्त गर्दै हुआङले ‘आफूलाई र सेयरधनीहरूलाई निराश बनाएको’ टिप्पणी गरेका छन्।
अमेरिकी राजनीतिमा र ट्रम्पको चासो
यो प्रकरण कर्पोरेट घेरा नाघेर अमेरिकी राजनीतिको केन्द्रमा पुगेको छ। अमेरिकी प्रतिनिधिसभाका गुप्तचर, परराष्ट्र र चीनसम्बन्धी तीनवटा समितिले संयुक्त पत्र पठाउँदै हुआङलाई डिसेम्बर १ मा बन्द कोठामा हुने सुनुवाइका लागि उपस्थित हुन निर्देशन दिएका छन्। उनले सहमति नजनाए कानुनी आदेश जारी गर्ने चेतावनी समितिहरूले दिएका छन्। यस्तै, सिनेटको बैंकिङ समितिका अध्यक्षले पनि राष्ट्रिय सुरक्षाको गम्भीर चासोबारे छलफल गर्न हुआङ र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकलाई डिसेम्बर ३ मा उपस्थित हुन अनुरोध गरेका छन्।
अर्कोतर्फ, अर्को साता चीनको सेन्जेनमा हुने एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हुआङप्रति सहानुभूति राखेका छन्। स्रोतका अनुसार ट्रम्पले यस साता हुआङसँग पटक–पटक फोन वार्ता गरी राजीनामाको दबाबविरुद्ध लड्न प्रोत्साहन गरेका थिए।
‘की–पर्सन जोखिम’ को ज्वलन्त उदाहरण
कर्पोरेट विश्लेषकहरूले एनभिडियाको यो संकटलाई एकल व्यक्तिमा अत्यधिक शक्ति केन्द्रित हुँदा निम्तिने ‘की–पर्सन जोखिम’ को ज्वलन्त उदाहरण मानेका छन्। हुआङले लामो समयदेखि ६० जनासम्म उच्च अधिकारीहरूले आफूलाई सीधै रिपोर्टिङ गर्ने फ्ल्याट नेतृत्व संरचना अपनाएका थिए। निर्णय प्रक्रिया छिटो बनाउन यो शैली प्रभावकारी भए पनि यसले दोस्रो पुस्ताको नेतृत्व विकास हुन दिएन।
सन् २०२५ को नास्डाक सर्वेक्षणअनुसार २१ प्रतिशत कम्पनीका बोर्डहरूसँग सीईओ उत्तराधिकारीको कुनै योजना नै थिएन भने १६ प्रतिशतसँग आपत्कालीन योजनामात्र थियो। बुली पल्पिट इन्टरनेसनलका साझेदार ब्राडली अकुबुइरोले संस्थापकको पहिचान संस्थासँग गाँसिने हुँदा स्वतन्त्र निर्देशकहरूको भूमिका बलियो हुनुपर्ने बताउँछन्। किङ्सले गेटका सह–संस्थापक उमेश रामकृष्णनको विचारमा, उत्तराधिकारी सार्वजनिक गर्दा बहालवाला सीईओ कमजोर बन्ने डरले कम्पनीहरू चुप लाग्छन्, तर संकट आउनुअघि नै आन्तरिक रूपमा दुई–तीन जना सक्षम उत्तराधिकारी तयार पार्नु अनिवार्य हुन्छ।
एसियाली डेटा सेन्टरमा कडाइ
हुआङको बहिर्गमनले उनको जन्मभूमि ताइवानमा गहिरो स्तब्धता छाएको छ, जहाँ उनलाई प्रविधि क्षेत्रको ‘रकस्टार’ मानिन्थ्यो। ताइवानी प्रविधि पत्रकार ओवेन लिनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुआङलाई बिदाइ गर्दै गर्दा हामीले एउटा युगलाई उज्यालो बनाउने व्यक्तिलाई बिदा गर्दैछौं। अब ताइवानले एक नायकबिना नै अघि बढ्न सिक्नुपर्छ।’
यसैबीच, हुआङसँग जोडिएको सिंगापुरस्थित क्लाउड कम्पनी ‘मेगास्पिड इन्टरनेसनल’ माथि अमेरिकी निगरानी बढेपछि एसियाली डेटा सेन्टरको लगानीमा समेत चिसोपन आउने देखिएको छ। हङकङस्थित फोरानी इन्भेस्टमेन्ट्सका प्रबन्ध निर्देशक चेसन नेभेटका अनुसार अब एसियाली अपरेटरहरूले चिप्सको खरिद र प्रयोगको पारदर्शी प्रमाण पेस गर्न नसके संस्थागत पुँजी र ठूला ग्राहक गुमाउनुपर्ने जोखिम बढेको छ।