जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुने सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। उद्घाटन भएको एक सातापछि नियमित टिकट प्रणालीमार्फत सेवा सुरु गरिएको हो।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले जनकपुरधाम, जयनगर, सीतामढी, रक्सौल, गोरखपुर हुँदै अयोध्याधामसम्म सेवा दिनेछ। जनकपुरबाट अयोध्यासम्म यात्रा गर्न स्लिपर श्रेणीको भाडा ५८४ रुपैयाँदेखि वातानुकूलित दोस्रो श्रेणीको २ हजार १७६ रुपैयाँसम्म निर्धारण गरिएको छ।
रेल प्रत्येक सोमबार अयोध्याबाट जनकपुरधामका लागि र शनिबार जनकपुरधामबाट अयोध्याका लागि सञ्चालन हुनेछ। यस सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।