Wednesday 25th November 2026

पूर्वाधार विकास मन्त्रालयको पहलमा वर्षौंदेखि अलपत्र पुलहरू सञ्चालनमा आएको मन्त्री लम्सालको भनाइ


पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लहान डिभिजनबाट पछिल्लो आठ महिनाको अवधिमा १० वटा रुग्ण पुलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकासमन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।

मन्त्री लम्सालका अनुसार लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेर अलपत्र अवस्थामा रहेका पुलहरूलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम अघि बढाएको थियो। यस अवधिमा सम्पन्न भएका पुलहरूमा भलुवाही पुल, बिसहरिया–१ स्थित दुधैला खोला पुल, घोडदह नदी पुल (सखडा–फकिरा सडक), काली खोला पुल (फत्तेपुर–बेलटार सडक), महुली घाडन खोला पुल (रुपनी–राजविराज–कुनौली सडक), मुतनी खोला पुल, सिसुवारी खोला पुल (त्रियुगा नगरपालिका–११, लालपत्ता–पत्तवकन्या), सुन्दरी खोला पुल (उदयपुर), हडिया खोला पुल (मिर्चैया–कटारी–ओखलढुङ्गा–सल्लेरी सडक) र बाबरा नदी पुल (शम्भुनाथ–९) रहेका छन्।

मन्त्रीका अनुसार यी पुलहरू निर्माणमा ढिलाइ हुनु र आयोजना रुग्ण बन्नुका प्रमुख कारण बजेट अभाव, भेरिएसन स्वीकृतिमा समस्या, म्याद थपसम्बन्धी जटिलता तथा निर्माण व्यवसायीको उदासीनता थिए। यिनै समस्याका कारण कतिपय आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेका थिए।

अलपत्र आयोजनालाई पुनः गति दिन मन्त्रालयले बजेट व्यवस्थापन तथा रकमान्तर प्रक्रियामा सहजीकरण गरेको र आवश्यकताअनुसार म्याद थप, भेरिएसन स्वीकृति तथा डिजाइन पुनरावलोकनमा सहयोग गरेको मन्त्री लम्सालले बताएका छन्।

त्यसैगरी, निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई मन्त्रालयमै बोलाएर छलफल तथा संवादमार्फत काम अघि बढाउन पहल गरिएको उनको भनाइ छ।

वर्षौंदेखि अलपत्र रहेका पूर्वाधार आयोजनालाई सम्पन्न गरी नागरिकको उपयोगमा ल्याउने अभियानलाई मन्त्रालयले निरन्तरता दिइरहेको उल्लेख गर्दै मन्त्री लम्सालले आगामी दिनमा पनि रुग्ण आयोजनाको समस्या समाधानका लागि प्रयास जारी रहने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

धनको मोह छैन मलाई, छैन वैभवको चाहना, पदको घमण्ड छैन मनमा, छैन यशको कामना। साधारण मानव हुँ म, संवेदनाको दीप…

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

प्रतिकृयाहरू
...