Saturday 21st November 2026

सुदूरपश्चिमको ऐतिहासिक जित, १० विकेटले हराउँदै बन्यो एनपीएल च्याम्पियन


लगातार दुई संस्करणमा उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्सले अन्ततः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले स्तब्ध पार्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले आक्रामक ब्याटिङ गर्दै १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो। जितका नायक बनेका ओपनर जर्ज मुन्सीले ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रनको विस्फोटक पारी खेले। विनोद भण्डारीले अविजित ३० रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।

यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनीसँगै फाइनलमा पराजित भएको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै पुरानो हारको बदला लिएको छ।

च्याम्पियन सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ र उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। ऐतिहासिक जितपछि त्रिवि मैदान आतिशबाजी र समर्थकको उत्सवले गुञ्जायमान बनेको थियो।


सम्बन्धित शीर्षकहरु

लन्डन, नोभेम्बर २१। विश्वकै घातक र उपचार गर्न कठिन मानिने अग्न्याशय (प्यान्क्रियाज) को क्यान्सर उपचारमा वैज्ञानिकहरूले नयाँ आशाजनक उपलब्धि हासिल…

बङ्गलादेशको नाराइल जिल्लामा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताले गरेको भनिएको आक्रमणमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई स्थानीय नेताको हत्या भएको…

म्यानमारको सेनाले रोहिंग्या मुस्लिम समुदायमाथि सन् २०१७ मा गरेको सैन्य दमनलाई नरसंहार ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले ऐतिहासिक फैसला…

प्रतिकृयाहरू
...