१८ नोभेम्बर २०२६ | मध्यपूर्व / मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। इरानको केश्म टापुस्थित क्षेप्यास्त्र प्रक्षेपण केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको खबर सार्वजनिक भएको छ।
कुवेतको सेनाले मंगलबार राति देशको हवाई सुरक्षा प्रणाली शत्रुतापूर्ण ड्रोन आक्रमणको प्रतिकारमा सक्रिय भएको जनाएको छ। सेनाका अनुसार सुनिएका विस्फोटका आवाजहरू हवाई प्रतिरक्षा प्रणालीले आक्रमणकारी ड्रोनहरूलाई बीचमै रोकेका कारण आएका हुन्। तर ड्रोन कहाँबाट आएका थिए, कुन स्थानलाई लक्षित गरिएको थियो र कति क्षति भयो भन्नेबारे सेनाले विस्तृत जानकारी दिएको छैन।
यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित शेख इसा हवाई सैन्य अड्डामा रहेको अमेरिकी राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको थियो। इरानले अमेरिकी सैन्य ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको भन्दै त्यसको जवाफमा आक्रमण गरेको जनाएको छ। बहराइनले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले ड्रोनहरूलाई लक्ष्यसम्म पुग्नुअघि नै रोकेको बताएको छ।
त्यसको केही घण्टापछि अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा पर्ने केश्म टापुस्थित आईआरजीसीको क्षेप्यास्त्र प्रक्षेपण केन्द्रमा आक्रमण गरेको पुष्टि गरेको छ। अमेरिकी अधिकारीहरूले उक्त कारबाहीलाई आत्मरक्षाका लागि गरिएको भन्दै इरानी आक्रमणबाट अमेरिकी सैनिक र सैन्य संरचनामा परेको जोखिमको जवाफ भएको बताएका छन्।
इरानको होर्मुजगन्ज प्रान्तका उपगभर्नर अहमद नफिसीले अमेरिकी आक्रमणबाट आवासीय, व्यापारिक तथा पूर्वाधार क्षेत्रमा क्षति नभएको दाबी गरेका छन्। टापुमा पाँचदेखि छवटा विस्फोटका आवाज सुनिएको इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ।
यसैबीच, कुवेतको विदेश मन्त्रालयले बहराइनमाथि भएका आक्रमणको निन्दा गर्दै क्षेत्रीय सुरक्षा र स्थायित्वमाथि खतरा बढेको जनाएको छ। कुवेत र बहराइनमा भएका पछिल्ला घटनाले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र समुद्री मार्गको सुरक्षालाई लिएर चिन्ता थपिएको छ।
स्रोत: अल जजिरा, सीबीएस न्युज, एएफपी।