अमेरिका र इरानले एकअर्काका सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेका छन्, जसले मध्यपूर्वमा तनाव अझ बढाएको छ। यसै बिच कुवेतले आफ्नो आकाशमा ड्रोन आक्रमण भएको जनाएको छ।
कुवेती सेनाका अनुसार हवाई सुरक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोनहरूलाई रोक्ने काम गरिरहेको छ। केही स्थानमा सुनिएका विस्फोटका आवाज ड्रोनहरू खसाल्दा आएका हुन्।
इरानले बहरानस्थित अमेरिकी सैन्य रडारमा ड्रोन हमला गरेको दाबी गरेको छ। इरानका अनुसार अमेरिकी ड्रोनहरूले बारम्बार इरानी हवाई क्षेत्र उल्लङ्घन गरेपछि जवाफी कदम चालिएको हो।
अमेरिकाले भने आफ्ना रडार प्रणाली सुरक्षित रहेको र इरानी ड्रोनहरूलाई बीचमै रोकेको जनाएको छ। त्यसको केही समयपछि अमेरिकाले इरानको होर्मुज जलडमरूमध्यस्थित केश्म टापुमा रहेको क्षेप्यास्त्र प्रक्षेपण स्थलमा आक्रमण गरेको बताएको छ।
यसैबीच, होर्मुज जलडमरूमध्यमा केही तेल ट्यांकर पनि प्रभावित भएका छन्। एक ट्यांकरमा आगलागी भएको र एक भारतीय नाविक बेपत्ता भएको खबर आएको छ।
तनाव बढिरहेका बेला इरान र ओमानका विदेशमन्त्रीबीच वार्ता भएको छ। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने शिखर बैठकमा पनि इरानको विषय प्रमुख एजेन्डाका रूपमा रहने बताइएको छ।