गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कुवेतका अलग-अलग धारमा रहेका दुई समूहले संयुक्त रूपमा आयोजना गरेको देउसी–भैलो तथा सांगीतिक कार्यक्रमबाट २ लाख २ हजार रुपैयाँ संकलन भएको छ। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
गत बिहीबार कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा कुवेतमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपालबाट आमन्त्रित गायक प्रयास राईको सांगीतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक सेवाको उद्देश्यलाई प्राथमिकता दिइएको थियो।
कार्यक्रमबाट संकलित २ लाख २ हजार रुपैयाँ नेपाली राजदूतावास कुवेतलाई हस्तान्तरण गरिएको एनआरएनए एनसीसी कुवेतले जनाएको छ। उक्त रकम दूतावासमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले एनआरएनएको केन्द्रीय तहमा एकता कायम भइसकेको अवस्थामा कुवेतमा भने दुई समूहबीच एकता हुन नसक्नुले समुदायमा नकारात्मक सन्देश गएको बताएका थिए। उनीहरूले संयुक्त कार्यक्रमले आगामी दिनमा दुई समूहबीच एकता, सहकार्य र सहमतिको वातावरण निर्माण हुने आशा व्यक्त गरेका थिए।
यद्यपि, कार्यक्रमको तयारी, व्यवस्थापन तथा नेपालबाट आमन्त्रित कलाकारको प्रस्तुतिका सन्दर्भमा अपेक्षित समन्वय र तयारी नदेखिएको भन्दै केही त्रुटिहरू पनि देखिएका थिए। कार्यक्रम व्यवस्थापनमा कमजोरी रहे पनि दुई समूहले एउटै मञ्चमा उभिएर संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नु आफैँमा सकारात्मक र अर्थपूर्ण प्रयासका रूपमा हेरिएको छ।
समग्रमा यस कार्यक्रमले संस्थागत मतभिन्नताभन्दा समुदायको एकता, सहकार्य र मातृभूमिप्रतिको जिम्मेवारी ठूलो हुन्छ भन्ने सन्देश दिएको छ। फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ भन्ने भावनालाई व्यवहारमा उतार्न सके आगामी दिनमा कुवेतस्थित नेपाली समुदायका साझा हितका लागि अझ प्रभावकारी काम गर्न सकिने अपेक्षा गरिएको छ।
![]()