Saturday 14th February 2026

परिवर्तनको भ्रम र पदको बार्गेनिङ: कता जाँदैछ मुलुक?


गुलाम नवी मन्सुर/ कुवेत – नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो ‘नग्न नाच’ मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू न ताली बजाउन सकिरहेका छन्, न त हल छोडेर हिँड्न नै। हामी एउटा यस्तो विडम्बनापूर्ण समयमा उभिएका छौँ, जहाँ “नयाँ” हुनुको अर्थ अब कुनै पवित्रता वा परिवर्तनको ग्यारेन्टी रहेन। बरु, नयाँको खोल ओढेर आएका पात्रहरूमा पुरानो पुस्तामा भन्दा कयौँ गुणा बढी सत्ताको भोक र पदको तिर्खा देखिनु यो देशका लागि सबैभन्दा ठूलो अभिशाप बनेको छ।
​पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको “आउने र जाने” को जुन सर्कस छ, त्यसले एउटा कुरा प्रष्ट पारेको छ यहाँ पात्रहरू फेरिएका हुन्, प्रवृत्ति त झन् सडेर गएको छ। कुलमान घिसिङजस्ता व्यक्ति, जसलाई यो देशले ‘उज्यालो’ को नायक मानेको थियो, उनी पनि राजनीतिको यो हिलोमा यसरी पछारिए कि उनको वर्षौँको आर्जन एकै झट्कामा धुमिल भयो। उज्यालो नेपालको नारा लिएर रास्वपाको आँगनमा छिरेको १२ दिनमै “मैले चाहेको पद पाइनँ” भन्दै बाहिरिनुले के संकेत गर्छ? के यो देशको चिन्ता हो? कि केवल आफ्नो अहंकार (Ego) र बरियताको लडाइँ? यदि एउटा पद नपाउँदैमा ‘परिवर्तनको एजेन्डा’ कोर्न छोडेर मान्छे पुरानै ओढारमा फर्कन्छ भने, त्यस्ता पात्रबाट देशले कुन उज्यालोको अपेक्षा गर्ने? ​यहाँ समस्या केवल कुलमान वा रविको मात्र होइन, समस्या त्यो “नयाँ” भनिने सोचको हो, जसले राजनीतिलाई केवल एउटा ‘भाइरल स्टन्ट’ सम्झिरहेको छ। बालेन शाह र रवि लामिछानेको जुन अप्राकृतिक मिलन अहिले देखिँदैछ, यो सिद्धान्तको मिलन हुँदै होइन। यो त केवल दुईवटा चम्किला महत्त्वाकांक्षाहरूको जोडघटाउ मात्र हो। जब दुईवटा भीमकाय ‘इगो’ हरू एउटै ठाउँमा ठोक्किन्छन्, त्यहाँबाट निस्कने झिल्कोले देशलाई उज्यालो दिँदैन, बरु भइरहेको लोकतान्त्रिक प्रणालीलाई नै डढेलो लगाउने जोखिम बढाउँछ। बालेनको लोकप्रियता र रविको ‘पपुलिजम’ को मिश्रणले क्षणिक रूपमा त केही मान्छेलाई उत्तेजित बनाउला, तर दिगो राजनीतिका लागि चाहिने सांगठनिक आधार र वैचारिक स्पष्टता यिनीहरूसँग कतै पनि देखिँदैन।
​अहिलेको सबैभन्दा ठूलो खतरा भनेको “विचारहीनता” हो। पुराना भनिएका दलहरूमा कमसेकम एउटा पद्धति थियो, एउटा सांगठनिक अनुशासन थियो र वर्षौँको संघर्षको इतिहास थियो। तर, आजका नयाँ भनिनेहरूमा न त हिजोको संघर्षको धैर्यता छ, न त भोलिको स्पष्ट रोडम्याप। यिनीहरूलाई आजको भोलि नै प्रधानमन्त्रीको कुर्सी चाहिएको छ, आजको भोलि नै सबै कुरा आफ्नो मुठ्ठीमा चाहिएको छ। यही हतारो र पदलोलुपताले गर्दा यिनीहरू कहिले कसको शरणमा पुग्छन् त कहिले कसलाई धोका दिन्छन्, यसको कुनै टुङ्गो छैन। कुलमानको बहिर्गमन यसैको एउटा सानो दृष्टान्त मात्र हो।
​देश अहिले २०८२ को निर्वाचनको सँघारमा उभिएको छ। तर, यो निर्वाचन अघिको वातावरण उत्साहजनक हुनुपर्नेमा अत्यन्तै भयावह छ। जब जनताले “विकल्प” ठानेका शक्तिहरू नै पदको भागबन्डामा लुछाचुँडी गर्न थाल्छन्, तब आम नागरिकमा एउटा खतरनाक सन्देश जान्छ “यहाँ कोही पनि चोखो छैन।” यो “कोही पनि चोखो छैन” भन्ने भाष्यले अन्ततः अराजकतालाई जन्म दिन्छ। जब मान्छेको विश्वास सबैतिरबाट टुट्छ, तब समाजमा अतिवाद र ध्वंसात्मक सोचले ठाउँ पाउँछ। नयाँ अनुहारहरूले आज त्यही ‘अविश्वासको बिउ’ रोपेका छन्।
​भनिन्छ, अनुहार फेरिएर मात्र क्रान्ति हुँदैन, आचरण फेरिनुपर्छ। तर यहाँ त आचरण पुरानोभन्दा पनि घातक देखिएको छ। पद नपाए विद्रोह गर्ने, आफ्नै सहयात्रीलाई खुट्टा तान्ने र लोकप्रियताका लागि जे पनि गर्ने यो प्रवृत्तिले देशलाई एउटा यस्तो अँध्यारो सुरुङतर्फ धकेल्दैछ, जहाँबाट निस्कने बाटो कसैसँग छैन। नयाँ बोतलमा भरिएको यो पुरानो रक्सीले जनतालाई एकछिन मात्न त देला, तर यसले दिने ह्याङ्गओभरले सिंगो राष्ट्रको भविष्य नै थला पार्ने निश्चित छ। अहिलेको समय कुनै व्यक्ति वा पार्टीलाई गाली गरेर उम्कने समय होइन। यो त नयाँको नाममा भइरहेको यो व्यापारलाई चिन्ने समय हो। यदि हामीले समयमै यो ‘पपुलिजम’ र ‘पदको भोको राजनीति’ लाई चिन्न सकेनौँ भने, भोलि हामीसँग न पुरानोको अनुभव बाँकी रहनेछ, न नयाँको उत्साह। हामी केवल एउटा दिशाहीन र गन्तव्यहीन भीडमा परिणत हुनेछौँ। नयाँ अनुहारले बोकेको यो पुरानो नियति नै अहिलेको नेपालको सबैभन्दा ठूलो राष्ट्रिय खतरा हो।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...