Sunday 17th May 2026

१ सय ६१ नेपाली महिला श्रीलंका हुँदै कुवेत कसरी पुगे ?


तितोपाटी- मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्‍याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्‍याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको छ । श्रीलंका हुँदै नेपाली महिला कसरी कुवेत आइपुगे भनेर अध्ययन भइरहेको र परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायलाई जानकारी गराइएको दूतावास स्रोतले बताएकाे छ ।

सरकारले नेपालबाट भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति महिला कामदारका हकमा कडाइ गर्न थालेपछि भारतहुँदै नेपालीलाई घरेलु रोजगारीका लागि खाडीका देश र मलेसिया पुर्‍याउन थालिएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा महिलासँगै पुरुष कामदारकाे पनि तस्करी भइरहेको छ । तस्करहरूले वैदेशिक रोजगारीको प्रलोभन देखाएर पैसा असुली विभिन्न देश पुर्‍याएर अलपत्र पार्ने गरेकाे वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताए ।

विभागले दिउँसो मात्र होइन, रातिसमेत रोजगारीका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न प्रयास गरिरहेको महानिर्देशक दहाल बताउँछन् । उनी भन्छन्, ‘वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढिरहेको छ । यसलाई नियन्त्रण र रोक्न प्रयास भइरहेको छ ।’

२०७२ साल चैतदेखि सरकारले खाडीका ६ देश र मलेसियामा घरेलु काममा जाने कामदारलाई श्रम स्वीकृति जारी नै गरेको छैन । घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएको छ । तर, घरेलु रोजगारीका लागि नेपाली महिला कामदार तेस्रो देश र व्यक्तिगत श्रम स्वीकृतिमा मानव तस्करले ओसार्ने काम गरिरहेका छन् ।
वैधानिक रूपमा विदेश जाने बाटो बन्द भएपछि अवैधानिक रूपमा तेस्रो मुलुकको बाटो हुँदै खाडीलगायतका मुलुकमा जाने महिलाको संख्या बढ्दै गएको छ ।  –साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...