साउने सक्रान्ति
लोक छन्द: झ्याउरे
***************
गलकोटमा जन्मेको म त गल्कोटे भन्दछन् ।
चलेको रीति यहाँको आफ्नै सबैले मान्दछन् । १ ।
खेतको काम सकिए पछि बारीको थालेको ।
बारीको पनि सकियो काम खटिरा फालेको । २ ।
हिलो र धूलो झरी र वादल प्रशस्त खेपियो ।
साउने यो सक्रान्ती आज झुलुक्क देखियो । ३ ।
साउन मैना शिवको पूजा गरिन्छ घरमा ।
कल्याण होस सबैको भनी परिन्छ भरमा । ४ ।
साउन मैना अनिकाल लाग्ने समय रहेछ ।
शिवको पूजा भएर मात्र कल्याण भएछ । ५।
जा लुतो भनी खटिरा पनि हामीले धपाको ।
अगेना बाट अगुल्टो झिकी बेसरी मिल्काको। ६ ।
नुवाकोट बाट चमुवा ताकी अगुल्टो फालेको ।
त्यसैमा फेरि चिच्चाईकन कोहोलो हालेको । ७ ।
खरुवाबाट आगाको झिल्का चमुवा देखिने ।
चमुवाबाट ताकेर फेरि नुवाकोट फेकिने । ८।
अनौठो खेल चलेको सम्झेँ गाउँको विचमा ।
दुवैको भेट हुन्थ्यो नि फेरि त्यै वर्ष तीजमा । ९ ।
साँझको बेला रमिता हेर्न बाहिर निस्किने ।
बाबाको साथ अगुल्टो लिई हामी नि जिस्किने । १० ।
सुखको थियो बालक पन हाँसेर बितायौँ ।
कोरोना पाजी आउला भनी कहाँ पो चितायौँ । ११ ।
अहिले डर कोरोना भयो सँसार भरमा ।
लखेट्ने प्रण गरौँ है हामी बसे नि घरमा । १२ ।
हरि शर्मा (सुबेदी)
गलकोट-नुवाकोट, बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।