Friday 28th November 2025

मुस्लिम समुदायमाथिको प्रहार र समावेशीताको चिरहरण


गुलाम नवी मन्सुर/ कुवेत – राजनीतिक नेतृत्व केवल पद र कुर्सीमा सीमित हुँदैन यो त समाजका हरेक तप्काको विश्वास, मनोविज्ञान र भविष्यसँग जोडिएको हुन्छ। तर, जब नेतृत्वमा संघर्षको राप र अनुभवको परिपक्वताको अभाव हुन्छ, त्यसले नतिजा होइन, केवल भ्रम र अस्थिरता जन्माउँछ।
​हालै सम्माननीय प्रधानमन्त्रीज्यूबाट मुस्लिम समुदाय र विशेष गरी मुस्लिम महिलाहरूबारे जसरी हल्का, तथ्यहीन र अपमानजनक अभिव्यक्ति सार्वजनिक भयो, त्यसले देशको कार्यकारी प्रमुखको बौद्धिक धरातलमाथि मात्र होइन, हाम्रो संविधानको ‘समावेशी चरित्र’ माथि नै गम्भीर प्रश्न खडा गरेको छ।
​नेपालको कुल जनसंख्याको ५.०९ प्रतिशत हिस्सा ओगट्ने मुस्लिम समुदाय यस देशको माटोको अभिन्न अंग हो। राष्ट्र निर्माणमा यो समुदायको बलिदान र योगदान इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ। तर, प्रधानमन्त्रीको कुर्सीमा बसेर एउटा सिंगो समुदायलाई लाञ्छित गर्ने गरी ‘तथ्यहीन’ अभिव्यक्ति दिनु केवल राजनीतिक अपरिपक्वता मात्र होइन, यो सामाजिक अपराध हो। ​जिम्मेवार नेतृत्वले तथ्यांकको आधारमा बोल्छ, पूर्वाग्रहको आधारमा होइन। प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले समाजमा विद्यमान धार्मिक सहिष्णुता र सामाजिक सद्भावको तन्तुलाई कमजोर बनाउने दुस्साहस गरेको छ। के राज्यको प्रमुखले नै आफ्ना नागरिकहरूबीच अविश्वासको खाडल खन्ने हो? यो प्रवृत्तिले धार्मिक आस्थामा चोट त पुर्‍याएको छ नै, साथै लोकतन्त्रको सुन्दर पक्ष मानिने ‘बहुलवाद’ लाई समेत गिज्याएको छ।
​प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्तिमा मुस्लिम महिलाहरूप्रति ‘चिन्ता’ व्यक्त गरेको देखियो। तर, सत्ताको बागडोर हातमा हुँदाहुँदै व्यवहारमा भने ठीक उल्टो काम गर्नुलाई के भन्ने? यो त ‘गोहीको आँसु’ बाहेक केही होइन। ​यदि तपाईंलाई साँच्चिकै मुस्लिम महिलाहरूको सशक्तीकरण र उनीहरूको भविष्यको चिन्ता छ भने, भाषणमा होइन, नीति र निर्णयमा देखिनुपर्छ। के तपाईं निम्न तीन ठोस कदम चाल्न तयार हुनुहुन्छ?
​क) शैक्षिक पूर्वाधारको ग्यारेन्टी: मुस्लिम छात्राहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै, घना बस्ती भएका क्षेत्रहरूमा तत्काल ‘महिला–मैत्री विद्यालय’ र पालिका–स्तरीय कलेजहरू स्थापना गर्नुहोस्। जबसम्म शिक्षाको उज्यालो घर-घर पुग्दैन, तबसम्म भाषणले मात्र उनीहरूको जीवन बदलिँदैन।
​ख) छात्रवृत्तिको पुनःस्थापना: विडम्बनापूर्ण कुरा यो छ कि एकातिर तपाईं महिला अधिकारको कुरा गर्नुहुन्छ, अर्कोतिर मुस्लिम समुदायका विद्यार्थीहरूले पाउँदै आएको छात्रवृत्ति कटौती गरिन्छ। आर्थिक अभावले शिक्षाबाट वञ्चित भएका चेलीहरूको आँसुले तपाईंको ‘चिन्ता’ लाई गिज्याइरहेको छ। हिम्मत छ भने, कटौती भएका ती छात्रवृत्तिहरू आजै, अहिल्यै पुनःस्थापना गर्नुहोस्।
​ग) कानुनी सुरक्षाको प्रत्याभूति: मुस्लिम महिलाहरू जो घरेलु हिंसा वा सामाजिक कुरीतिको शिकार भएका छन्, उनीहरूका लागि हरेक स्थानीय तहमा ‘निःशुल्क कानुनी सहायता कक्ष’ (Legal Aid Cells) स्थापना गर्नुहोस्।
​यी संरचनात्मक सुधार नगरी केवल समुदायलाई होच्याउने अधिकार तपाईंलाई छैन। ​तपाईंको सरकार ‘महान् आन्दोलन’ को जगमा बनेको दाबी गरिन्छ। आन्दोलनको मर्म भनेको समावेशीता र सीमान्तीकृतको आवाज सुन्नु हो। तर, आजको मन्त्रिपरिषद् र राज्यका उच्च ओहदाहरूमा ५.०९ प्रतिशत जनसंख्या भएको मुस्लिम समुदायको प्रतिनिधित्व खोइ?
​’शून्य प्रतिनिधित्व’ समावेशी लोकतन्त्रको घोर अवहेलना हो। सत्तामा पुगेपछि भर्‍याङ बिर्सिने र जुन समुदायको भोट र साथ लिएर यहाँसम्म आइपुगियो, उही समुदायलाई सत्ताबाट बाहिर राखेर अपमानित गर्नु राजनीतिक बेइमानी हो। समावेशीता कागजमा लेखिने शब्द मात्र होइन, यो त राज्यको अनुहारमा देखिनुपर्ने तस्बिर हो। आज सरकारको अनुहारमा मुस्लिम समुदायको प्रतिविम्ब देखिँदैन, यो नै आजको तीतो सत्य हो। ​संघर्ष र अनुभवबिनाको नेतृत्वले अक्सर संवेदनशीलता गुमाउँछ भन्ने कुराको साक्षी हिजोको तपाईंको भनाईले प्रष्ट देखाइदिएको छ। भ्रम छरेर सत्ता त टिकाइएला, तर समाज जोड्न सकिँदैन। संघर्ष र अनुभवबिनाको नेतृत्वले अक्सर समाजको गहिराइ नाप्न सक्दैन भन्ने कुरा प्रधानमन्त्री कार्कीको यो अभिव्यक्तिले पुष्टि गरेको छ।
​हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछौं मुस्लिम महिला र समुदायमाथि लगाइएको तथ्यहीन आरोप तत्काल फिर्ता लिनुहोस्। र, यदि साँचो अर्थमा न्यायप्रेमी नेतृत्व हो भने, मुस्लिम समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्दै शिक्षा र न्यायमा उनीहरूको पहुँच स्थापित गर्नुहोस्। ​नेपालको संविधानले परिकल्पना गरेको समाज ‘सबैको सम्मान’ मा अडिएको छ, ‘कसैको अपमान’ मा होइन।इतिहासले यो कालखण्डलाई ‘समावेशीताको चीरहरण’ भएको समयको रूपमा अंकित गर्नेछ।


सम्बन्धित शीर्षकहरु

बगदाद: इराकले बिहीबार स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेको ग्यास कम्प्लेक्समा भएको आक्रमणको अनुसन्धान गर्ने बताएको छ, जसले ग्यास आपूर्ति अवरुद्ध गरेको…

काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले…

वाशिंगटन, डीसीमा भएको गोलीकाण्डपछि, अमेरिकाले अफगानी नागरिकहरूबाट प्राप्त सबै आप्रवासन अनुरोधहरू प्रशोधन गर्न निलम्बन गरेको छ। ह्वाइट हाउस नजिकै भएको…

प्रतिकृयाहरू
...