तोयानाथ उपेक्षित, तीतोपाटी – बारम्बार कुवेतबाट घर विदामा नेपाल गएका नेपाली साथीभाईहरुले कहिले सम्ममा कुवेत फर्कन पाउँछौ भन्दै सोध्नु हुन्छ । साह्रै कमजोर शैक्षिक धरातल भएका मध्ये कतिपयले भरपर्दो सूचना पाईन्छ भन्ने आशा राख्नु अस्वभाविक पनि होईन । बास्तविकता चाहीँ के हो भने म पनि उहाँहरु जस्तो मात्र हुँ ।
हो खाडीका अन्य मुलुकको तुलनामा कुवेतले विदेशीहरुका लागि अलिक धेरै कडाई गरिरहेको अवस्था हो । सानो देश थोरै जनसंख्या भएको हुनाले उनीहरुलाई हामीलाई भन्दा धेरै आफ्ना नागरिक र देशको चिन्ता गर्नु स्वभाविक हो । जब देखि कोभिडको महामारी शुरु भयो त्यसबेला देखि अहिले सम्म लगभग १८ महिना यता कसैले पनि सिधै कुवेत प्रवेश गर्ने अवसर पाएका छैनन । डेल्टा र बेलायती भाईरसको स्वरुपमा म्युटेशन भएको सार्वजनिक नहुँदा सम्म आगामी दिनहरु सामान्य होला की जस्तो हुदै थियो तर त्यसपछि प्रतिबन्धहरु झन कडा हुन पुगे ।
संसारभरी नै धेरै थोरै मानिसहरुले भ्याक्सिन पाउन थाले पछि धेरै जसो देशहरुमा अहिले कोरोना भाईरस नियन्त्रित रुपमा फैलदो छ त्यही अवस्थाबाट अघि बढदै कुवेत अहिले भाईरस माथि हावी भैसकेको छ । दैनिक संक्रमित आजका दिन सम्म आईपुग्दा दैनिक दुई तिन सयको हाराहारीमा छ । बजारहरु पूर्ण रुपमा खुलेका छन । कार्यालयहरु पूर्ण जनशक्तिका साथ काममा फर्किएका छन । औधोगिक र निर्माणाधिन क्षेत्रमा कामले गति लिन थालेको छ । श्रमका गतिविधी बढेका छन र बजारमा श्रमिकहरुको ठुलो अभाव छ यद्यपी कुवेतले अझै नयाँ कामदारको कुरा त परै जाओस घर विदामा गएका कामदारको फिर्ती समेत खुल्ला गरिसकेको छैन ।
विगतका दिनमा अगष्ट १८ बाट खुल्ने भन्ने कुरा सार्वजनिक भयो तर त्यसलाई रोकियो । खास गरेर दक्षिण यसियाली देशहरु नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका हकमा कुवेत सरकारले प्रतिवन्ध कायम नै राख्न पुग्यो । यहाँको श्रम बजारको ठुलो हिस्सा यिनै देशका श्रमिकले भरिएको छ । हजारौ श्रमिकहरु कुवेत फर्कने दिनको प्रतिक्षा गरिरहेका छन । महिनौ लामो प्रतिक्षामा रहेकाहरुको साझा सवाल हो हामी कहिले फिर्न पाउछौ ?
कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर अबदुल्लाह अल सनदले हिजै मात्र भनेका छन वी आर अन दी राईट ट्रयाक टु एचिभ कम्युनिटी ईम्युनिटी । यसको मतलब हो कुवेतले यहाँ रहेको जनसंख्याको ७० प्रतिशत लाई भ्याकसिन लगाई सकेको छ । जसका कारण समुदायमा ईम्युनिटी पावरको एउटा स्तर कायम भयो । यो भन्नुको मतलब अब कोभिडले अर्को स्वरुपमा आफ्नो रुप बदलेन भने समुदाय सुरक्षीत रहेने अवस्था निर्माण भयो भन्ने हो ।
हालका दिनमा कुवेतले माथि भनिएका रेड जोनमा परेका देखि बाहेकका देशमा हवाई सेवा सञ्चालन गरिरहेको छ । तथापी प्रतिदिन साढे सात हजार भन्दा धेरैको प्रवेश नहुने गरी । साउथ यसियन मुलुकलाई खुला गरेको अवस्थामा प्रतिदिन उक्त संख्या हजारौको हुन जानेछ । मत्थर हुदै गएको भाईरस पुन उकालो नलागोस भनेर कुवेत सरकारले दक्षिण एसियन देशका लागि कुवेत प्रवेशको कोटा दैनिक कति तोक्ने भनेर हालका दिनमा छलफल गरिरहेको अवस्था हो । संभवत एक साता भित्रै खोल्ने तयारी रहे पनि सिमित संख्यामा प्रवेश दिने नीतिका कारण कुवेत उडानको प्रतिक्षामा रहेका धेरैलाई निराश नै तुल्याई दिने छ भने प्रवेश त्यति सहज हुने छैन ।
हेल्थ प्रोटोकल पुरा नगरि आफ्नो देशभित्र सहजै प्रवेश कुनै देशले पनि दिदैनन त्यसमा पनि कुवेतले यस विषयलाई गंभिरतापूर्वक कार्यान्वायन गर्ने देखिन्छ । ७२ घण्टा भित्रको पिसिआर जाँच रिर्पोट नेगेटिभ हुन पर्ने पहिलो शर्त हो भने कोभिड विरुद्धको भ्याक्सिन अनिवार्य छ । त्यसमा पनि जोनसन एण्ड जोनसन, फाईजर, अस्ट्रजेनीका, मोर्डना लगायतका पूर्ण खोप मात्र स्वीकृत छन । अन्य खोप लगाएकाले आउन पाउने कुराको सुनिश्चिता छैन ।
विशेष कुरा के पनि छ भने आउन अगाडी उनीहरुको अनुरोधले स्वीकृती पाएको हुन पर्नेछ । त्यसका लागि स्लोनिक एप्लिकेशनमा मागिएका विवरण भरेर पठाउन पर्ने हुन्छ । अर्थात उसको ईम्युनिटी सही छ भन्ने देखाउने ईम्युन एप्लिकेशनमा आफ्ना विबरणको रेर्कड देखाउन सक्नु पर्दछ ।
आशा गरौ कुवेतबाट घर गएकाहरु आफ्नो पूर्ववत नोकरीमा छिटै फर्कन पाउने दिन आउने छ । संभवत सेप्टेम्बर १ तारिक उक्त अवसर जुर्ला तर यहाँ आशंका के हो भने कुवेतले कोभिड शुरु हुन भन्दा पहिले देखि नै डेमोग्राफीका ईम्व्यालेन्सलाई लिएर विदेशी कामदारको संख्या घटाउने योजनामा थियो । जस अनुसार ५ बर्षमा करिब १० लाख विदेशीको संख्या घटाई सक्नु पर्ने हुन्छ । त्यसका लागि कोभिड एउटा बहाना बनेर त्यसका लागि सहजता पैदा भईरहेको हुदा सम्भव भए सम्म जानेलाई वाई बाई र आउनेलाई कडाई हुने अनुमान पनि छदैछ । यस्तो अवस्थामा गएकाहरुलाई सहजै फर्कन गाहो हुने बताईन्छ ।