Thursday 12th March 2026

प्रयोगवाद अनि रम्बास् कविता : छोटो परिचय -मिलन बोहोरा


प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो।यसैले गर्दा प्रयोगवादीहरूले निषिद्ध क्षेत्रहरूलाई उघारो पारेका छन।कविताका शब्द र वर्णहरूलाई विभिन्न आकारमा, चित्रको रूपमा सजाएर विचित्रको अनुभूति अभिव्यक्त गर्दछन्। पाश्चात्य साहित्यमा यसको प्रयोग गरेको सयवर्ष पुगिसकेको छ।

नेपाली साहित्यमा चित्रात्मक कविताको प्रयोग सुरुमा बैरागी काइँलाले गरेको थाहा लाग्छ। त्यसपछि रङ्गवादी कविहरूले अनि ‘सृजनशील अराजक समुह’ले पनि यसको व्यापक प्रयोग गरेका छन्। यी सबको विवरण गोविन्दराज भट्टराईको “उत्तरआधुनिक विमर्श ” नामक ग्रन्थमा पाइन्छ।

यथास्थितिवादी मनोभावदेखि फुत्किएर परम्परागत पर्खाल नाघेर उत्तरआधुनिक चेतना जाग्दामात्रै सिर्जनामा बहुरङ्ग र नविनता आउनसक्छ भन्ने कुरामा आज साहित्य जगतका साथसाथै संसारनै लम्किरहेको छ। यथार्थवादका नयाँ भेद्, विनिर्माणवाद,सन्दिग्ध सिद्धान्त, परिवृत्तीय, निसर्ग नारीवाद आदिहरू आज साहित्यमा समालोचनाका तत्व बनेका छन। साहित्याकाश फराकिलो पार्नलाई यो धारणा नितान्त जरुरी छ भन्ने चिन्ता समय सापेक्ष हो। पुरानो धरोहरको संरक्षण गर्नु र नविनताको खोजी गर्नुनै विकासोन्मुख जातिको लक्षण हो। नयाँ संसार देख्ने रहरले सिर्जनामा, कलामा, दर्शनमा, ल‍ोक जीवनमा सर्वत्र नै यो धारणा व्याप्त भइरहेको समयमा यस लेखकले पनि कविताको शैलीमा चतुष्कोण आकृतिमा चित्रात्मक कविता सिर्जना गर्ने जमर्को लिएको हो। यस प्रकारका कवितालाई पाश्चात्यजगतमा ठोस कविता (Concrete poetry), चित्र कविता जस्ता नामले जानिन्छ। यसै धारणाको वशवर्ति भएर भारतको असम प्रदेशमा रम्बास् कविता नामले चतुष्कोणी कविता लेख्ने विनम्र प्रयास भइरहेको छ। नेपाली भाषामा यहीनै पहिलो प्रयोग हो। हाल असम (भारत)मा यो रम्बास उपविधाको कविता जनप्रिय हुँदैछ र नेपालमापनि कसैकसैले लेख्न थाल्नुभएको छ।

लेख्ने नियम:-

यो अपरम्परागत शैली र आकारमा लेखिने कविता केही साधारण नियमले लेखिन्छ।
१).यसमा जम्मा सय अक्षर र उन्नाइस पंक्ति हुन्छन् ।
२). एउटा अक्षरको शब्ददेखि शुरु भएर एउटै अक्षरमा समाप्त हुन्छ।
३). एक दुई अक्षर गर्दै दस अक्षरसम्म पुगेपछि फेरि नौ, आठ, सात गर्दै एक अक्षरमा टुङ्गिन्छ।
४). सुरुको र अन्त्यको अक्षर भिन्नाभिन्नै या एकै हुनसक्छन्।
५). यस शैलीमा भावपक्ष जति महत्त्वपूर्ण हो यसको रम्बासीय ढाँचापनि उत्तिकै महत्त्वपूर्ण हो।
यस कविताको आकृति ज्यामितिको रम्बासको जस्तो बनाउन टंकणको स्पेस् कीको बढी मात्रामा व्यववहार गर्नुपर्ने हुन्छ। हालै मेरो पहिलो कृति (सायद नेपाली साहित्यमा नै पहिलो) “तानाबाना” प्रकाश भईसकेको छ। असममा अहिले थुप्रै नवीन, प्रवीण कविहरू, डा. जगन्नाथ उपाध्याय, अर्जुन उप्रेती, भीम धमाला, मीना पौडेल, प्रकाश कुइँकेल, प्रीतम आचार्य, सृजना अधिकारी, प्रकाश बुडाथोकी, गौरव दाहाल, पद्मावति देवी, खडानन्द दुलाल, दुलुमनि देवी, मीना देवी फयेल, प्रियंका शर्मा, लोकनाथ शर्मा, आदिले यो शैलीमा कविता लेख्न थाल्नुभएको छ। नेपालमा पनि युवा कवि रेहित सैजु, शीतकवि पुष्कर रेग्मी, वसन्त हरियाली आदिले थालनी गरिसक्नु भएको छ।
हाम्रो नेपाली साहित्यको बगैंचामा एक नयाँ प्रजातिको फूलको बिरुवा हो यो। अब यसको जीवन यसलाई रुचाउनेहरू माथि निर्भर गर्छ।
उदाहरणको लागि केही रम्बनस् कविता दिएको छु।

 

– मिलन बोहोरा
विश्वनाथ असम
भारत

 


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...