नसोध्नु होस् म वैरागी भएको
रहस्यमय कुरा,
कसरी दिउँ उत्तर?
जिवनबाटै वितृष्णा जागेको बेला।
मेरा पनि आशाहरु होलान् नि झोलीभरि,
मन छैन र
प्रफुल्लित भएर आफ्नो परिचय दिने?
तर म मात्र पलाँसको फूल……।
भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि,
के मलाई रमाउने रहर थिएन होला र?
तर म शिशिर यामको हिमकणमा फुल्ने
पारिजात जस्तो भएँ।
कठ्याङ्ग्रिंदो निशामय रातमा
मगमगाउँदो वास्ना छर्दा पनि,
बिहानीको उषामय लाली देख्न नपाउँदै
ओइलाएर झर्नु पर्दाको पीडा मसँग छैन र?
भनेकै छु म निरीह छु, बेसहारा छु।
यसैमा दोष खोज्दछन् मानिसहरु
र त म विक्षिप्त हुँदै, भौंतारिन्छु, तड्पन्छु, छट्पटाउँछु….।
जीवन अनौठो अनुभूति भयो
सधै एकनासे दुखाइ अनि पीडा मात्र,
सम्झन्छु जीवन फूल कि काँडा?
दिन कि रात?
-हिमा सनातन