Friday 19th April 2024

सामाजिक सुरक्षा कोषमा जोडिए झन्डै ४ लाख श्रमिक


निर्मला घिमिरे- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ। महिनामा चारदेखि ६ हजारको हाराहारीमा श्रमिकहरू जोडिन थालेको कोषले बताएको छ।पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन्। हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ। जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबी लगायत विभिन्न शीर्षकमा भुक्तानी गरिएको कोषले जनाएको छ।

अहिले कोषबाट सुविधा पाउने औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू मात्रै हुन्। अब कोषले छिट्टै अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि जोड्ने गरी कार्यविधि ल्याउन लागेको कोषका प्रवक्ता विवेक पन्थीले बताए।

‘अब मंसिरभित्रमा अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिक र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोषमा समेट्ने गरी दुइवटा कार्यविधि ल्याउने तयारी कोषले गरेको छ,’ उनले भने, ‘कार्यविधि निर्माणका लागि उपसमितिले काम गरिरहेको छ।’

त्यस्तै कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि- २०७५ को पनि तेस्रो संशोधन गरेको छ। संशोधित कार्यविधिमा थप दुई नयाँ व्यवस्था गरिएको छ। संशोधित कार्यविधिअनुसार अब कोषले घातक रोगको औषधि उपचारका लागि सेवा अवधिभर दस लाख रूपैयाँसम्म बेहोर्ने भएको छ। यस्तो सुविधा कोषमा दुई वर्ष योगदान गरेका योगदानकर्ताहरूले पाउँछन्। यो सुविधा आगामी पुसदेखि मात्रै पाइन्छ।

कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि- २०७५ तेस्रो संशोधन स्वीकृत भएको ९१ औं दिनबाट यो व्यवस्था लागू हुने बताएको हो। संशोधित कार्यविधि गत असोज ५ गते स्वीकृत भइसकेको छ। जसमा कोरोनरी आर्टरी बाइपास वा ओपन-हार्ट सर्जरी, मस्तिष्क घात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल, एनिमिया, रहेमोफेलिया वा थालासेमिया रोगहरूका लागि सेवा अवधिभर दस लाखसम्मको उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरिएको छ।

यो सुविधा योगदान गर्न छाडेको दुई वर्षसम्म पाइन्छ। त्यस्तै कोषको वृद्धावस्था सुरक्षा योजना अन्तर्गत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताले निवृत्तिभरण पाउन थालेको सात वर्षसम्म यस्तो सुविधा पाउने कोषका प्रवक्ता पन्थीले बताए।

संशोधित कार्यविधिअनुसार कोषमा सूचीकृत योगदानकर्ताका श्रीमान–श्रीमतीले पनि उपचार सुविधा पाउने भएका छन्। यो सुविधा पनि आगामी पुसदेखि लागू हुनेछ। जसमा योगदानकर्ताले पाएसरहको औषधि उपचार सुविधा उनीहरूका श्रीमान-श्रीमतीका लागि व्यवस्था गरिएको छ।

औषधि उपचारवापत अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्ताले वार्षिक रूपमा एक लाख रूपैयाँ नबढ्ने गरी खर्च पाउँछन्। अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्ताले चिकित्सकको प्रेस्क्रिप्सन बमोजिमको सुविधा वार्षिक रूपमा २५ हजार रूपैयाँ प्राप्त गर्छन्।

कोषका योगदानकर्ता बिरामी हुँदा घरमै सेवा लिनसक्ने सुविधा छ। उपचारका लागि अस्पताल आउजाउ गर्न नसक्ने अवस्था भएकाहरूलाई चिकित्सक वा स्वास्थ्यकर्मीले घरमै गई प्रदान गरेको सेवाबापतको शुल्क कोषले बेहोर्ने व्यवस्था छ।

यस्तो सुविधा कोषको औषधि, उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत पाइन्छ।

यसअन्तर्गत चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क, रोगको परीक्षण तथा उपचारबापतको खर्च र औषधिको बिल बमोजिम खर्च पनि पाइन्छ।

कोषबाट अरू के–के सुविधा पाइन्छ?

औषधि उपचार तथा मातृत्व सुरक्षा योजना

औषधि–उपचार सुविधा अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्ताले वार्षिक रूपमा एक लाख रूपैयाँ नबढ्ने गरी खर्च पाउँछन्। अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्ताले चिकित्सकको प्रेस्क्रिप्सन बमोजिमको सुविधा वार्षिक रूपमा २५ हजार रूपैयाँ प्राप्त गर्छन्।

मातृत्व सुरक्षा अन्तर्गत पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवती भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च कोषले उपलब्ध गराउँछ। त्यस्तै अस्पताल भर्ना भई प्रसूति शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च कोषले बेहोर्छ। सुत्केरी भएको छ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशु उपचारवापतको खर्च पनि कोषले बेहोर्छ।

योगदानकर्ता महिला भएको खण्डमा प्रसूति बिदावापत ६० दिनभन्दा माथिको थप ३८ दिनसम्मको भुक्तानी (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) पाइन्छ।

प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबर रकम उपलब्ध गराइन्छ। यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा पनि पाइन्छ। तर यो सुविधा पाउन कोषमा कम्तिमा लगातार ३ महिना योगदान गरेको हुनुपर्छ। योगदान गर्न छाडेको ३ महिना अवधिसम्म पनि सुविधा दाबी गर्न सकिन्छ।

कस्तो अवस्थामा यो सुविधा पाइँदैन?

– दुर्घटना भई उपचार गराएको बाहेक दाँतको उपचार गराउनु परे।

– प्लास्टिक सर्जरी तथा अन्य कस्मेटिक प्रकारका उपचार खर्च।

– बारियाट्रिक (बोसो निकाल्ने) वापतको उपचार खर्च।

– स्वेच्छाले गर्भपतन गराउँदा।

– अन्य योजनाबाट दोहोरो भुक्तानी हुने गरी दाबी गरे।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना

कोषले अघि सारेको यो योजना अन्तर्गत रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च पाइन्छ। अन्य दुर्घटनाको हकमा सात लाख रूपैयाँसम्म खर्च पाइन्छ। दुर्घटनावापत सुविधा योगदान सुरू गरेकै दिनदेखि पाइन्छ। र योगदान छाडेकै मितिबाट यो सुविधा पाइँदैन।

व्यवसायजन्य रोगवापत सुविधा पाउन कोषमा दुई वर्ष योगदान गरेको हुनुपर्छ। यस्तो रोग लागेको अवस्थामा योगदान गर्न छाडेको दुई वर्षपछिसम्म कोषमा दाबी गर्न सकिन्छ। व्यवसायजन्य रोगको पहिचान सम्बन्धित विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य पुनरावलोकन विशेष समितिले गरेअनुसार हुने कोषले बताएको छ।

रोजगारीजन्य दुर्घटना भएको सात दिनभित्र कोषलाई खबर गर्नुपर्नेछ। अन्यथा सात लाख रूपैयाँसम्मको मात्रै खर्च पाइने कोषले बताएको छ।

कस्तो अवस्थामा के सुविधा?

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण अस्थायी पूर्ण अशक्त भएको अवस्थामा श्रमिक काममा नफर्किँदासम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बिदा अवधिको भुक्तानी पाइन्छ।

अस्थायी (आंशिक) अशक्तता भएको अवस्थामा अशक्तताको प्रतिशतको आधारमा उपचार खर्च पाइन्छ।

पूर्ण अशक्तता भएको अवस्थामा आधारभूत पारिश्रमिकको ६० प्रतिशत आजीवन अशक्ततावृत्ति पाइन्छ।

आश्रित परिवार सुरक्षा योजना अन्तर्गत के–के सुविधा पाइन्छ?

– पति वा पत्नीले पाउने निवृत्तिभरण

– सन्ततिले पाउने शैक्षिक वृत्ति

– आश्रित आमाबुबाले पाउने सुविधा (पति, पत्नी वा छोराछोरी नभएमा) अन्तिम संस्कार खर्च।

– यो सुविधा योगदान सुरू गरेकै मितिबाट लागू हुन्छ।

वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम तथा त्यसले आर्जन गरेको प्रतिफल एकमुष्ट फिर्ता पाइन्छ। पति वा पत्नी वा आमाबुबाले योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत आजीवन आश्रित पेन्सन पाउँछन्। छोराछोरीले १८ वर्ष उमेरसम्म (पढाइ निरन्तर भएमा २१ वर्षसम्म ४० प्रतिशत शैक्षिकवृत्ति पाउँछन्।
अन्तिम संस्कारका लागि २५ हजार खर्च पाइन्छ।

शर्त के–के छन्?

आश्रितले दोस्रो बिहे गरेमा वा वैकल्पिक रोजगार भएमा यो सुविधा पाइँदैन। तर आश्रितको रोजगारी समाप्त भई वृद्ध अवस्था पेन्सन पाउने उमेरमा पेन्सन प्राप्त गर्ने अवस्था नरहेमा निवेदन दिई यो सुविधा पाइन्छ।

एक बच्चा भएमा आधारभूत पारिश्रमिकको ४० प्रतिशत र एकभन्दा बढी बच्चा भएमा दुई सन्तानलाई त्यसको दामासाही रूपमा मात्रै पाइन्छ। पढाइ निरन्तर रहेको अवस्थामा २१ वर्ष अन्यथा १८ वर्षसम्म मात्रै सन्ततिवृत्ती पाइन्छ।

वृद्ध अवस्था सुरक्षा योजना

यसअन्तर्गत निवृत्तिभरण योजना र अवकाश सुविधा योजना छन्। २०७८ साउन १ गते वा सोभन्दापछि कोषमा योगदान सुरू गर्ने सबै योगदानकर्ता निवृत्तिभरण योजनामा समावेश हुन्छन्। २०७८ असार मसान्तसम्म कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा लिखित रूपमा निवेदन दिई निवृत्तिभरण योजनामा सहभागी हुन सक्छन्।

योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकम कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना योगदानकर्ताको जीवनकालभर निवृत्तिभरण पाइन्छ।

कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा उसको हकवालालाई कोषमा जम्मा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट प्रदान गरिन्छ।

निवृत्तिभरण पाउन योग्य हुने अवस्था

निवृत्तिभरण पाउन योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनुपर्छ। योगदानकर्ताले १८० महिनाको योगदान नगर्दै ६० वर्ष उमेर पूरा भएको हकमा यो योजनामा जम्मा भएको रकम वा सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट बनाई सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना उसको जीवनकालभर निवृत्तिभरण लिनेमध्ये कुनै एउटा विकल्पको छनोट गर्न सकिन्छ।

अवकाश सुविधा योजना

कोषमा जम्मा भएको रकम र त्यसमा प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम योगदानकर्ता अवकाश हुँदा वा उसको रोजगारीको अन्त्य भएको अवस्थामा पाइन्छ। योगदानकर्ताको मृत्यु भएको अवस्थामा उसको हकवालाले एकमुष्ट भुक्तानी पाउने व्यवस्था छ।

कोषमा जम्मा भएको रकमबाट तीन वर्ष लगातार योगदान गर्ने योगदानकर्ताले अवकाश सुविधा रकममा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सकिने व्यवस्था छ।

कोषमा श्रमिकको आधारभूत पारिश्रमिकबाट कट्टी गरिएको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।

यो रकमको १ प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत कट्टी हुन्छ। १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजनामा कट्टी हुनेछ। त्यस्तै वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत निवृत्तिभरण योजनामा २० र अवकाश योजनाामा ८.३३ गरी कुल २८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...