Wednesday 24th April 2024

लघुथाकार हिरा लामाको लघुकाथा “भगवान” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार हिरा लामाले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ”भगवान् ” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार हिरा लामासँग साक्षात्कार नभएपनि लघुकथा र सामाजिक संजालको माध्यमबाट परिचित छु । लघुकथाकार हिरा लामाको जन्म सुर्यपुर – ७,जुटपानी, चितवनमा मिति २०२९/०७/१२ गते बुवा स्वर्गीय डुमजन लामा र आमा स्वर्गीय नीरमाया लामाको सुपुत्रको रुपमा भएको हो । शिक्षण पेशा सहित नेपाली साहित्य साधनामा रमाउनुहुने साहित्यकारले स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नुभएको छ । हाल भरतपुर महानगरपालिका – ११ मा बसोबास गर्नुहुन्छ ।
नेपाली साहित्य समाज क्यालगरीको आयोजनामा भएको अन्तराष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता २०७७ मा प्रथम स्थान हासिल गर्न सफल हुनुभएका लघुकथाकार हिरा लामा
कविडाँडा साहित्य समाजद्वारा आयोजित राष्ट्रव्यापी कथा प्रतियोगितामा उत्कृष्ट १० मध्ये छैटौं स्थान हासिल गरी पुरस्कृत हुनुभएको थियो । साहित्यकारको पहिलो लघुकथा २०५९ मा चितवन पोस्टमा प्रकाशित भएको थियो ।
उहाँका प्रकाशित कृति : १.बाज र परेवाहरु ( लघुकथा सङ्ग्रह ) २. जेब्रा र हुँडारहरु ( कथा सङ्ग्रह ) हुन् भने तीन उपन्यास कृतिहरु प्रकाशनको तयारीमा रहेका छन् ।

प्रस्तुत कथामा मुख्य पात्रको रुपमा उनी पात्र रहेकी छन् । कथा उनकै वरिपरि घुमेको छ । कथा यसरी शुरु भएको छ । ऊ गएको आधा घन्टा भयो एक घन्टा भयो हेर्दाहेर्दै दुई घन्टा बित्यो तीन घन्टा अनि चार घन्टा पनि बित्यो तर आएन । म आईहालेँ है ! भनेर गएको ऊ ,अब चाहिँ आउँदैन भन्ने पक्का भयो । झमक्क साँझ पर्यो । अघि भर्खरको मान्छेको चहलपहल घट्दै गयो । एकछिन पछि रात पर्यो । हेर्दाहेर्दै उनी एक्लो भई । नयाँ ठाउँ ,कहाँ जाउँ र के गरौँ भन्ने पनि थाहा भएन । अलमलमा परी । केही बेर अघिसम्म त आउँछ कि ! भनेर सबैको अनुहार हेर्थी । अनुहारमा उसलाई खोज्थी तर अब उज्यालो हराएको छ । बिस्तारै उसको आफ्नै अनुहारको उज्यालो पनि हराउँदै गएको छ । उनलाई एक किसिमको डरले तर्साउन थालेको छ ।
हजुरको को हुनुहुन्छ ? कसैले पछाडिबाट उसलाई बिस्तारै सोध्यो । मान्छे देखिएन । झस्की अनि आवाज तिर फर्की । फेरि पनि त्यही प्रश्न आयो । उनले आफ्नो नाम भनी । त्यसपछि घर सोध्यो । घरको ठेगाना भनी । चौतारीमा त्यसरी बस्नुको कारण सोध्यो । त्यो पनि भनी । गफ बढ्दै गयो । उनीहरू नजिकिदै गए । साथी बने । त्यो रात उनीहरू सङ्गै सुते । भोलिपल्ट पनि उनकै पर्खाईमा बसी । तर आएन । त्यो आउँदैन अब ! साथीले भन्यो तर पत्याईनन् उनले । दिनभर पर्खी तर ऊ आएन । साँझ पर्यो । यस्तैमा , कतैबाट माईकको ठूलो आवाज आयो सन्तानको लागि आमाबुबा भगवान समान हुन्छ !
भक्तको पर्खाईमा “भगवान” अन्तिम सास रहुन्जेल बसे भक्त आएन । किनभने “भक्त”ले “भगवान”लाई त्यसै दिन बृद्दाश्रममा लगेर छोडेको थियो । यसरी कथा समापन गरिएको छ ।

कथा शुरुवात देखि समापन सम्म नै कौतुहलपुर्ण छ । समापनमा पुगेपछि मात्र प्रतिक्षा गरिएको उपात्र ममतामयी आमाको आफ्नै छोरा भएको रहस्य उद्घाटन भएको छ ।कथा मार्मिक, सरल र झड्का दिन सफल रहेको छ । नेपाली समाजमा बृध्द भएका मातापिता ज्युँदा भगवान्लाई बृध्दाश्रममा पु्र्याएर झुक्याएर छोडेर भाग्ने संन्तान प्रति तिखो व्यंग्य गरिएको कथा ”भगवान” हृदयस्पर्शी छ । शिर्षक सार्थक छ । सिध्दहस्त लघुकथाकार लिखित कथा समाजमा सकारात्मक संन्देश प्रवाह गर्न सफल रहेको छ ।

साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार हिरा लामाका साहित्यक आयामहरुले सफलताको शिखर चुमोस् भन्दै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा अटल श्रीबृध्दीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
हरिवन -१०, सर्लाही
हाल गठ्ठाघर, भक्तपुर

लघुकथा : भगवान
-हिरा लामा

ऊ गएको आधा घन्टा भयो । तर आएन । एक घन्टा भयो , आएन । हेर्दाहेर्दै दुई घन्टा बित्यो । तीन घन्टा अनि चार घन्टा पनि बित्यो तर आएन ।
” म आईहालेँ है ! ” भनेर गएको ऊ , अब चाहिँ आउँदैन भन्ने पक्का भयो । झमक्क साँझ पर्यो । अघि भर्खरको मान्छेको चहलपहल घट्दै गयो । एकछिन पछि रात पर्यो । हेर्दाहेर्दै उनी एक्लो भई । नयाँ ठाउँ , कहाँ जाउँ र के गरौँ भन्ने पनि थाहा भएन । अलमलमा परी । केही बेर अघिसम्म त ” आउँछ कि ! ” भनेर सबैको अनुहार हेर्थी । अनुहारमा उसलाई खोज्थी तर अब उज्यालो हराएको छ । अनुहारहरु हराएको छ । बिस्तारै उसको आफ्नै अनुहारको उज्यालो पनि हराउँदै गएको छ । उनलाई एक किसिमको डरले तर्साउन थालेको छ ।
” हजुरको को हुनुहुन्छ ? ” कसैले पछाडिबाट उसलाई बिस्तारै सोध्यो । मान्छे देखिएन । झस्की अनि आवाज तिर फर्की । फेरि पनि त्यही प्रश्न आयो । उनले आफ्नो नाम भनी । त्यसपछि घर सोध्यो । घरको ठेगाना भनी । चौतारीमा त्यसरी बस्नुको कारण सोध्यो । त्यो पनि भनी । गफ बढ्दै गयो । उनीहरू नजिकिदै गए । साथी बने । त्यो रात उनीहरू सङ्गै सुते । भोलिपल्ट पनि उनकै पर्खाईमा बसी । तर आएन ।
” त्यो आउँदैन अब ! ” साथीले भन्यो तर पत्याएन उनले । दिनभर पर्खी तर ऊ आएन ।
साँझ पर्यो । यस्तैमा , कतैबाट माईकको ठूलो आवाज आयो , ” कुनै पनि सन्तानको लागि आमाबुबा भगवान समान हुन्छ ! ”
” भक्त “को पर्खाईमा “भगवान” अन्तिम सास रहुन्जेल बसे तर “भक्त” आएन । किनभने “भक्त”ले “भगवान”लाई त्यसै दिन बृद्दाश्रममा लगेर छोडेको थियो ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...