Friday 11th September 2026

विमानस्थलमा पुगेका यात्रु नलिई दुबई उड्यो हिमालय एयरलाइन्सको जहाज


तीतोपाटी डटकम-हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जानका लागि सोमबार साँझ केही यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए।विमानस्थल पुगेका उनीहरू जहाज चढ्न भने पाएनन् बरू अन्तिम समयमा सूचना आयो- एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार गर्न सकिन्न।

यात्रुहरू केहीबेर अलमलमा परे। कोही आक्रोशित भए। अन्तिम समयमा जहाज चढ्न नपाएपछि उनीहरू घर फर्किए।यात्रु नलिइकन हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि उड्यो। उताबाट यात्रु ल्याउनका लागि जहाज काठमाडौंबाट खाली गएको हो।

संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो देशमा प्रवेश गर्नेहरूका लागि तोकेका मापदण्ड पूरा गर्न नसक्दा यात्रुहरू विमानस्थलबाट फर्किनु परेको हो।युएईले आवासीय भिसा भएका र कर्मचारीहरूका लागिमात्रै आफ्नो देशमा प्रवेश अनुमति दिएको छ। त्यसका लागि उडान समयभन्दा चार घन्टाअघि एन्टीजेन परीक्षण, ४८ घन्टा अघिको पिसिआर परीक्षण रिपोर्ट चाहिन्छ।

त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था छैन। विमानस्थलका प्रमुख प्रताप तिवारीले युएईको दूतावासले हप्ता दिनअघि आफ्नो देश प्रवेश गर्न चाहनेका लागि विमानस्थलमा एन्टीजेन परीक्षण गर्नुपर्ने जानकारी गराएको बताए।

‘उहाँहरूले ८-१० दिनअघि एन्टीजेन परीक्षण गर्नुपर्छ भन्नुभएको थियो। हाम्रो विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था गर्न ठाउँ छैन,’ विमानस्थल प्रमुख तिवारीले भने,‘एन्टीजेन परीक्षण कहाँ गर्ने भन्नेबारे हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेका छौं।’

चार घन्टाअघि यात्रुको एन्टीजेन परीक्षण गर्न नसक्ने भएपछि सोमबार राति राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज पनि खाली नै दुबई उडेको विमानस्थल स्रोतले जानकारी दियो।विमानस्थल प्रमुख तिवारी गन्तव्य मुलुकमा मापदण्डबारे एयरलाइन्सहरूले यात्रुहरूलाई समयमै जानकारी नदिँदा समस्या हुने गरेको बताए।

@सेतोपाटी डटकमबाट


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...