एकदिन एउटा बटुवा कतै गइरहेको थियो । ऊ जाने बाटोमा घना जंगल पर्दथ्यो । जाँदाजाँदा बटुवाले बाटो बिर्सियो र ज॔गलको वीचमा पुग्यो । ऊ जंगलबाट निस्कन यताउता बाटो खोज्न थाल्यो तर कतै भेटेन।
यताउता भड्किदा भड्किदै बटुवालाई यति प्यास लाग्यो कि अब ऊ बाटोभन्दा पहिले पानी खोज्न थाल्यो । पानी खोज्दै ऊ जंगलको झन् वीचतिर पुग्यो । त्यहाँ एउटा ठूलो र सुन्दर तलाउ थियो । यो देखेर ऊ ज्यादै खुशी भयो र तलाउको छेउमै पुग्यो।बटुवालाई यति प्यास लागेको थियो कि ऊ आफ्नो शरीरै डुबाएर पानी पिउन चाहन्थ्यो । त्यसैले उस्ले छेउबाटै पानी नपिएर तलाउभित्रै पस्यो । छेउमै पनि तलाउ धेरै गहिरो थियो । त्यसैले ऊ ह्वात्तै पानीभित्र पस्यो । अलिअलि मात्र पौडन जान्ने बटुवा तलाउको वीचसम्म त जसोतसो पुग्यो तर किनार भेट्न सकेन।
प्यास मेटाउने तिब्र चाहनाले उस्को प्यास त मेटियो तर पुरै जीवन खतरामा पर्यो।
पुष्पा नेपाल(सुवेदी)
इलाम