द्यौरालीमा फूल चढाई कसम नै खाएको त्यो ।
किन सानू छैन भन्छ्यौ मायाप्रिती लाएको त्यो ।
दाऊरा घाँस मेलापात चाडपर्व र जात्रामात्रा ,
सँगै बसी द्यौसीभैलो रोदी बालन गाएको त्यो ।
बिपनीमा निष्ठुरी भै जति टाढा गए पनि ,
हर रात सपनी भै आँखाभरी आएको त्यो ।
निधारका अदृश्य ती भाग्य रेखा पुछिएर ,
नपुग्ने भो जिन्दगीमा मैले सबै चाहेको त्यो ।
भाकल भेटी पूजा गरि मेरो खातिरमा तिमीले ,
आउँदा याद झझल्को भै मठ मन्दिर धाएको त्यो ।
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा