Saturday 16th May 2026

अतृप्त यौन, विखण्डित परिवार


तितोपाटी-वैदेशिक रोजगारीमा मलेसिया गएका पति तीन वर्षसम्म नफर्केपछि धरानकी राजकुमारी (नाम परिवर्तितम) ले ६ महिनाअघि दोस्रो बिहे गरिन्।
काठमाडौैंको बौद्धस्थित डेरामा एक्लै बस्दै आएकी २७ वर्षीया राजकुमारी विदेशिएका पतिलाई पर्खन धैर्य टुटेकाले दोस्रो बिहे गरेको बताउँछिन्। ‘मलेसिया गएका पतिलाई तीन वर्षसम्म पर्खेँ,’ उनले भनिन्, ‘तर, त्यो मान्छे यति धेरै निष्ठुरी भयो कि उता गएपछि मलाई बिस्र्यो।’ पतिले बेवास्ता गरेपछि आफूले मात्र पर्खेर केही हुने नदेखिएपछि दोस्रो बिहे गरेको उनको भनाइ छ। लक्का जवानकी पत्नीलाई घरमै छाडेर विदेशिएको पतिको व्यवहार मानवीय दृष्टिकोणले उपयुक्त नलागेको उनको भनाइ छ।

१८ वर्षको उमेरमा धरानकै राजकुमारसँग भागी बिहे गरेकी उनी दोस्रो बिहेलाई ‘नयाँ मोड’ भन्न रुचाउँछिन्। धरानबाट भागी बिहे गरेर काठमाडौंमा राजकुमारसँग बसेको एक वर्षको अनुभवसमेत उनको मस्तिष्कमा धुमिल भइसकेको छ। ‘पत्नी लक्का जवान छे भन्नेसमेत उसले हेक्का राखेन,’ राजकुमारीले भनिन्, ‘आफूले चाहिँ मलेसियामै फिलिपिनी युवतीसँग घरजम गरिसकेको रहेछ।’

रोजगारीका लागि मलेसिया पुगेका पतिलाई फर्काउन अनेक पहल गर्दा पनि असफल भएको बताउँदैै उनले नागरिक परिवारसँग भनिन्, ‘म स्वदेशमा पति भन्दै पर्खिएँ। पतिले चाहिँ विदेशमा अर्कै युवतीसँग मस्ती मार्दो रहेछ।’

निकै लामो प्रयासपछि मात्र उनका पतिले मलेसियामा दोस्रो बिहे गरेको तथ्य खुलेको राजकुमारीले बताइन्। ‘लामो समयदेखि सम्पर्कमा नभएपछि मैले श्रीमान् समस्यामा परेको ठानी अनेक सहयोगी संस्थासमेत धाइरहेँ,’ राजकुमारीले भनिन्, ‘कमाउन गएको श्रीमानले परदेशमा अर्कैसँग घरजम गरेपछि अब मैले मात्र एक्लो कोठामा के जीवन कटाइरहनु जस्तो लाग्यो र दोस्रो बिहे गर्ने निर्णय गरेँ।

मायामा पागल हुँदै भागी बिहे गरेका धरानका राजकुमार र राजकुमारीले जीवनमा आफूहरू छुट्टै बस्नु पर्ला भनेर सायदै सोचेका थिए ! भागी बिहे गर्दा उनीहरूले सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका थिए। यतिखेर राजकुमारीलाई त्यस्तो कसम सम्झँदा हाँसो पनि उठ्छ। ‘१८ वर्षको उमेरमा बुबा–आमाको काख छाड्ने बेला दुवै जनाले सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका थियौं,’ उनले भनिन्, ‘वैदैशिक रोजगारीले हामीलाई खोलाको दुई किनारामा मात्र पु-याएन। मन समेत चुँडाल्यो र पवित्र मठ, मन्दिरमा खाएका कसम तोड्नु प-यो।’

जुन उद्देश्य र सोचका साथ सम्बन्ध जोडेका थिए, सोही अनुसार नभएपछि खिन्न मन पारेर जीवन जिउने राजकुमारी र राजकुमारजस्ता जोेडीको संख्या समाजमा निरन्तर बढ्दो छ। विकासमा मारेको फड्को र चेतना वृद्धिका कारण घर परिवार र समाजमा माया मोह बढ्नुपर्नेमा पछिल्लो समयमा उल्टै परिवार विखन्डन हुने र पति पत्नीबीच सम्बन्ध बिच्छेद हुने क्रम बढेको पाइएको छ।

नुवाकोटका रमेशले दुई वर्ष दुबईमा बसेर घर फर्केपछि पुनः वैदेशिक रोजगारीमा नजाने योजना बनाएका थिए। दुई वर्षको अवधिमा कमाएको करिब आठ लाख रुपैयाँ फर्कनुअघि नै पत्नी निरुलाई उनले पठाइसकेका थिए। दुई महिनाअघि दुबई बस्ने भिसा सकिएपछि जब रमेश घर फर्किए। त्यतिबेला उनी कल्पना गर्न नसकिने घटनासँग जुँध्नु पर्ने अवस्था सिर्जना भयो।

उनी घर पुगेको अघिल्लो रात पत्नी गाउँकै एक भाइ नाता पार्ने केटासँग विदेशबाट पठाएको सबै पैसा बोकेर हिँडिछिन्। ‘विदेशबाट फोनमा कुरा गर्दा फर्केर आएपछि गाउँघरमै रमाइलोसँग बस्नु पर्छ भन्थी,’ रमेशले भने, ‘त्यो त मलाई फुक्र्याउनलाई मात्र रहेछ।’ यतिखेर उनलाई पत्नी भन्दा पनि विदेशबाट पठाएको आठ लाख रुपैयाँ कसरी फिर्ता गर्ने भन्ने चिन्ता छ। सोही रकम फिर्ता पाउन सकिन्छ कि भनेर रमेशले विभिन्न व्यक्तिसँग हारगुहार गरिरहेका छन्।

स्वदेशमा रोजगारीको अवसर नपाउँदा जसरी पछिल्लो समयमा युवायुवतीको वैदेशिक मोह बढेको छ। त्यसले रेमिट्यान्स आप्रवाहमा योगदान पु¥याए पनि समाजलाई विखण्डन गर्ने हो कि भन्ने आशंका बढाएको छ। खासगरी जवानी उमेरमा युवा विदेश जाँदा परिवारमा झनै बढी समस्या देखिएको हो। जवानीमा घर छोड्नु पर्दा त्यसको असर घरमा बस्नेलाई मात्र नपरी गन्तव्य मुलुकमा पुगेकालाई समेत परेको देखिन्छ। कतिपय युवाले गन्तव्य मुलुकमै घरजम गर्नु यसैको उदाहरण हो।

अधिकांश गन्तव्य मुलुकले रोजगारीका लागि युवा लैजाने उमेर १८–३९ वर्ष हो। महिला–पुरुषको यौन क्रियाकलापका लागि पनि सोही उमेर नै सर्वाधिक सक्रिय हुने भएकाले त्यसले परिवारमा समस्या निम्त्याइरहेको देखिन्छ।

वैदेशिक रोजगारी देशका लागि कति लाभदायक छ भन्नेबारे लामो समयदेखि बहस हुँदै आएको छ। समाजशास्त्रीहरू दीर्घकालीन रूपमा वैदेशिक रोजगारीले कुनै पनि मुलुक उभो लाग्न नसक्ने तर्क गर्छन्। तर, अर्थविद् आम्दानीको अन्य उपाय नहुँदा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले अर्थतन्त्र धान्नुपर्ने बाध्यता हुने तर्क गर्छन्।

रेमिट्यान्स मोहमा परिवार र समाजमा भुसको आगो सल्केका घटना देखिए पनि निभाउने गरी गतिला प्रयास भने अझै गरिएको देखिँदैन। वैदेशिक रोजगारीलाई कम गरेर युवालाई स्वदेशमै रोजगारी दिनसक्नु पर्ने भूमिकामा रहेको सरकारका क्रियाकलाप नै जसरी हुन्छ युवालाई विदेश जान बाध्य पार्ने खालका देखिन्छन्।

युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुको साटो सरकारी निकाय रोजगारी सिर्जनामा पंगु सरह हुँदा युवा गुजाराका लागि वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता छ। स्वदेशमा काम गर्न खोज्ने युवालाई सरकारले प्रोत्साहन पनि गर्न सकेको छैन।

केही युवाले विदेश नगएर स्वदेशमै कृषि कर्म र अन्य उद्यमशीलता गर्छु भन्दा सरकारले त्यस्ता युवालाई सहुलियत पुग्ने गरी उत्पादित कृषिजन्य वस्तु खरिद गर्ने ग्यारेन्टीसम्म गर्न सक्दैन। युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ भन्ने ओँठे भाषण गर्नुबाहेक सरकारका मन्त्रीसँग अरु क्षमता देखिँदैन। कम्तीमा सरकारले किसानद्वारा उत्पादन गरिएका कृषिजन्य पदार्थ खरिद गर्ने व्यवस्था मिलाउन सक्ने हो भने अहिले जुन संख्यामा युवा विदेश जान्छन्, त्यसको आधाजति संख्या घट्ने श्रमविज्ञको अनुमान छ। ठूलो लगानी गरी कृषि पेसामा लागेका युवाले उत्पादन निकै सस्तोमा बिक्री गर्नु पर्दा लागत नै उठ्ने अवस्था हुँदैन। सरकारको सहयोग पर्खेका युवाका लागि सरकार उल्टै रमिते बनेको हुन्छ र मन्त्री, उच्च तहका कर्मचारी ओठे भाषण गर्छन्।

स्वदेशमा बस्ने अवस्था कठिन हुँदै गएपछि पछिल्लो १२ वर्षको अवधिमा यो वर्ष सबभन्दा बढी युवा रोजगारीका लागि कोरिया जान लालयित देखिएका छन्। केही दिनअघि फारम भर्ने अवधि सकिएको कोरियन भाषा परीक्षाका लागि ९२ हजार तीन सय ७६ ले दरखास्त दिएका छन् । फारम भर्नकै लागि युवाहरूले २५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन्।

कोरियन भाषा परीक्षामा सहभागी हुनेले प्रतिव्यक्ति २५ अमेरिकी डलर शुल्क बुझाउनु पर्छ। कोरियन भाषा सिक्ने लगायत अन्य खर्च जोड्ने हो भने युवाहरूको अझै ठूलो रकम खर्च भएको देखिन्छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार सन् २००८ यता चार लाख ९७ हजार दुई सय ६२ युवायुवतीले (यो वर्षको बाहेक) भाषा परीक्षामा प्रतिस्पर्धा गरेका थिए। जसमध्ये ५९ हजार छ सय ९८ युवा रोजगारीका लागि कोरिया पुगेका छन्।

‘रोजगारीका लागि कोरिया जान जसरी ठूलो संख्याका युवाको चासो देखियो, समाधानका लागि सरकारले ठूलै हस्तक्षेप गर्नुपर्ने देखिन्छ,’ श्रम विज्ञ डा. केशव बस्यालले भने। सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रम मात्र नभई युवालाई स्वदेशमै रोक्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, महिला उद्यमशीलता जस्ता कार्यक्रमको घोषणा गरेको छ।

अर्का श्रम विज्ञ तथा अधिवक्ता सोम लुइँटेल बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने हो भने पहिला स्वदेशमा रोजगारी सिर्जनाका लागि लगानी हुनुपर्ने बताउँछन्। ‘रोजगारी सिर्जनाका लागि लगानी नहुने हो भने आउँदो पाँच वर्षमा पनि प्रगति हासिल हुने छैन,’ लुइँटेलले भने। उनले सरकारका मन्त्रीहरूलाई कुरा गरेर होइन रोजगारी सिर्जना गर्नका लागि काम गर्न सुझाव दिए।

युवाको वैदेशिक रोजगारीको मोह बढ्नुमा स्वदेशमा श्रमको सम्मान नहुनु, न्यून पारिश्रमिक पनि महत्त्वपूर्ण कारण रहेको औंल्याइएको छ। त्यस्तै सरकारले घोषणा गरेका कार्यक्रम जसलाई लक्षित गरिएको हो, त्यहाँसम्म पुग्न नसक्दा पनि आम युवामा विदेश मोह बढेको कतिपयको अनुमान छ।

वैदेशिक रोजगारीमा जाने उमेर हरेकका लागि श्रीमान्–श्रीमतीसँग बस्ने बेला हो। सोही उमेरभरि विदेश बस्ने र जसले गर्दा परिवार र समाजमा अनेकथरि यौन क्रियाकलाप देखिनु सामान्य ठान्छन्, चिकित्सकहरू। ‘हरेक महिला पुरुषका लागि यौन जैविक आवश्यकता हो,’ डा. संकेत रिसालले भने, ‘यौन क्रियाकलाप हरेक व्यक्तिका लागि खाना र निद्रा जस्तै आवश्यक हुन्छ।’

श्रम विज्ञहरू वैदेशिक रोजगारी नेपालका लागि अहिले नै अन्त्य गर्न सक्ने अवस्थामा नभए पनि कम्तीमा खाडी मुलुक र मलेसिया जाने संख्या घटाउन आवश्यक भइसकेको सुझाव दिन्छन्। ‘थोरै संख्या र राम्रा गन्तव्य तथा बढी पारिश्रमिक पाइने मुलुकमा मात्र युवा पठाउने नीति लिनुपर्छ,’ श्रमविज्ञले भने । हाल वैदेशिक रोजगारीमा जान नयाँ र पुराना गरी वर्षेनि करिब ६ लाख युवाले श्रम स्वीकृति लिन्छन्। तीमध्ये ९० प्रतिशतको गन्तव्य खाडी मुलुक र मलेसिया हुने गरेको छ।

वर्षेनि श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवायुवतीमध्ये ५० हजार जतिले मात्र स्वदेशमा सरकारी र गैरसरकारी निकाय तथा निजी क्षेत्रमा रोजागारी पाउँछन्। स्वदेशमा रोजगारी नपाउने अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन्।

सरकारले विश्वका एक सय आठ देशमा म्यानपावर र एक सय ७२ देशमा व्यक्तिगत रूपमा जानेलाई श्रम स्वीकृति प्रदान गर्ने गरे पनि करिब ९० प्रतिशतको गन्तव्य खाडीका छ मुलुक र मलेसिया हुने गरेको छ। जहाँ नेपाली कामदारले महिनाको ३०–४० हजार रुपैयाँ कमाउन मुश्किल पर्ने गरेको छ। राम्रा पारिश्रमिक पाइने गन्तव्य खोज्नुपर्ने लामो समयदेखिको माग रहँदै आए पनि सरकारले चासो दिन नसकेको गुनासो व्याप्त छ।

म्यानपावर एजेन्सीले खाडी मुलुक र मलेसियाका रोजगारदातासँग जस्तो माग ल्यायो त्यसकै आधारमा श्रम स्वीकृति जारी गर्ने प्रचलनले एकातिर वैदेशिक रोजगारीमा जाने युवाको राम्रो कमाइ हुन सकेको छैन भने अर्कोतर्फ लामो समयसम्म परिवारसँग छुट्टिएर बस्नु पर्दा त्यसले परिवारलाई विखन्डनको बाटोमा डो-याइरहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म करिब ४५ लाख युवाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये करिब २५ लाख युवा अझै पनि रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेको अनुमान गरिन्छ। भारतमा रहेका र विद्यार्थी तथा अन्य भिसामा विदेश जानेको संख्यामा विभागको तथ्यांकमा समावेश छैन। श्रम स्वीकृति लिने महिलाको संख्या करिब दुई लाख छ। तर, राहदानी भने ६ लाख महिलाले लिएका छन्। राहदानी लिएका र श्रम स्वीकृति लिने महिलाको संख्यामा फरक देखिनुको कारण ठूलो संख्याका महिला अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जानुलाई लिइन्छ। अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जानेहरू झनै आर्थिक र शारीरिक शोषणमा पर्ने गरेको भुक्तभोगी बताउँछन्। लामो समयसम्म महिला र पुरुषलाई अलग रहँदा यौन आवश्यकता पूरा गर्न कठिन हुने भएकाले पुनर्एकीकरण कार्यक्रम पनि चलाउन सकिने कतिपयको सुझाव छ।
हालसम्म कोरिया भाषा परीक्षामा प्रतिस्पर्धा गर्ने र कोरिया जानेको संख्या
वर्ष (सन्मा) प्रतिस्पर्धी उडेका
२००८ ३१,५२५ २, ८१४
२००९ – १, ९११
२०१० ३६,२०३ २, ३३९
२०११ ५०,०४३ ३, ९८३
२०१२ – ६, ३३२
२०१३ ४७,६९० ५, ०४६
२०१४ ६२,२२३ ६, ०२८
२०१५ ५१,१३७ ५, ८६६
२०१६ ६०,६२६ ८, ०७९
२०१७ ७५,५८० ७, ८००
२०१८ ८२,२३५ ८, ५११
२०१९ ९२,३७६ ९८९
जम्मा ५,८९,६३८ ५९,६९८

साभार नागरिक न्युज


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...