Monday 4th May 2026

कविताः वीरबहादुर -जमुना पौड्याल


शिर नझुकाऊ वीरबहादुर
नाक नजोत वीरबहादुर
कति भक्त र पुजारी बन्छौ?
भगवानले तिम्रो लाचारी देखेनन्
आफ्नै प्रतिष्ठाको लागि
तिमीलाई भक्त बनाए
हात जोडाउँदै छन्
हाड घोटाउँदै छन्
नाक जोताउँदै छन् ।

बिक्री नगर स्वाभिमानको सगरमाथा
बिक्री नगर पसिनाको सुगन्ध
बिक्री नगर पौरखी शान
बिक्री नगर पुर्खाको गर्विलो इज्यत
गोर्खेलीका सन्तान हौ तिमी
भोकै लड्न सक्छौ
प्यासै मर्न सक्छौ
तर तिमी कहिल्यै मर्नु हुन्न
इतिहासको पानाबाट
लेखाऊ सुनौलो भविष्य
तिमी भगवान बन्नुपर्छ ।

अब तिमी बाँदर बन्नु हुन्न
अब तिमी भेँडा बन्नु हुन्न
भेँडा र बाँदर बनाऊ तिम्रा भगवानलाई
जसले तिम्रो भविष्य थुनेको छ
जसले तिम्रो भाग्यमा कालो पोतेको छ
अब मुटुमा आँट र हिम्मत
पाखुरीमा बल र शक्ति
उमार वीरबहादुर
लखेट ढेँडुहरूलाई
जसले बारम्बार तिमीलाई
भेँडाबाख्रा बनाएर लखेटिरहन्छ
अब उठ, जाग वीरबहादुर
तिमी भगवानको आसनमा बस्नुपर्छ ।

-जमुना पौड्याल, विराटनगर-३


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...