Monday 3rd October 2022

लघुकथाकार राजेश भट्टराईको लघुकथा “मानव वस्त्र” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार राजेश भट्टराईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ”मानव वस्त्र” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार राजेश भट्टराई डिसेम्बर ९,२०२० मा हाम्रो लघुकथा पाठशालामा जोडएर नियमित लघुकथा प्रेषित गर्नुहुन्छ । उहाँसँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथाको माध्यमबाट परिचित छु । लघुकथाकार राजेश भट्टराईको
जन्म २०४० साउन २५ गते काठमाडौँमा बुबा विश्वनाथ भट्टराई एवम् आमा विजया भट्टराईको सुपुत्रको रुपमा भएको हो ।
स्थायी ठेगाना सैनामैना -११,रुपन्देही भएता पनि हाल भरतपुर चितवनलाई मुकाम बनाउनु भएको छ । आयुर्वेद चिकित्सा शास्त्रमा प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरि स्वास्थ क्षेत्रमा सेवारत हुनुहुन्छ भने थप अध्ययनको रुपमा शिक्षा शास्त्रमा स्नातक गर्नुभएको छ ।

उहाँका लघुकथाहरुमा वर्तमान राजनीति, समाज र मानविय प्रवृत्ति प्रति तिखो कटाक्ष गरिएको मैले पाएकी छु ।उहाँका लघुकथाहरु विभिन्न अनलाईन तथा छापा पत्रपत्रिकाहरुमा समेत पढन सकिन्छ ।

प्रस्तुत लघुकथा ”मानव वस्त्र” मा उ र उनी दुई पात्र मात्र छन् । कथा यसरी शुरु गरिएको छ । ”चट्ट मिलेको जिउज्यान अनि वाटुलो गोरो मुहार भएकी उनी असाध्यै राम्री थिइन् मानौँ कालीगढले फुर्सदै फुर्सदमा बनाएको हो।उनको त्यो रुपको करामतले पग्लिसकेको थियो उ,सोच्थ्यो यिनैलाई बनाउँछु रानी।एकदिन प्रस्ताव पनि राख्यो।उनीले अहिले यस बारेमा नसोचेको बताईन् ।
एकदिन उनीहरु कलेजका साथी सङ्गी मिलेर घुम्न गए, एक रमणीय ठाउँमा।भदौंको गर्मी महिना बिहान घरबाट हिँडदा पानी पर्ने छाँटकाँट केही थिएन।त्यसैले कसैले पनि छाता लिएर गएका थिएनन् । लगाएका पनि थिए एकसरो पातलो बस्त्र।तर सम्बन्धित ठाउँमा पुग्न आधा घण्टा बाँकी छ भन्ने बेलामा आकाश गड्याङ्ग गुडुङ्ग गर्न थाल्यो।पन्ध्र मिनेट पछि त दर्कियो ठुलै पानी।पाँच मिनेटमा नै सबै जना लुछुप्पै भिजे।उनले लगाएको वस्त्र धेरै पातलो रहेछ, भित्री वस्त्र छ्याङ्गै देखियो।लज्जाबोधले गर्दा सबै भन्दा पछाडि हिड्न थालिन्।भनिन् उसलाई “तिमी म भन्दा अगाडि अरुलाई छेक्ने गरी हिँड न”।
“मैँले नै किन छेक्नु पर्यो र?”
“आफ्नो लाजलाई आफैँले छेक्नु पर्दैन त?” उ मुसुक्क मुस्कुरायो।
उनी लजाउँदै शिर निहुराईन्।यसरी लघुकथाको समापन गरिएको छ ।

२१९ शब्दमा लेखिएको लघुकथा प्रेमिल भावको भएकाले पढदा रमाइलो छ । शुरुमा उनी पात्रले उ पात्रलाई भाउ नदिएपनि अन्त्यमा ”आफ्नो लाजलाई आफैले छेक्नु पर्दैन त ?” भन्दै प्रेम स्वीकार गरेकोले लघुकथामा प्रतिध्वन्यात्मकता आएको छ । कपडा पातलो र भिजेको कारण उ पात्रलाई आफुलाई छेकिदिएर ढाकछोप गर्ने वस्त्रको रुपमा उनी पात्रले प्रयोग गर्न खोजेकीले शिर्षकले सार्थकता पाएको छ । लघुकथा सरल र सलल बगेको छ । भाषा जुनसुकै स्तरका पाठकका लागि पनि बोधगम्य छ ।

यति हुदाँहुदै पनि लघुकथाको उठान आकस्मिक रुपमा भएको राम्रो मानिन्छ तर यस लघुकथा बिवरणबाट शुरु गरिएको छ । उनी पात्रको वर्णनमा लघुकथाकारले धेरैनै शब्दहरु खर्च गर्नुभएको छ जुन लघुकथा लेखनमा त्यति राम्रो मानिदैन् भने ”आफ्नो लाजलाई आफैले छेक्नु पर्दैन त ?” मा नै लघुकथा समापन भईसकेको ले त्यस पछाडिका वाक्यहरुले लघुकथालाई अधोगति तर्फ लगेको मेरो ठम्याई छ ।

लघुकथा बाहेक अन्य विभिन्न विधामा कलम चलाउनु भएका साहित्यकार, लघुकथाकार राजेश भट्टराईको साहित्यिक यात्रा अझ उच्च बन्दै जाओस् । लघुकथा संङ्ग्रहका कृतिहरु यथाशक्य छिटो पढन पाईयोस् भन्दै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हरिवन-१०,सर्लाही
हाल,म.थि.न.पा.-३,भक्तपुर

लघुकथा:-मानव वस्त्र
राजेश भट्टराई

चट्ट मिलेको जिउज्यान अनि वाटुलो गोरो मुहार भएकी उनी असाध्यै राम्री थिइन् मानौँ कालीगढले फुर्सदै फुर्सदमा बनाएको हो।उनको त्यो रुपको करामतले पग्लिसकेको थियो उ,सोच्थ्यो यिनैलाई बनाउँछु रानी।एकदिन प्रस्ताव पनि राख्यो।
“तिमीलाई यस्तो कुरा गर्न लाज लाग्दैन?बिर्सेउ? तिमीलाई गाँउमा बाउ आमाले दुःख गरी गरी पढ्न पठाएको भन्ने।”उनको जवाफ थियो।
“बिर्सेको छैन, कहाँ बिर्सनु।”
“अनि किन सोच्छौ त यस्तो?”
“के भयो र सोच्दैमा?तिमीलाई अहिल्यै बिहे गरौं भनेको छैन केरे,मन पराउँछु माया लगाऊ, पछि बिहे गरौँला त भनेको हु नि।”
“मैँले त यस्तो कहिल्यै सोँचेको छैन।”
“अब सोँच न त।”
“मलाई टाइम चाहिन्छ।”
“हुन्छ, जति टाइम चाहिन्छ लेउ।”

एकदिन उनीहरु कलेजका साथी सङ्गी मिलेर घुम्न गए, एक रमणीय ठाउँमा।भदौंको गर्मी महिना बिहान घरबाट हिँडदा पानी पर्ने छाँटकाँट केही थिएन।त्यसैले कसैले पनि छाता लिएर गएका थिएनन्।लगाएका पनि थिए एकसरो पातलो बस्त्र।तर सम्बन्धित ठाउँमा पुग्न आधा घण्टा बाँकी छ भन्ने बेलामा आकाश गड्याङ्ग गुडुङ्ग गर्न थाल्यो।पन्ध्र मिनेट पछि त दर्कियो ठुलै पानी।पाँच मिनेटमा नै सबै जना लुछुप्पै भिजे।उनले लगाएको वस्त्र धेरै पातलो रहेछ, भित्री वस्त्र छ्याङ्गै देखियो।लज्जाबोधले गर्दा सबै भन्दा पछाडि हिड्न थालिन्।भनिन् उसलाई “तिमी म भन्दा अगाडि अरुलाई छेक्ने गरी हिँड न”।
“किन?”
“कस्तो किन भनेको, देखेनौ र मेरो हालत कस्तो छ?”
“देखेछु।”
“अनि”
“मैँले नै किन छेक्नु पर्यो र?”
“आफ्नो लाजलाई आफैँले छेक्नु पर्दैन त?”
उ मुसुक्क मुस्कुरायो।
उनी लजाउँदै शिर निहुराईन्।

समाप्त।

सैनामैना ११,रुपन्देही
हाल भरतपुर चितवन


Loading...
सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले समर्थक र प्रहरीबीचको झडपमा भएको भागदौडलाई लिएर देशको फुटबल खेलहरूको सुरक्षा समीक्षा गर्न आदेश दिएका छन्,…

कुवेत - नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको वडा दशैँ तथा साँस्कृतिक गत…

बसन्त थापा, कुवेत तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन्…

प्रतिकृयाहरू