Monday 2nd November 2026

कविताः वीरबहादुर -जमुना पौड्याल


शिर नझुकाऊ वीरबहादुर
नाक नजोत वीरबहादुर
कति भक्त र पुजारी बन्छौ?
भगवानले तिम्रो लाचारी देखेनन्
आफ्नै प्रतिष्ठाको लागि
तिमीलाई भक्त बनाए
हात जोडाउँदै छन्
हाड घोटाउँदै छन्
नाक जोताउँदै छन् ।

बिक्री नगर स्वाभिमानको सगरमाथा
बिक्री नगर पसिनाको सुगन्ध
बिक्री नगर पौरखी शान
बिक्री नगर पुर्खाको गर्विलो इज्यत
गोर्खेलीका सन्तान हौ तिमी
भोकै लड्न सक्छौ
प्यासै मर्न सक्छौ
तर तिमी कहिल्यै मर्नु हुन्न
इतिहासको पानाबाट
लेखाऊ सुनौलो भविष्य
तिमी भगवान बन्नुपर्छ ।

अब तिमी बाँदर बन्नु हुन्न
अब तिमी भेँडा बन्नु हुन्न
भेँडा र बाँदर बनाऊ तिम्रा भगवानलाई
जसले तिम्रो भविष्य थुनेको छ
जसले तिम्रो भाग्यमा कालो पोतेको छ
अब मुटुमा आँट र हिम्मत
पाखुरीमा बल र शक्ति
उमार वीरबहादुर
लखेट ढेँडुहरूलाई
जसले बारम्बार तिमीलाई
भेँडाबाख्रा बनाएर लखेटिरहन्छ
अब उठ, जाग वीरबहादुर
तिमी भगवानको आसनमा बस्नुपर्छ ।

-जमुना पौड्याल, विराटनगर-३


सम्बन्धित शीर्षकहरु

बर्लिन । बढ्दो महँगी, कमजोर सार्वजनिक सेवा र युवाका लागि घट्दै गएको अवसरको विरोधमा जर्मनीका विभिन्न सहरमा भएका प्रदर्शन शनिबार…

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

प्रतिकृयाहरू
...