Sunday 21st June 2026

कतार काण्डमा ३ म्यानपावर ६ महिनाका लागि निलम्बित, थप सजाय हुने


तीतोपाटी – गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो ।

विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डिडी ह्युमन रिसोर्स प्रालि लाई विभागले ६ महिना निलम्बन गरिएको जनाइएको छ । विभागका सूचना अधिकारी टीकामणि नेउपानेका अनुसार, तीनवटा कम्पनीलाई पहिलो कारबाहीस्वरुप सबै कारोबार रोक्का गरी निलम्बन गरिएको हो । उहाँका अनुसार, गोप्य अन्तर्वार्ता सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश भएपछि ऐनमा व्यवस्था भएअनुसार थप कारबाही हुनेछ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ मा वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीले पूर्वश्रम स्वीकृति र सम्बन्धित निकायलाई जानकारी नगराई अन्तर्वार्ता गरे ६ महिनासम्म कामकारबाही रोक्का र ऐनअनुसार आर्थिक जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मका लागि ६ महिना निलम्बन गरिएको विभागले जनाएको छ । ऐनमा कारबाहीस्वरुप रु तीनदेखि रु पाँच लाखसम्म जरिवाना र ३ वर्षदेखि सात वर्षसम्म कैदको समेत व्यवस्था रहेको छ ।

वैदेशिक रोजगार व्यवसायीको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले तीन कम्पनीले गैरकानूनी काम गर्दा सम्पूर्ण व्यवसायीले लज्जा महसुस गरेको भन्दै साधारण सदस्यताबाट हटाएको छ । केही दिनअघि बसेको बैठकले उक्त कम्पनीलाई साधारण सदस्यसमेत नरहने गरी खारेज गर्ने निर्णय भएको सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए । सङ्घले निर्णय गरेपछि कम्पनीलाई पत्र पठाउन बाँकी रहेको जनाइएको छ । रासस


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...