Saturday 28th November 2026

कुकुर तिहार र लक्ष्मी पूजा आज


नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको अवसरमा आज देशभर उत्साहका साथ कुकुर तिहार र लक्ष्मीपूजा पर्व एकसाथ मनाइँदैछ।

हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज बिहानैदेखि घरपालुवा तथा सडकका कुकुरहरूलाई नुहाइदिएर टीका, माला लगाई मीठा परिकार खुवाएर पूजा गरिएको छ।

यमलोकको द्वारमा रहने श्याम र सबल नामका कुकुरले यमराजको सन्देशवाहकको रूपमा काम गर्ने धार्मिक मान्यता रहेकाले कुकुरलाई पूजा गर्दा यमराज प्रसन्न भई परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ। सुरक्षा, खोज तथा उद्धार र अपराध अनुसन्धानमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने कुकुरको यस दिन विशेष कदर गरिन्छ।

यसैबीच, आज कार्तिक कृष्ण औँसीका दिन साँझ घरघरमा धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरी लक्ष्मीपूजा भव्य रूपमा मनाइँदैछ। लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू सफा सुग्घर गरी दीपावलीका साथ लक्ष्मीको पूजा गर्ने परम्परा छ।

साँझको समयमा घरको मूलढोकादेखि पूजा कोठासम्म दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ भने घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूलढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन रहेको छ। यस दिन लक्ष्मी, गणेश र सरस्वतीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।

लक्ष्मीपूजाका अवसरमा घरघरमा सेलरोटी, अर्सा र अनर्सालगायतका परम्परागत परिकारहरू तयार पारिन्छन्। साँझपख बालबालिका तथा युवायुवतीहरू समूह बनाएर घरघरमा भैलो खेल्दै ‘भैलिनी आयौँ आँगन…’ भन्दै गाउँघरदेखि सहरबजारसम्म तिहारको रौनक थप्ने गर्छन्।

केराका थम्बाले घरको मूलद्वार सजाउने, दियो बाल्ने, पटाका पड्काउने र विभिन्न रङका बत्तीहरूले घरआँगन उज्यालो बनाउने गरिन्छ। माता लक्ष्मी पृथ्वीमा आएर घरघरमा बास गरी सुख र समृद्धिको आशीर्वाद दिने धार्मिक विश्वासका साथ मनाइने तिहारको यो विशेष दिनले धार्मिक आस्था, पारिवारिक भेटघाट र आपसी सद्भावलाई अझ प्रगाढ बनाउँछ।


सम्बन्धित शीर्षकहरु

आज माल्दिभ्स विश्वमै मुस्लिम बहुल राष्ट्रका रूपमा परिचित छ। हिन्द महासागरमा अवस्थित यो सानो टापु राष्ट्रको संविधानले इस्लामलाई राज्य धर्म…

कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेतले आगामी जनवरी १ (पुस १७), शुक्रबारका दिन तमू ल्होछार/ल्होसार–२०२७ भव्य…

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लहान डिभिजनबाट पछिल्लो आठ महिनाको अवधिमा १० वटा रुग्ण पुलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। पूर्वाधार…

प्रतिकृयाहरू
...