Saturday 21st September 2024

वर्ष २०२० लाई कोरोना वर्षको रुपमा मनाऔ


तोयानाथ उपेक्षित – सबै कुरा छाड्नुस र कोरोनाको कुरा मात्र गर्नुस, यो कोरोना वर्ष हो । यसलाई स्वास्थ्य सभ्यता निर्माण बर्षका रुपमा मनाऔ । आफू बँचौ र अरुलाई बचाऔं । हामीलाई हिमालको हिउँले बचाउँछ भन्नु वा हाम्रो जीन र बीउले हामीलाई केही हुन दिदैन भन्नु पाखण्डी कुरा मात्र हो त्यस्तो भ्रममा नपरौ । भाग्य र कालका कुरा गरेर कोरोनाको हातमा जिवन नसुम्पाैं ।

एउटा मास्क समेत खरिद गरेर लगाउन नसक्ने मानिसहरु छन नेपालमा । मास्क लगाउनु भनेको मुख छोप्ने टालो बाध्नु मात्र होईन । सर्जिकल मास्क दिनहुँ फेर्ने हैसियत कति मानिससँग होला ? खरिद गर्छु भन्नेले पनि बजारमा नपाउने स्थिती हुँदैछ । कपडा वा रुमालले मुख र नाक छोपेर ढुक्क हुने अवस्था छैन । त्यसले धुलो त छेक्ला तर कोरोनालाई त्यतिले मात्र छेक्ला भन्ने होईन । मुखमा बाधेको टालो आफैमा कति सफा छ ? कति दिन नधोई त्यस्लाई मुखमा टासि रहने गर्नु हुन्छ ? त्यो आफैमा किटाणु बस्ने गुँड त बनिरहेको छैन ? यसतर्फ पनि जनचेतना जगाउन आवश्यक छ । मास्कको प्रयोग गरेर मात्र पुग्दैन तपाईको हात कति सफा छ ? हातले दिनमा नाक, मुख, र आँखासँग कति पटक स्पर्श गर्दछ भनेरे ख्याल नगरिने कुरा मा अव विचार गर्न पर्दछ । यो निक्कै गंभिर कुरा पनि हो । भाईरसलाई शरीरमा पुर्याउने काममा हातकै सबै भन्दा बढी भूमिका हुन्छ । हामीमा मसिनो गरि स्वास्थ्य र सफाईको ज्ञान र त्यस कुराको ध्यान पटक्कै छैन ।

यो यस्तो भाईरस जसबाट बँच्न सावधानी अपनाउने कुरामा आफू मात्र सचेत भएर पनि पुग्दैन । अज्ञानीलाई हरेकले सिकाउन र संझाउन उतिकै जरुरी छ यो सबै सचेत मानिसको कर्तव्य बनिसकेको अवस्था हो । नत्र घुम्दै फिर्दै भाईरसले तपाई हामीलाई आक्रमण गर्ने सम्भावना जीवित रहि नै रहन्छ । तपाईको वरिपरी त्यसले चक्कर काटिरहेको हुन्छ । हात बारम्बार सावन पानीले धोईरहने कुराको बानी बसाल्न अति नै जरुरी छ । मास्कको प्रयोग त्यो पनि सचेत र सही ढंगले प्रयोग गर्न पर्दछ । हरेक मानिससँग हात मिलाउने कुरा बन्दै गर्न पर्दछ । हाम्रो संस्कारले सिकाएको परैबाट नमस्ते भन्ने कुरा कति बैज्ञानिक रहेछ सोचौ त । हामीले कसैसँग कुरा गर्दा समेत केही मिटरको दुरी बनाउन सकेसम्म प्रयास गर्न पर्दछ । कुनै कार्यलय, घर, अस्पताल, वा सार्वजनिक स्थलमा रहेका ढोकाहरु खोल्दा हेण्डल पक्रनु , ट्वाईलेटको फल्यास दवाउनु जस्ता सामान्य काम गरिरहेको ख्याल नै नहुन सक्छ । भाईरस फलोर, कुर्सी, टेवल वा वेडमा भन्दा धेरै ती स्थानमा हुन्छन । सेनीटाईजरको उपलब्धता हाम्रो जस्तो देशमा कमै मानिसको पहुचमा हुने भएकाले आम सर्वसाधरणले कमसेकम हात साबुन पानीले राम्ररी नधोई घरमा पुगेर अरु कुनै कुरा नछोएको राम्रो हुन्छ । किफायती तरिका तर अव्बल विधी यहि हो हात साबुन पानीले धोईरहने बानी । बजारमा पाकेका कुनै कुरा सम्भव भए सम्म नखाऔ । भिडभाडबाट टाढा रहाैं ।

अहिले जसरी नोभल कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनिरहेको छ त्यसको यहि रप्तार अरु केही महिना रहने हो भने यो आफैमा एउटा विशाल विश्वयुद्ध भन्दा खतरनाक र भयावह बन्न सक्छ । बम र गोलीले लागेको मानिसलाई बचाउन नसके पनि उसको लासको व्यवस्थापन त हुन्छ तर कोरोनाको लास र सास दुवै मानिसका लागि खतरनाक र घातक भई दिने भएकाले कस्तो अवस्था आउला कल्पना गरौ । सीमित संख्याको संक्रमणले देशको सिंगो अर्थतन्त्र ओरालो लागि रहेको छ भने यसले माहामारीको रुप लिए के होला ? धनी देशलाई समाल्न यस्तो आच्छु आच्छु भईरहेको हामीले देखेका छौ हाम्रो देशमा संक्रमण फैलिए जंगल पस्ने की गुफा ?

विश्व नै लक डाउनको नजिक पुग्ने हो कि भन्ने खतरा बढेको छ । मानिसहरु काममा जान नसक्ने अवस्था आए वैदेशिक रोजगारीमा रहेका लाखौ मानिसको अवस्था के होला ? घर जान नसक्ने गरी उडानहरु रद्ध भएको अवस्थामा कस्तो कोलाहल मच्चिएला ? विदेशमा नै मरिहाले त्यसको लास घर पुग्ला भन्ने कल्पना नै नगरौ ? त्यो लान कुनै विमान कम्पनी पनि तयार नहोलान र त्यस देशको सरकारले पठाउने आँट पनि नगर्ला । अरु त कुरै छाडौ आफ्नै ती कोरोना संक्रमित नागरिकलाई  न त सरकार ग्रहण गर्न तयार हुन्छ न त कसैको घर परिवार । मानिस आफू बच्न अरुको मृत्युलाई सहज मानेर चित्त बुझाउने दिन पनि आउन सक्छ । मुख हेर्ने धोको नहुन सक्छ ।

कोरोना संक्रमित मानिसको मृत्यु भएमा माटोमा पुर्न हुन्न भन्ने तर्कले नै यसको खतरा कति प्रतिशत गंभिर छ भन्ने पुष्टि गर्दछ । तिनलाई जलाउन ईलेक्ट्रिकल भट्टी निर्माण गर्न पर्ने अवस्था कतिपय देशका सरकारलाई आउन सक्छ । यस अर्थमा पनि हाम्रो दाहसंस्कारको परम्परा पनि उतिकै बैज्ञानिक रहेछ भन्ने सबै प्रकारको समाजले महसुस गरिरहेको विषय हुन सक्छ ।

कोरोना भाईरसलाई नियन्त्रण गर्न र यसको उपचार खोज्न भईरहेका प्रयासहरुमा जति समय लाग्छ त्यति विश्वमा भयंकर खैलावैला बढ्नेवाला छ । यसले भेटेजति मानिस सब मरेका छैनन र मृत्युदर हेर्दा अतालिन पर्ने स्थिती त आईसकेको छैन नै तर भोलीका दिनमा यसको तिव्रतापूर्वक हुने प्रसारण नियन्त्रणमा नआए त्यो दर न्युन नै रहन्छ भन्ने छैन । हरेक सरकारका साधन र श्रोतको अपर्याप्तता बढदै गएपछि यो भयावह बन्न सक्छ ।

यसर्थ अरु सबै कुरा छाडौ कोरोनाको कुरा गरौं । सचेतनता नै अहिले सम्मको सबै भन्दा धेरै संक्रमण फैलनबाट रोक्ने कुरा हो । यसरी कुरा गर्दा त्रास फैलन्छ भनेर कुरा लुकाउनु झन अर्को गल्ती हुन जान्छ । मानिसमा जति धेरै डर भयो त्यति धेरै सचेत हुन्छ । यहाँ अत्याउने कुरा भनेर केही होईन कोरोना भन्ने समय छैन । स्वास्थ्य सभ्यता निर्माण गरौ । जनचेतना फैलाउन सबैले हरेक ठाउँमा कुरा गरौ ।


सम्बन्धित शीर्षकहरु

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। आइतबार कार्यकर्तालाई सम्बोधन…

प्रतिकृयाहरू
...