Friday 15th May 2026

परराष्ट्र मन्त्रालयबाटै कतार जाने कामदारमाथि भिसा सेन्टरको सिन्डिकेट


तितोपाटी – वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो ।

कामदारबाट कुनै शुल्क नलिने गरी परराष्ट्रले अनुमति दिएको बताए पनि एक साता नबित्दै भिसा सेन्टरले कतार जाने प्रत्येक नेपाली श्रमिकले लाउन्ज शुल्कका रूपमा ३ हजार ८ सय ६५ रुपैयाँ तिर्नुपर्ने सूचना जारी भएको छ । कतारको गृह मन्त्रालयले सिंगापुरमा मुख्य कार्यालय रहेको बायोमेट सर्भिसेस प्रालिलाई आठ देशमा आफ्नातर्फबाट निश्चित भिसासम्बन्धी प्रक्रिया सञ्चालन गर्ने अनुमति दिएको छ । त्यसैअन्तर्गत स्थानीय एजेन्टमार्फत नेपालको कानुनअनुसार क्युभिसी सञ्चालनको अनुमति दिइएको परराष्ट्र मन्त्रालयको दाबी छ । तर, यस्तो अनुमति दिने कानुनी आधार परराष्ट्रसँग नभएको श्रम मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

पछिल्लो समय कतार नेपाली कामदारको मुख्य गन्तव्य बनेको छ । हाल नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौता कार्यान्वयनमा छ । तर, नाम मात्रको उक्त सम्झौताले श्रमिकका हक–अधिकारका विषय सम्बोधन गर्न सकेको छैन । त्यसैले नयाँ श्रम सम्झौता गर्नुपर्ने भन्दै श्रम मन्त्रालयले कतार सरकारसँग संवाद अगाडि बढाएको छ । कतारको दोहामा १३ र १४ मार्चमा संयुक्त प्राविधिक समितिको पहिलो बैठक सम्पन्न भइसकेको छ । सो बैठकमा तत्काल क्युभिसी सञ्चालन गर्न दिन कतार पक्षले माग गरेको थियो ।

नेपाल पक्षले भने क्युभिसी श्रम सम्झौताको अंग हुने अवस्थामा मात्र सञ्चालन गर्न दिन सकिने अडान राखेको थियो । तर, क्युभिसी सञ्चालनका लागि परराष्ट्रले अनुमति दिएपछि श्रमिकको पक्षमा श्रम सम्झौता गर्ने श्रम मन्त्रालयको अडान कमजोर बनेको छ । जब कि मलेसिया जाने कामदारमाथि यस्तै किसिमको संरचना खडा गरेर ठगी भएपछि श्रम मन्त्रालयले एक वर्षअघि संलग्न संस्थाविरुद्ध कारबाही अगाडि बढाएको थियो । राहदानी संकलन, भिसा प्रोसेसिङ, बायोमेट्रिक, स्वास्थ्य परीक्षण र सुरक्षा जाँचका नाममा कामदार ठगी गर्दै आएका संस्थाविरुद्धको मुद्दा हाल पाटन उच्च अदालतमा विचाराधीन छ ।

कतार भिसा सेन्टरमा को–को संलग्न ?
पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङको नेतृत्वमा कतार भिसा सेन्टर स्थापना र सञ्चालनको काम अगाडि बढेको स्रोतले बतायो । त्यस्तै, कतारका लागि निवर्तमान राजदूत रमेश कोइराला, शेरबहादुर देउवापत्नी आरजू राणाका भाइ भूषण राणा र निर्माण व्यवसायी रविन गुरुङसमेत कतार भिसा सेन्टरमा संलग्न रहेको स्रोतले जनायो । एसओएस म्यानपावरका अध्यक्ष हेम गुरुङ त खुला रूपमै सक्रिय देखिएका छन् । विगतमा मलेसियाको बायोमेट्रिक प्रणालीविरुद्ध देखिएको वैदेशिक रोजगार व्यवसायी संघ यसपटक कतार भिसा सेन्टरको सन्दर्भमा भने मौन छ । केही समयअघि कतार भिसा सेन्टरको प्रस्ताव अस्वीकार गरेकै कारण संघका अध्यक्ष रोहन गुरुङ र श्रममन्त्री गोकर्ण विष्टको सम्बन्ध बिग्रिएको संघका पदाधिकारी बताउँछन् ।

श्रममन्त्रीले अस्वीकार गर्दागर्दै कसरी पायो अनुमति ?
नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत १३ मंसिरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई भिसा सेन्टर सञ्चालनको जानकारीसहित पत्राचार गरेको थियो । कतारले एकतर्फी रूपमा भिसा सेन्टर सञ्चालन गर्न महाराजगन्जमा सेल्सबेरी सुपरमार्केटको बिल्डिङ भाडामा लिएर आवश्यक तयारीसमेत गरेको थियो । बिचौलिया र केही म्यानपावर व्यवसायीको अग्रसरतामा स्वास्थ्य परीक्षणलगायतमा सिन्डिकेट कायम हुने गरी कतारी दूतावासले प्रक्रिया अघि बढाएको सूचना श्रममन्त्री गोकर्ण विष्टसम्म पुग्यो । लगत्तै मन्त्री विष्टले कामदार ठगिन सक्ने भन्दै भिसा सेन्टर सञ्चालन प्रक्रिया रोकिदिए । कतारको भिसा सेन्टर सञ्चालनको प्रस्ताव अस्वीकार गर्दै द्विपक्षीय सम्झौताको अंग भएको अवस्थामा मात्रै भिसा सेन्टर सञ्चालनमा ल्याउन सकिने अडान राखे ।

१६ मंसिरमा मन्त्रालयले ‘श्रम सम्झौताको प्रक्रिया अगाडि बढिसकेको’ र त्यसैमार्फत ‘भिसा सेन्टरलगायतका समग्र विषय टुंग्याउनुपर्ने’ व्यहोराको जवाफ परराष्ट्रमार्फत कतारलाई पठायो । तर, उक्त पत्रको बेवास्ता गर्दै परराष्ट्र मन्त्रालयले २७ चैतमा पुनः श्रम मन्त्रालयलाई कतार भिसा सेन्टर सञ्चालनका लागि पत्राचार गर्‍यो ।

नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने व्यहोरासहितको उक्त पत्रसँगै भिसा सेन्टर खोल्ने मिति तय गर्न अनुरोध गरिएको कतारी दूतावासको पत्रसमेत थियो । कामदारलाई कुनै पनि शुल्क नलाग्ने व्यवस्था सुनिश्चित हुने गरी कतार भिसा सेन्टरसम्बन्धी आवश्यक निर्णय प्रचलित कानुनबमोजिम नै गर्नुपर्ने चलाखीपूर्ण निर्णय मन्त्री गोकर्ण विष्टले २९ वैशाखमा गरे । सोही व्यहोराको पत्र श्रम मन्त्रालयले परराष्ट्रलाई पठाएको थियो । श्रम मन्त्रालयको सोही पत्रलाई कतार भिसा सेन्टर सञ्चालनको स्वीकृतिका लागि सहमतिका रूपमा परराष्ट्रले अथ्र्याउन थालेको छ । त्यसका लागि बिचौलिया तथा स्थानीय एजेन्टको पक्षमा कतारी राजदूत युसुफ बिन मोहम्मदब अहमेद अल–हलीले विगत एक वर्षदेखि निरन्तर रूपमा सरकारलाई दबाब दिँदै आएका थिए ।

मलेसियाको सिन्डिकेटविरुद्धको मुद्दा अदालतमा
मलेसिया जाने कामदारमाथि सिन्डिकेट खडा गरी विभिन्न शीर्षकमा ठगी भएपछि त्यस्ता संस्थाविरुद्ध सरकारले कारबाही अगाडि बढाएको थियो । राहदानी संकलन र भिसा प्रोसेसिङको काम गर्दै आएको ओएससी तथा भिएलएन, सुरक्षा जाँच प्रमाणित (इमिग्रेसन सेक्युरिटी क्लिरियन्स)को काम गर्दै आएको जिएसजी, बायोमेट्रिक तथा स्वास्थ्य परीक्षणलगायतका संस्थाविरुद्ध श्रम मन्त्रालयले कारबाही थालेको थियो । त्यसक्रममा करिब ३ दर्जन संस्थाका सञ्चालकलाई पक्राउ गरी काठमाडौं र ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा केही समयपछि उनीहरू धरौटीमा छुटेका थिए । हाल ती सबै मुद्दा पाटन उच्च अदालतमा विचाराधीन अवस्थामा छन् । भिएलएनका सञ्चालक राम श्रेष्ठलाई उन्मुक्ति दिएको आरोप लागेका ललितपुर जिल्ला अदालतका न्यायाधीश भीम आत्रेय न्यायपरिषद्को कारबाहीमा परिसकेका छन् भने काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतकुमार बस्नेतमाथि छानबिन चालू जारी छ ।

श्रम मन्त्रालयले भनेअनुसार नै अनुमतिपत्र दिइएको हो
भरतराज पौडेल
प्रवक्ता, परराष्ट्र मन्त्रालय
श्रमिकलाई कुनै पनि शुल्क नलाग्ने गरी श्रम मन्त्रालयको पत्रअनुसार भिसा सेन्टरको अनुमतिपत्र गत हप्ता जारी गरिएको हो । श्रमिकको सबै शुल्क रोजगारदाताले व्यहोर्ने निश्चितता कतारले गरेको छ ।

प्रतिक्रियालाई सहमतिका रूपमा अर्थ्याउन मिल्दैन
नारायण रेग्मी
प्रवक्ता, श्रम मन्त्रालय
श्रमिकमाथि कुनै पनि शुल्क लागाउन नपाइने विषय श्रम मन्त्रालयको मुख्य सरोकारको विषय हो । यसै आधारमा मन्त्रालयको प्रतिक्रिया पत्रमार्फत परराष्ट्र मन्त्रालयलाई पठाइएको थियो, जुन सार्वजनिक पनि भइसकेको छ । त्यसलाई भिसा सेन्टर खोल्न दिइएको सहमतिका रूपमा अथ्र्याउन मिल्दैन ।

मलेसिया सिन्डिकेटको अर्को रूप
विमल ढकाल, पूर्वअध्यक्ष, वैदेशिक रोजगार संघ
हिजोको दिनमा मलेसिया जाने कामदार बायोमेट्रिक नामको सिन्डिकेटबाट ठगिएका थिए । अहिलेकोे क्युभिसी त्यसैको अर्को रूप हो । व्यवस्थापनमा रहेकाहरूले निश्चित शुल्क उठाउने भन्दै सार्वजनिक रूपमा बोल्दै हिँडेका छन् । सरकारले वैदेशिक रोजगारीको प्रक्रियाका लागि विभिन्न संस्थालाई अनुमतिपत्र दिएको छ । तर, भिसा सेन्टरको विषय कतारको हकमा सीमित व्यवसायीको एकाधिकार रहने गरी अगाडि बढाउन खोजिएको छ ।

नोटः यो समाचार नयाँ पत्रिकाको लागि गोपाल साउदले लेखेको समाचार लिइएको हो ।

 


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...