Saturday 16th May 2026

न खाने खर्च, न बाबुआमाको साहरा, डाक्टर बन्ने छ चाहना


तितोपाटी – चिसोले मुख सुनिएको छ ।  यो जाडो मौसममा  शरीरमा न्यानो कपडा छैन । चिसो सिरेटोमा खाली पैतला हिँड्छन् । हात खुट्टा फुटेर घाउ हुन थालेका छन् । पुरै शरीर कलेटी परेको छ । नाकभरी  सिंगान छ । बग्दै जाँदा त्यही सिंगानले घाउ पारेको छ । बेलामा खानु छैन । बस्ने बास समेत राम्रो छैन ।  साँघुरो र चिसो  कोठा, अर्को कोठा भत्केर जोखिमपूर्ण बनेको छ । त्यही चिसो भुँईमा फाटेको गुन्द्री ओछ्याएर सुतेका हुन्छन् ।  अभिभावकका नाममा मावली घरकी  डाँडामाथीको जुन जस्तै बनेकी ७५ वर्षीया हजुरमा मात्र छन् । उनी पनि विरामी छन् । उनकै उपचार र बिहान बेलुकाको जोह गर्न मुस्किल छ ।

आय श्रोत भनेको केवल तिनै आमाको बृद्धा भत्ता हो । उनै हजुरआमा खाने कुराको जोह गर्न लौरो टेकेर गाउँमा माग्न जान्छिन् । उनै बृद्धा हजुरआमाले गाउँबाट कति बेला के ल्याइदिन्छिन् भन्दै आँखा उतै तिर लगाएर बसेका हुन्छन् तीन बालबालिकाहरु ।

तिनै बालबालिकामध्येका  सबैभन्दा जेठा १२ वर्षीयलाई सोधियो–बाबु कति सम्म पढ्ने मन छ ? ‘डाक्टर कि इञ्जिनियर बन्ने मन छ’ उनको जवाफ आयो ।  उनकी १० वर्षीया बहिनीलाई पनि त्यही प्रश्न सोधियो । ‘कक्षा १२ सम्म पढ्ने मन छ । उनकी ७ वर्षीया वहिनीलाई भने पढाई र विद्यालयबारे कुनै चासो छैन ।

हुर्केका जेठा बालक कक्षा ३ सम्म पनि नियमित स्कुल जान सकेका छैनन् । असाहय र बेसाहरा भएका कारण विद्यालयले काँचो कपडा त दियो तर सिलाउने उपाय नभएर थन्काएर राखेका छन । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ७  वाग्लास्थित एउटा परिवारका तीन स–साना बालबालिकाको बिचल्लीको कथा हो यो ।

वाग्लाको विकट र एक्लो घरमा  ७५ वर्षीया हेलकुमारी घिमिरे क्षेत्री आफैंलाई पालनपोषण गर्ने छोराछोरी नहुँदा बिचल्लीमा छन् । बृद्धा  र बिरामी हजुरआमा हेलकुमारीका दुई छोेराहरुको सानैमा मृत्यु भएको थियो ।

उनका श्रीमानको मृत्यु भएको पनि १९ बर्ष भयो । एकल महिला जसको सम्पत्तिका नाममा बास मात्रै छ । आफुलाई पाल्ने भनेको एउटी छोरी लक्षिमा थिईन् । जसको  छिमेकी लिलाबहादुर खनालसँग  झण्डै १५ बर्ष अघि विवाह भएको थियो  ।

स–साना ती सन्तानको शरीरमा गाउँवासीले दयाले दिएका फाटेका कपडा छन् । उनीहरु आमाको तस्वीर हेर्छन् । सुनका गहना र कुनै फिल्मकी नााियकाको जस्तो सिंगार–पटारमा सजिएकी आमाको तस्विर देख्छन् र भक्कानो छाड्छन् । ह्ुन पनि आमाको लवाईखवाई र सौन्दर्य पनि फिल्मकी नायिकाको भन्दा कम छैन ।

खास त सुरुमा बाबुले छाडेका होइनन् । भारतमा आफु खुशी स्वतन्त्र जिवन जिउन हिडेकी श्रीमतीलाई दुई बर्ष कुरेर बसेका थिए बाबुले । तर उनले आशको निरासा पारेपछि उनले पनि अर्को विवाह गरेर उतै भारततिर लागे । त्यस पछि बाबुआमा दुबैले गत चार बर्षदेखि मावली घरकी उनै बृद्धा र बिरामी हजुरआमाको साथमा छाडेर बेवास्ता गर्दै आएका छन् ।

खुल्ला दिशामुक्त जिल्ला र धुर्कोट गाउँपालिका रहेको हेलकुमारीको बोराले बारेको शौचालय छ । घर–घरमा धारा अभियान छेडेको धुर्कोट गाउँपालिका तर उनको घरमा धारा छैन । उनी बढो मुस्किलले ओरालोमा लौरो टेकेर पानी ल्याउन जान्छिन् । घर–घरमा उज्यालो अभियान पनि छेडिएको छ । तर उनको घरमा बत्ति छैन । उनको अवस्थाबारे आफुलाई  पहिलोपटक सञ्चारकर्मी पुगेर मात्र थाहा भएको वडाध्यक्ष हिमप्रसाद पन्थीले बताए ।

उनले पठनपाठन, विद्युत र धाराको पानी अबको एक महिनामा पुरा गराईदिने प्रतिबद्धता जनाए । उनीहरुको अवस्थाबारे धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको समेत ध्यानकृष्ट गराईएको छ ।  छिमेकी पुष्पाञ्जली घिमिरे र उनकी हजुरआमा उनीहरुको अवस्था देखेर गहभरी आँशु पार्दै उनीहरुको उद्धारका लागि सबैसँग सहयोगको अपिल गर्छिन् । अरुको घरमा घाँस काटेर पेट पाल्ने भएका मधुलाई चोरीको आरोप लगाउँदै गाउँवासीले कुट्छन् । उनी रुँदै भन्छिन्ः ‘मैले कसैको मोवाईल चोर्दै नचोर्दा पनि मलाई चोर भनेर कुटे ।’ भोकाएर तीन नातिनातिना रोई रहन्छन् । बृद्धा हजुरआमा निर्मोही बनेर गाली गर्न विवश हुन्छिन् ।

‘बाबु नानीहरु माछामासु कहिले खान्छौं ?’ भनेर सोध्दा हजुरआमाले भत्ता बुझ्ने बेलामा ल्याउनुहुन्छ र खान्छौं भन्ने जवाफ दिए । स्कुलमा साथीहरुले कोही नभएका गरिब भनेर हेप्ने गरेका कारण स्कुल जान मन नलाग्ने उनीहरु बताउँछन् । भारतमा रहेकी आमासँग टोलिफोनमा सम्पर्क राख्दा उनले महिनाको ८ हजार आईसी तलब खाने गरेको बताइन् ।

-रातोपाटी बाट


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...