Saturday 16th May 2026

खाडीका नेपाली गोपालहरू


तीतोपाटी- गोठमा छन्, आठ सय गाई। बिहानै तिनलाई स्नान गराइन्छ। दुई घण्टा लगाएर मेसिनले दुहिन्छ। यसरी दुहेको १० हजार लिटर दूध दैनिक सीधै फ्याक्ट्रीमा पुग्छ। र, शुद्धिकरण भएपछि दूध, दही, मही, घिउका फरक–फरक प्याकेट तयार गरिन्छ। गाईपालनको यो अत्याधुनिक गोठ (फार्म) नेपालको होइन, संयुक्त अरब इमिरेट्स (युएई)को हो। राजधानी अबुधाबीबाट ३ सय किमि टाढा रहेको रस–अल–खैमहको दिगदागामा यो फार्म छ। तर, यसमा खट्ने १८ जना कामदार नेपाली नै छन्।

उनीहरूको दैनिकी बिहान ४ बजेबाट सुरु हुन्छ, साँझ अबेरसम्म चल्दछ। सूर्य केसी एक्ला नेपाली प्राविधिक हुन्। उनी फ्याक्ट्रीमा दूधलाई पास्चाराइजेसन (शुद्धिकरण) गर्छन्। अरु नेपाली कामदार गाईको हेरचाह गर्छन्। तीमध्ये रामप्रकाश मुरौ गाईलाई दिनहुँ सबेरै नुहाइदिन्छन्। दुहुनुअघि हरेक गाईलाई अनिवार्य नुहाइन्छ। आठ सय गाईको स्नानका लागि रामप्रकाशसँगै एकजना बंगलादेशी साथी पनि छन्।

नुहाएका गाई दुहुन खट्ने व्यक्ति हुन्, कपिलवस्तु चन्द्रौटाका शिव केसी। दंग पर्दै केसीले भने, ‘हलिस्टाइन र जर्सी जातका गाई छन्। हामी नेपालमा टुक्रुक्क बसेर हातले दुहुन्थ्यौं तर यहाँ मेसिनले आठ सय गाई दुहिन्छ, जम्मा दुई घण्टामा।’ नेपालमा आठ सय गाई दुहुने काम पाएको भए आफू अरबमै नआउने बताउँछन् केसी।

शुद्धिकरणपछि दूध प्याकिङ गर्ने काम चाहिँ ललित खड्का मगर गर्छन्। कमल केसी प्याकिङ गर्नुअघिको शुद्धिकरण व्यस्त हुन्छन्। फरक तौल र आकारमा प्याकिङ गरेर बेच्न तयार दुध, दही, मही र घिउलाई हिक्मत, तुलसीराम र रतन कुमारलगायतको टोलीले बजारमा पठाउँछ।

गाईलाई चाहिने दाना उत्पादन गर्ने काममा पनि नेपाली नै छन्। उनीहरू फार्ममा चाहिने घाँस रोप्ने, काट्ने, खुवाउने र गोठ सफा गर्ने काम समेत गर्दछन्। ‘गाई फार्ममा काम गर्नु परेपछि गोबर पनि सोहोर्नै पर्‍यो नि’, रामप्रकाशले भने, ‘फरक के छ भने यहाँ हातले सोहोर्नु पर्दैन’ कम्पनीको आवश्यकताअनुसार केही नेपालीले रातमा पनि काम गर्छन्। दिन होस् या रात, काम अवधि चाहिँ ८ घण्टा नै हो। त्यसभन्दा बढी काम गरे अतिरिक्त पैसा पनि पाउँछन्।

शिव केसी नेपालमा पनि खेतीकिसानी नै गर्थे। प्रविधि र प्रणालीमा यति धेरै गाई पालन गरेको चाहिँ उनले पहिलोपटक यूएईमै देखे। काम पनि यहीं आएर सिके। जीवनको उर्जाशील समय परदेशमा गाई हेर्दै बित्यो भनेर बेलाबेला उनीहरूलाई पछुतो पनि लाग्छ। बेलाबेला यहीं काम गरेर घरजग्गा जोडेको र छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सकेकोमा सन्तोष पनि लाग्छ। १२ वर्ष यतै बिताएका सूर्य केसीले भने, ‘कपिलवस्तुबाट काठमाडौं बसाइँ सरें। कलंकीमा जग्गा किनें, घर बनाएँ। छोराछोरी पढाइरहेको छु।’

यूएईको गाईगोठबाट कमाएको पैसाले धेरैले गाउँनजिकैको सुगम बजारमा जग्गा जोडेका छन्। पक्की घर बनाएका छन्। वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सलाई उत्पादनशील कार्यमा खर्च गर्न सरकारले प्रोत्साहन नगरेको केसी बताउँछन्। भन्छन्, ‘५० डिग्रीको गर्मीमा अरबी गाईको गोबर सोहोरेर देश धान्ने गोठालाको व्यथा सरकारले कहिले सुन्ने ?

साभार- अन्नपुर्ण


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...