Thursday 28th March 2024

धरहरा पुनर्निर्माण कार्य शुरू भयो, कस्तो बन्दैछ त धरहरा ?


तितोपाटी – विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी-रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा पुनर्निर्माणको काम सुरु भइसकेको र त्यसको जग हाल्ने कामका लागि खन्ने काम सुरु भएको छ ।

धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिनेछ । केही निर्माण उपकरण पनि त्यहाँ राखिने र त्यसका लागि सेनाले टुँडिखेल प्रयोगको अनुमति दिइसकेको प्राधिकरणले जनाएको छ । त्यहाँ अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नेछन् । प्राधिकरणले स्थानीय समुदायले जात्राको समयमा धरहराको परिसर रत्यहाँको बाटो प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । प्राधिकरणले त्यसका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सुन्धारामा पानी आएमा विहानको समयमा पुजाआजाका लागि विना रोकावट प्रवेश गर्न दिन पनि स्थानीयको माग छ । प्राधिकरणले त्यसमा पनि सकारात्मक जवाफ दिएपछि पुनर्निर्माणको काममा अवरोध हुने अवस्था हटेको छ ।

‘त्यो क्षेत्रमा टेलिकमका अन्डरग्राउन्ड तारहरुको समस्या रहेछ, सुस्तरी संवेदनशील ढंगबाट हामी काम गरिरहेका छौं,’ मानन्धरले भने,’सबै समस्या सुल्झाएर निर्माणको गति तीव्र बनाउँदैछौं ।’

कस्तो बन्दैछ त धरहरा ?

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।

अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको मानन्धरले बताए । धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन गरिने छैन । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको मानन्धरले बताए।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्रि भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्ट लगायतका सुविधाहरु पनि हुनेछन् । सुन्धारालाई थप आकषिर्त बनाइने भएको छ । सुनबाट बनेको सुन्धारामा मानिसले मज्जा लिन सक्ने बताइएको छ । धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...