Friday 15th May 2026

अबको १ महिना पछि श्रम इजाजत रि-इन्ट्री सुविधा अनलाइनबाटै हुने


तितोपाटी – विदेश जाने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा दोहोर्‍याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए । ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए । उनकाअनुसार अब अनलाइनबाटै आवेदन दिएर विमानस्थलबाटै प्रमाण्किरण गरेर उड्न सकिने व्यवस्था लागू गर्न सिस्टम तयार भइरहेको बताए । ‘रि-इन्ट्रीका लागि पनि कार्यालय नै पुग्नुपर्ने झन्झटिलो व्यवस्था हामी हटाउँदैछौं, कामदारलाई अनलाइनबाटै रि-इन्ट्री गर्ने व्यवस्था कार्यान्यवन गर्न अन्तिम तयारीमा जुटिरहेका छौं,’ उनले भने ।

सरकारले श्रम स्वीकृति नवीकरण विदशेस्थित नेपाली नियोगहरुबाट पनि गर्न सकिने गरी प्रस्ताव गरिसकेको छ । यसका लागि वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषदले पास गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार यो व्यवस्थासहितको विधेयक अब संसदमा दर्ता हुनेछ । यो ऐन पारित भएपछि नियमावलीमा संशोधन गरेर सरकारले विदेशबाटै श्रम स्वीकृति दिने प्रक्रिया थाल्नेछ ।

एक कामदारले कम्तिमा दुईपटकसम्म विदेशमा नै श्रम रि-इन्ट्री गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यो कानुन औद्योगिक र घरेलु दुबै कामदारको हकमा लागू हनेछ । मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार वैधानिक रुपमा विदेश पुगेकाको हकमा दुईपटकसम्म सम्बन्धित देशको दूतावासबाट श्रम रि-इन्ट्री गर्न सकिने व्यवस्था गर्न लागिएको हो । नियमावली संशोधनपछि आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि-इन्ट्रीको व्यवस्था गर्नेछ । ‘दुईपटक भन्दा बढी रि-इन्ट्री दिँदा कामदार स्वेदेश नै फर्किन नचाहाने पनि हुन सक्छ । त्यसैले सबै पक्षलाई हेरेर यस्तो प्रस्ताव गरिएको हो,’ ती अधिकारीले भने ।

नेपाल फर्किएर रि-इन्ट्री गर्न चाहानेहरुलाई भने अब अनलाइन सिस्टमबाट रि-इन्ट्री गर्ने सुविधाका लागि करिब एक महिना मात्रै समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...