Friday 18th September 2026

कुवेतमा नेपालीका लागि निःशुल्क स्वास्थ्य शिविर, करिब १५० जनाले सेवा लिए


नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
राजदूतावासका अनुसार शिविरमा निःशुल्क रूपमा ब्लड सुगर, कोलेस्ट्रोल तथा रक्तचाप परीक्षणका साथै चिकित्सकसँग स्वास्थ्य परामर्शको व्यवस्था गरिएको थियो। उक्त शिविरबाट कुवेतमा रहेका करिब १५० नेपाली लाभान्वित भएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल ले स्वास्थ्य शिविरको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए। उनले स्वस्थ जीवनशैली अपनाउन तथा आफ्नो स्वास्थ्यप्रति सचेत रहन सहभागीहरूलाई आग्रह गरेका थिए। साथै, कुवेतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरी आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
राजदूत लम्सालले स्वास्थ्य शिविर सफल बनाउन निःशुल्क सेवा उपलब्ध गराउने मेट्रो मेडिकल ग्रुप र मेट्रो मेडिकल केयर खेतान का चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे। शिविर व्यवस्थापनमा सहयोग पुर्‍याउने गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेत, रोयल गाउँले ग्रुपलगायत विभिन्न संस्था र व्यक्तित्वलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो।
राजदूतावासका अनुसार स्वास्थ्य शिविरमा सहभागी हुन इच्छुक नेपालीहरूले अनलाइनमार्फत अग्रिम दर्ता गरेका थिए। अस्पताल तथा राजदूतावासका कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न भएको बताइएको छ।
नेपाली राजदूतावास कुवेतले प्रवासी नेपालीहरूको स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

असोज २ । सिराहा र धनुषालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण सुरु भएको करिब १५ वर्षपछि अन्ततः सञ्चालनको…

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि…

प्रतिकृयाहरू
...