Saturday 8th August 2026

जनवरी १ मा तमू ल्होछार मनाइँदै, अन्य कार्यक्रम नजुधाउन तमू समाज कुवेतको आग्रह


कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेत ले तमू (गुरुङ) समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व तमू ल्होछार आगामी जनवरी १, २०२७ (पौष १७ गते, शुक्रबार) विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ।

“गुरुङ जातिको मौलिक पहिचान, जातीय उत्थान र एकताका निम्ति सम्पूर्ण तमू एक हौँ” भन्ने मूल नाराका साथ एक दशकभन्दा लामो समयदेखि कुवेतमा सक्रिय रहँदै आएको तमू समाज कुवेतले यस वर्षको ल्होछार विशेष उत्साहका साथ मनाउन लागेको समाजकी अध्यक्ष रञ्जना गुरुङ ले जानकारी दिनुभएको छ।

तमू (गुरुङ) समुदायको परम्परागत ल्हो कोर (वर्ग चक्र) अनुसार हरेक वर्ष पौष १५ गतेदेखि पुरानो ल्होको अवधि समाप्त भई नयाँ ल्होको प्रारम्भ हुने जनविश्वास रहेको छ। यस वर्ष ‘त’ ल्हो (घोडा वर्ग) को समापन भई ‘ल्हु’ ल्हो (भेडा वर्ग) को शुभारम्भ हुने भएकाले नयाँ ल्होलाई स्वागत गर्दै पर्व मनाउने तयारी गरिएको जनाइएको छ।

ल्होछारका अवसरमा ज्येष्ठ तथा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, गुरुङ समुदायका मौलिक सांस्कृतिक नृत्य तथा झाँकीहरू प्रस्तुत गर्ने, परम्परागत खेलकुद सञ्चालन गर्ने तथा आपसी सद्भाव र खुसीयाली साटासाट गर्ने कार्यक्रमहरू रहनेछन्।

तमू समुदायको मौलिक परम्परा, संस्कृति, पहिचान तथा सामाजिक एकतासँग प्रत्यक्ष जोडिएको यस महत्वपूर्ण पर्वको तयारी तीव्र रूपमा भइरहेको जनाउँदै तमू समाज कुवेतले कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था तथा सामाजिक संगठनहरूलाई जनवरी १ का दिन अन्य कार्यक्रम नजुधाइदिन अग्रिम अनुरोध गरेको छ।

समाजले तमू ल्होछारलाई कुवेतस्थित नेपाली समुदायबीच सांस्कृतिक सद्भाव, आपसी एकता र समुदायिक सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा लिन सबैमा आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

हरेक दिन उसिनेको अण्डा खानु अधिकांश मानिसका लागि स्वस्थकर मानिन्छ। अण्डामा उच्च गुणस्तरको प्रोटिन, भिटामिन तथा खनिज तत्व प्रशस्त मात्रामा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी वकिल टोड ब्लाञ्च अमेरिकी महान्यायाधिवक्ता (Attorney General) पदमा साँघुरो मतान्तरले पुष्टि भएका छन्। सिनेटमा…

कुवेतस्थित नेपाली समुदायमाझ लोकप्रिय सांगीतिक कार्यक्रम निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु भएको छ। आयोजकका अनुसार उत्सवको चौथो संस्करण आगामी…

प्रतिकृयाहरू
...