जन–जागृति युवा समाज कुवेतले उपचारका लागि आर्थिक अभाव झेलिरहेकी नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका–१ निवासी ५५ वर्षीया याङ्जोम तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
पीडितलाई उपचारमा केही राहत पुग्ने उद्देश्यले संस्थाका सहयोगी तथा मनकारी सदस्यहरूबाट संकलित रकममा संस्थाले थप सहयोग गरी नेपाली रुपैयाँ ५० हजार (रु. ५०,०००) बराबरको १०१.८५० कुवेती दिनार (केडी) सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको हो।
याङ्जोम तामाङको मेरुदण्डमा गम्भीर समस्या देखिएपछि उहाँ हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर, महांकालमा उपचाररत हुनुहुन्छ। आर्थिक अवस्था कमजोर रहेको तथा थप उपचारका लागि आवश्यक रकमको अभाव रहेको जानकारी प्राप्त भएपछि संस्थाले सहयोग उपलब्ध गराएको जनाएको छ।
यसैबीच, मानव सेवाप्रति सधैँ प्रतिबद्ध जन–जागृति युवा समाज कुवेतले यसअघि गत जुन महिनामा पनि कुवेतमा रोजगारी गुमाएकी एक नेपाली महिला श्रमिकलाई स्वदेश फर्किन आवश्यक हवाई टिकट खर्च सहयोग गरेको थियो।
संस्थाका अध्यक्ष रामबहादुर योन्जन तामाङका अनुसार समाजले आगामी दिनमा पनि समस्यामा परेका नेपालीहरूलाई आफ्नो क्षमताअनुसार सहयोग र साथ प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।