बन्दना घिमिरे – लघुकथाकार ललिता दोषीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ”धाईआमाको आँसु” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।
साहित्यका सबैजसो विधाहरुमा कलम चलाउनुहुने साहित्यकार दोषीसँग दुईचार पटक सात्क्षात्कार हुने मौका मिलेको छ ।उहाँमा सरल,नम्र र मृदुभाषी मिजास मैले पाएकी छु ।अग्रजलाई सम्मान र अनुजलाई माया गर्ने उहाँको बानीलाई म हृदयदेखिनै नमन गर्दछु ।
साहित्यकार ललिता दोषीको वास्तविक नाम ललिता गजुरेल, खरेल हो । पति टेकबहादुर खरेलसँग वैवाहिक बन्धनमा बाँधिनुभएकी साहित्यकार ललिता दोषीको जन्म पिता स्वर्गीय कुलबहादुर गजुरेल तथा माता स्वर्गीय सूर्यकुमारी गजुरेलका सुपुत्रीको रुपमा २०२५ /०७/१६ गते इमाडोल, ललितपुरमा भएको हो । हाल बुध्दनगर, काठमाडौंमा स्थायी मुकाम बनाउनु भएकी साहित्यकारले नेपाली साहित्यमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नुभएको छ ।
साहित्यकार दोषीका कथा,कविता,गीत,बालगीत,बालकाव्य,हाइकु,बालकथा,बालकविता, नाटक, लोककथाहरुका सङ्ग्रह साथै उपन्यास, बालउपन्यास गरि करिब तीन दर्जन कृतिहरु प्रकाशित छन् भने लघुकथा संङ्ग्रह ”महान कविज्यू” हालसालै विमोचित भएको छ ।
नेपाली साहित्यका दुई दर्जनभन्दा बढी प्रतिष्ठानहरुमा संलग्न रहनुभएकी साहित्यकार तीन दर्जन भन्दा बढी सम्मान एवम् दुईदर्जन भन्दा बढी पुरस्कार तथा कदरपत्रबाट सुशोभित हुनुहुन्छ ।उहाँका सबै विधाका गरेर एक दर्जन बढी बालरचनाहरु प्राथमिक र निम्न माध्यमिक तहका विद्यालय पाठ्यक्रममा समावेश भएका छन् । उहाँका साहित्यिक रचनाहरु अनलाईन तथा राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा समेत पढन पाईन्छ ।
समाजमा यत्रतत्र छरिएर रहेका विषयहरुलाई टपक्क टिपेर चोटिला लघुकथा लेख्ने शिल्प लघुकथाकार ललिता दोषीमा रहेको मैले पाएकी छु ।उहाँका लघुकथाहरु देख्ने वित्तिकै पढने गर्छु । हालै विमोचित ३९ लघुकथाहरुको संङ्ग्रह ”महान कविज्यू ” मा साहित्य क्षेत्रमा रहेका विकृति, मानव जीवनका पिडा, निराशा जस्ता विषयवस्तुमाथि व्यङ्ग्य तथा सकारात्मक परिवर्तन उन्मुख विद्रोह पाईन्छ ।
प्रस्तुत लघुकथा ”धाईआमाको आँसु” मा मुख्यपात्रको रुपमा धाईआमा र रत्न छन् भने समा,दिपा,गीता र शान्ता गौण पात्रको रुपमा आएका छन् ।लघुकथा यसरी शुरु गरिएको छ ।”आफ्नै छिमेकी रमेशको छोराको व्रतबन्ध भएकाले वृद्ध धाईआमा स्वाँस्वाँ गर्दै भीक्षादान दिन आइन् । एउटै लाइनमा उभिइरहेका आफ्नै हातले हुर्काइएका विवाहिता छोरीहरूलाई तलदेखि माथिसम्म हेरिन् । सुन्दर गहना र कपडाले झकिझकाउ समा, दीपा, गीतासम्म पुग्दा उनको मन खुसीले पुलकित भयो । शान्तामा पुगेर आँखा टक्क अडियो । उनमा निराशता, कौतूहलको जन्म एकैचोटि भयो ।उनी धर्मराउँदै लाइनबाट बाहिर निस्किएर रत्नलाई तान्दै भनिन्, “मेरी शान्ता आँखामा राखे पनि नबिझाउने, आफ्नै गाँस काटेर अरूको पेट भर्ने मानौँ दधिचिजस्तै थिई । त्यस्तालाई उसका बाबुआमाले आगोमै धकेलेछन् नि रत्ने, शिशिरको रूखजस्तै फुङ्ग भइछ ऊ । धेरै पढेकी थिई पो भन्थे दुलाहाको दर्जा के रहेछ हँ ? अनि अरूका दुलाहाका दर्जा नि ?’’
रत्नका आँखाहरू पनि सबैमा छरिएर शान्तिमा गएर रोकिए ।
धाईआमाले कड्किएर भनिन्, “हैन मोराहरू ! तिमीहरूका दरसन्तानलाई आफ्नै हातले हुर्काइदिएँ , आज यति सानो कुरा सोध्दा पनि बताउँदैनन् गाँठे !” रत्नले नम्र हुँदै सानो स्वरमा धाईआमाको कानैनिर मुख लगेर भने, “कहाँ आमा पनि मान्छेको भीडमा दर्जासर्जा सोध्नुहुन्छ भन्या ?’‘
उनको फुङ्ग उडेको अनुहार अरूको भन्दा धेरै फिक्का पहिरन देख्दा मनमा औडाहा भयो अनि के गरौँ त ? ल छिटो भन् के हो उनको लोग्नेको दर्जा ?’’रुन्चे स्वरमा धाईआमाले सोधिन् ।
समाको लोग्ने जग्गा दलाली, गीताको लोग्ने भन्सारको पिउन, दीपाको लोग्ने व्यापारी, शान्ताको लोग्ने प्रशासन अधिकृत हुन् रे क्या !”
धाईआमाले दुःखित हुँदै आँखाबाट आँसु खसाल्दै भनिन्, “च्व ! च्व ! हैन, रत्ने शान्तिका बाबुआमाले त्यो दलालीसलाली, पिउनसिउन ,व्यापारीस्यापारी दर्जा भएको केटा पाएछन् त गाँठे ! त्यो अधिकृतलाई दिएर जिउँदै मारेछन् छोरीलाई हैन तँ नै भन् त ? ’’
धाईआमाको कुराले रत्न झसङ्ग झस्किए । हो र होइनको उत्तर दिन सकेनन् किनकि रत्न पनि अधिकृत नै थिए ।लघुकथा यसरी समापन गरिएको छ ।
करिब २९० शब्दमा बुनिएको लघुकथा सरल छ । सलल बगेको छ । भाषा बोधगम्य छ । आफ्नै हातले हुर्काएका छोरीहरु मध्ये सबैभन्दा सोझी र सक्षम छोरीको अनुहार फुङ्ग उडेको देखेर धाईआमाको आँखामा आँसु आएकोले शिर्षकले सार्थकता पाएको छ । धन, सुन र गहनामै प्रतिष्ठा देख्ने नेपाली समाजको प्रवृत्तिमाथि व्यंङ्ग्य गरिएको लघुकथामा प्रतिध्वन्यात्मकता रहेको छ ।
लघुकथाको उदेश्य नेपाल सरकारका प्रशासन तर्फका अधिकृत भन्दा जग्गा दलाली, भन्सारको पियन, व्यापारीलाई पैसा धेरै कमाउने गरेकोले समाजले उच्च दर्जा दिने गरेको तर्फ कथाले ओैंल्याएको छ ।
सिध्दहस्त साहित्यकार लिखित लघुकथामा पनि केही कमजोरीहरु रहेका छन् । लघुकथामा केही कथ्य बिस्तार भएको छ ।शान्ता भन्ने पात्रको बर्णनमा आएका शब्दहरु नराख्दा पनि कथाको आशय बुझ्न सकिन्छ जस्तो लाग्छ मलाई । ”त्यो अधिकृतलाई दिएर जिउदै मारेछन् छोरीलाई हैन तँ नै भन् त ?” भन्ने वाक्यमा नै लघुकथा समापन गरिएको भए खुला समापन भएर अझ राम्रो हुनेथियो भन्ने मेरो पाठक मनले भनेको छ ।
अन्त्यमा साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार ललिता दोषीको साहित्यिक यात्रा अझ प्रज्वलित हुदै जाओस् भन्दै सुस्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे
हरिवन -१०,सर्लाही
हाल म.थि.न.पा.-३,भक्तपुर
लघुकथा : धाईआमाको आँसु
ललिता ‘दोषी’
आफ्नै छिमेकी रमेशको छोराको व्रतबन्ध भएकाले वृद्ध धाईआमा स्वाँस्वाँ गर्दै भीक्षादान दिन आइन् । एउटै लाइनमा उभिइरहेका आफ्नै हातले हुर्काइएका विवाहिता छोरीहरूलाई तलदेखि माथिसम्म हेरिन् । सुन्दर गहना र कपडाले झकिझकाउ समा, दीपा, गीतासम्म पुग्दा उनको मन खुसीले पुलकित भयो ।
शान्तामा पुगेर आँखा टक्क अडियो । उनमा निराशता, कौतूहलको जन्म एकैचोटि भयो । भर्खर मात्र पुलकित समुद्रजस्तै मन कणजस्तै भई खुम्चियो ।
उनी धर्मराउँदै लाइनबाट बाहिर निस्किएर रत्नलाई तान्दै भनिन्, “मेरी शान्ता आँखामा राखे पनि नबिझाउने, आफ्नै गाँस काटेर अरूको पेट भर्ने मानौँ दधिचिजस्तै थिई । त्यस्तालाई उसका बाबुआमाले आगोमै धकेलेछन् नि रत्ने, शिशिरको रूखजस्तै फुङ्ग भइछ ऊ । धेरै पढेकी थिई पो भन्थे दुलाहाको दर्जा के रहेछ हँ ? अनि अरूका दुलाहाका दर्जा नि ?’’
रत्नका आँखाहरू पनि सबैमा छरिएर शान्तिमा गएर रोकिए । उनी धाईआमाले भन्न खोजेका आशय बुझेर पनि चुपचाप रहे ।
धाईआमाले कड्किएर भनिन्, “हैन मोराहरू ! तिमीहरूका दरसन्तानलाई आफ्नै हातले हुर्काइदिएँ , आज यति सानो कुरा सोध्दा पनि बताउँदैनन् गाँठे !”
रत्नले नम्र हुँदै सानो स्वरमा धाईआमाको कानैनिर मुख लगेर भने, “कहाँ आमा पनि मान्छेको भीडमा दर्जासर्जा सोध्नुहुन्छ भन्या ?’’
धाईआमाले रुन्चे स्वरमा भनिन्, ‘ उनको फुङ्ग उडेको अनुहार अरूको भन्दा धेरै फिक्का पहिरन देख्दा मनमा औडाहा भयो अनि के गरौँ त ? ल छिटो भन् के हो उनको लोग्नेको दर्जा ?’’
समाको लोग्ने जग्गा दलाली, गीताको लोग्ने भन्सारको पिउन, दीपाको लोग्ने व्यापारी, शान्ताको लोग्ने प्रशासन अधिकृत हुन् रे क्या !”
धाईआमाले दुःखित हुँदै आँखाबाट आँसु खसाल्दै भनिन्, “च्व ! च्व ! हैन, रत्ने शान्तिका बाबुआमाले त्यो दलालीसलाली, पिउनसिउन ,व्यापारीस्यापारी दर्जा भएको केटा पाएछन् त गाँठे ! त्यो अधिकृतलाई दिएर जिउँदै मारेछन् छोरीलाई हैन तँ नै भन् त ? ’’
धाईआमाको कुराले रत्न झसङ्ग झस्किए । हो र होइनको उत्तर दिन सकेनन् किनकि रत्न पनि अधिकृत नै थिए ।