साहुको ऋण तिर्न मुग्लानमा धाको मान्छे तिमी ,
के गर्दैछौ देशको माया छोडी गाको मान्छे तिमी ?
आउँदा जाँदा दोबाटो र द्यौरालीको झल्को मानी ,
सँधै भेट्छु सपनीमा टाढा भाको मान्छे तिमी ।
काठमाण्डौको गाडी चढी छुट्टीने त्यो बखतमा ,
छिटै आउँछु म भनी कसम खाको मान्छे तिमी ।
तिम्रो के छ थाहा छैन मेरो चाहिँ यो मनले ,
सँगै ज्युन सँगै मर्न नाता लाको मान्छे तिमी ।
कहिले काहीँ ओँशी पूर्णे भर रात अनिंदोमा ,
फेसबुक र भाईबरमा साथ पाको मान्छे तिमी ।
टहल आचार्य