” पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”
💜💜 केही पञ्चाङ्ग ❤ ❤
एउटा अगाडि एउटा पछाडि बोकेर टारियो ।
खोरिया ती पखेरो ढुङ्ग्यान बारी जोतेर टारियो ।
वास्तविक मान्छे हुनुको अर्थ यस्तै हुन्छ जीवन
भत्किएका कान्ला भरी खोटा किला ठोकेर टारियो ।
खोक्रो जिउ भोको पेट सुख्खा रोटी टोकेर टारियो ।
औँला पाए औँला नै निल्छ पापीले
जे पाइन्छ उही नै छिल्छ पापीले
परजीवी हो कि पर सत्ता हो यो ?
भने जस्तो नभए चिल्छ पापीले
हृदयको कुनामा खिल्छ पापीले ।
मधुर मधुर मुस्कान उनको हँसिलो मुहार
मोटोमोटो छोटो कद छ उनको रसिलो मुहार
प्रकृति मात्र होइन जीवन पनि रसाउँछ नै
बल भएका पाखुरी हृष्टपुष्ट कसिलो मुहार
परिआएका सबै नै टारिदिने जसिलो मुहार ।
तिमी जान्दछौ प्रिय नाचेर देखाऊ
हातमा सह भए साँचेर देखाऊ
सरल छैन गिन्दगी कठिन यात्रा
दबाएर भावना हाँसेर देखाऊ
टुक्रिएका सम्बन्ध गाँसेर देखाऊ ।
बाढी आयो खहरे नदी बन्यो खोला फेरियो
घर आगो लागे खरानी थुप्रो चोला फेरियो
परिवर्तनको घाउ नदुखेरै सताउने
कार्यकर्ता नेता बने अब त झोला फेरियो
दुर्गम ठाउँ सुगम बनेर गोला फेरियो ।
संसार डुल्दा नाम र जीवन दाममा भेटियो
भोको पेटको सहारा विदेशी ठाममा भेटियो
विवशताको पोल्टोमा परेपछि आशा लाग्छ नि
खोजेको ईश्वर चोखो मनले धाममा भेटियो
जिन्दगी भरको सुनौलो यात्रा माममा भेटियो ॥
मिहिनेतका दाना पसिना धारा घाममा पोखिए
जिन्दगीभरका समय सबै नै काममा पोखिए
समयको चक्रव्यूहमा घुम्ने मान्छे मात्र होइन
विछोडका वेदना अक्षर बनी खाममा पोखिए
सम्झना र याद उथलपुथल नाममा पोखिए ॥
तिम्रो पीडामा आँसु सँगै झरेको क्रन्दन बन्न सकूँ
शोभा संस्कार र संस्कृति शिरको चन्दन बन्न सकूँ
मनाऊँ पर्व ती हातको रक्षाबन्धन बन्ने छु म
वंशरक्षा सञ्चालनमा कुलको नन्दन बन्न सकूँ
पलपल फेर्ने श्वास प्रश्वासको स्पन्दन बन्न सकूँ ॥
जिन्दगीलाई ओल्टाई पल्टाई हेरेँ टुटेको देखियो
नातासम्बन्ध केलाई बताई हेरेँ छुटेको देखियो
नबुझेर हो कि मर्छु भन्ने थाहा पाएर गल्ती गर्छन्
सम्झनाका लहरमा भेल बाढीले चुटेको देखियो
मरिजाने चोलामा शत्रुहरू सबै जुटेको देखियो ।
सबैलाई माया गर्नु त्यो सेवा हुन्छ
बागमा पानी दिनु त्यहाँ मेवा हुन्छ
समायोजन गर्नुपर्छ जीवनमा
सहयोग एक अर्काको टेवा हुन्छ
स्वार्थले भरियो भने त्यो पेवा हुन्छ ।
स्वार्थमा डुबेका नियत सारा देखियो
साथी हूँ भन्नेको हृदय मारा देखियो
नियतीको निकासा कता लुकेको होला
धनी हो फुर्ती लगाउने पारा देखियो
बचाउनेले बचायो है भारा देखियो ।
दाइजो र अंश ममतामा चोट भेटियो
राष्ट्रघाती नेताका पोल्टामा भोट भेटियो
पैसाले किने पाइने है ? न्यायको सुगन्ध
समताका नारा, भ्रूणहत्या खोट भेटियो
अन्यायको दरबार कालो कोट भेटियो ।
हृदयको कुना कुना चर्केको बेलामा
अश्रुधारा निरन्तर दर्केको बेलामा
भो अब धेरै चाप्लुसी नदेखाऊ जाऊ
सहानुभूतिका बोली छर्केको बेलामा
आफ्नो श्वास आफैँलाई सर्केको बेलामा ।
छोरी पनि सन्तान हुन् अंश माग्छन्
घरमा छोरा चाहिने वंश माग्छन्
दिन चल्छ रात चल्छ बित्छ पल
आफ्नै सन्तान मार्न कंस माग्छन्
परिवर्तन नाममा ध्वंस माग्छन् ॥
बजाऊ कृष्ण मुरली त्यही सुरिलो धुन मनपर्छ
नक्षत्रमा चम्किने पूर्णिमाको उही पूर्ण जुन मनपर्छ
यही हो सिकाई कृष्णले पनि कृषि काम गरे हेर
कहिलेकाहीँ त हत्या दुष्ट कंसको खुन मनपर्छ
अन्यायको अन्त, न्याय चम्कियोस् तिम्रो गुन मनपर्छ ।
देवकी र वसुदेवलाई सुरक्षार्थ घेरियो हेर
फलामका जन्जिर र नेलले कडाले बेरियो हेर
दिन भन्ने कुरा लागेपछि बजाउँदो रहेछ बाजा
इमानदारिता देखाए कंसलाई पनि टेरियो हेर
लेखेको कुरा मेटिन्न केही गरी पनि हेरियो हेर ।
ममताको आँचलभित्र बेर्न बाँकी छ
आफ्नो सन्तान एक पल्ट हेर्न बाँकी छ
जब सकिन्छ प्रसव पीडा आमै जन्मिइन्
बाँचेको महसुस श्वास फेर्न बाँकी छ
छातीमाथि हात राखेर घेर्न बाँकी छ ।
सुखी जीवनको भिख त मागेको छु मैले
मुटुको काँडा कलेजोमा राखेको छु मैले
लाचारीपनाले विवश पारेपछि हाय
नताक्नुपर्नेको मुख नै ताकेको छु मैले
सहयोग गर्नेछन् भन्ने ठानेको छु मैले ।
सरे पो दुख्छ नसरे त गानो औषधी
गरिबीको सुरक्षा आफ्नो छानो औषधी
छ विडम्बना, लाग्छ धक्का ठाउँठाउँमा
एक पेट पाल्ने कमाई मानो औषधी
भोक मार्ने भए मुलाको चानो औषधी ।
पहुँचवालाहरू हो देशको लागि कमाइदेऊ है
सन्ततीलाई चाहिन्छ बोटबिरुवा जमाइदेऊ है
समयलाई दोष दिएर मुख फेर्न पाइन्न बुझ
बाढी पहिरो, भू-क्षयबाट जमिन थमाइदेऊ है
यही हो कर्तव्य तिम्रो यसैमा तिमी रमाइदेऊ है ।
दुईचार जना नेताजीलाई मैले पनि चिनेको छु
आवश्यकता हेरी हेरी रकम तिरी किनेको छु
चम्चेहरूले नै खाएको होइन र देशको माटो
को को छन् चाप्लुसीवादहरू पालैसित गिनेको छु
देशको हालत जनताको जीवनमा छिनेको छु ।
डाले घाँस रुख चढी खुर्काउँला साथी
पाठापठ्याङ्ग्री स्याहारी हुर्काउँला साथी
दिन बित्छ रात बित्छ, बित्दछ जीवन
आफ्नो मन हाँसीखुसी फुर्काउँला साथी
कहिलेकहिले हामी घुर्काउँला साथी ।
चरीलाई श्रावणे आहारा चारा छरेको छ
त्यही चारामा चरी आई नाचेर चरेको छ
सिकारीको डर छ टप्प टिपेर कप्प खान्छ
एक दिनको सुखको भान्सा हेर टरेको छ
भोलिबाट पुनः खोजी गर्ने चिन्ता परेको छ ।
हारिन्न जीवन कहिले आँसु झारी रुनाले बुझ
मनको पीडा शब्दबाट भित्र कुना धुनाले बुझ
बन्चराले काट्ने रुख साह्रो पर्यो भने कुँडिन्छ है
शब्दहरू नाचिरहेछन् तिमी साथ हुनाले बुझ
अबुझ वचनहरूले हृदयमा छुनाले बुझ ।
सविता के.सी. ❤ काठमाडौं ।