Wednesday 7th October 2026

गद्य कविताः नदी -मीरा ज्ञवाली


चञ्चल
चपलताको भावमा
शैल टाकुरामा
ढपक्कै ढाकिएको
श्वेत हिम
भाष्करको
स्वर्णिम स्नेह
प्रगाढालिङ्गनले
पुलकित
रोमाञ्चित भई
भरर्र हर्हराएका
श्रमजलको
थोपा थोपाको
सम्मिश्रणबाट
नि:सृत छ
नदी
कहिले
बुल्क्याहा बनेर
बुलिङ् देखाउँदै
कहिले
धीर
शालीन
निर्मलपनमा
सर्पिल
सर्कलमा रमाउँदै
पर्ण अनि
वृक्षका जरामा
धराका गरामा
अमृत छर्न
उद्यत छ नदी

सीमा रेखाका
कचिङ्गल मेटाउने
सर्पट
बनेको छ नदी

अन्जानमै बसेको
अाफ्नो गर्भभरिका
अथाह
अवशेषरूपि
नासो बोकेर
पारावारलाई सुम्पन
पहरा
छहरा
छाँगाबाट
हुत्तिदै
खोँचमा ठोकिँदै
हतारमा छ
सधैं सरिता

अाखिर
गन्तव्य एक
भाका अनेक
सुसेली हाल्दै
गड्गडाउँदै
प्रेमिल स्वरमा
सिन्धुराज पुकार्दै
लक्ष्य भेदमा
लम्किँदै छ
सरिता

चपलताको
सीमारेखा
सागरसँगको
मिलनमा
विलीन हुन्छ
नासो सुम्पिएर
चक्र फर्काएर
शून्यतामा
गगनमा हराएर
परिवर्तित नाममा
माइती
फर्किन्छ
सरिता
ऊर्जा दिन्छ
सविता
नयाँ रूपमा
बदलिन्छ
सरिता !!

-मीरा ज्ञवाली
बुटवल
लुम्बिनी प्रदेश ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...