काठमाडौं — नेपालमा आएको विनाशकारी ‘महाप्रलय’पछि त्रिशूली–३ए, चिलिमेलगायत जलविद्युत् आयोजनामा बेपत्ता कामदारको खोज तथा उद्धारमा नेपाली र अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले गरेको प्रयास सार्वजनिक भएको छ।
खोज तथा उद्धार अभियानमा संलग्न एक विदेशी भू–प्राविधिक विज्ञले सामाजिक सञ्जालमार्फत आफूले मात्र नभई नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना, नेपाल खोज तथा उद्धार टोली, भारतीय सेना तथा राष्ट्रिय विपद् प्रतिक्रिया बललगायत धेरै संस्था र व्यक्तिको संयुक्त प्रयासमा काम भएको बताएका छन्।
उनका अनुसार बिजुली आयोजनाका सुरुङ, घटनास्थल र नेपालभन्दा टाढा रहेका कार्यालयहरूबाट समेत विज्ञहरूको ठूलो टोलीले उद्धार अभियानमा सहयोग गरेको थियो। प्राविधिक चित्र, भू–प्राविधिक विश्लेषण, प्राविधिक छलफलदेखि प्रत्यक्ष रूपमा नेपाल आएर उद्धारमा सहभागी हुनेसम्मका काम भएको उनले उल्लेख गरेका छन्।
उनले बिजिसी इन्जिनियरिङ, नेपाल जियोटेक्निकल सोसाइटी, अरुप, नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना, भारतीय सेना तथा एनडिआरएफ, नेपाल टनेलिङ एसोसिएसन र सोसाइटी अफ नेपाली इन्जिनियर्स इन भिक्टोरियालगायत संस्थाप्रति आभार व्यक्त गरेका छन्।
विशेष रूपमा उनले नेपाल विद्युत् प्राधिकरणकी आशा खनाललाई समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा स्मरण गरेका छन्। उनका अनुसार खनालले लगातार समन्वय गर्दै उद्धारमा संलग्न सबैलाई जोडेर राख्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
उनले उद्धार अभियानमा संलग्न इन्जिनियर, पाइलट, मेसिन सञ्चालक, उद्धारकर्मी र पर्दापछाडि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। आफूलाई सहयोग गर्ने होटलदेखि आफ्नो सुरक्षित फिर्तीको प्रतीक्षा गर्ने पत्नी दिविनासम्मलाई उनले भावुकतापूर्वक सम्झिएका छन्।
नेपालका पीडित परिवार तथा समुदायलाई केन्द्रमा राख्दै उनले आफू नेपाल ‘मद्दत गर्न आएको’ बताएका छन्। नेपालको जनताको साहस, मर्यादा र मानवीयताप्रति गहिरो सम्मान बोकेर फर्किएको उनको भनाइ छ।
उनको सन्देशको सबैभन्दा मार्मिक अंश छ— ‘हामीले सुन्न नसकेका आवाजलाई खोज्न हार मानेनौँ।’ उनले अन्त्यमा लेखेका छन्— ‘जीवित धर्म। धेरै मानिस, एउटै संसार। ऐक्यबद्धतामा, साथमा।’
यो अभिव्यक्तिले महाप्रलयपछि उद्धार अभियान केवल सरकारी संयन्त्रको प्रयास नभई नेपालभित्र र बाहिरका विज्ञ, प्राविधिक, सुरक्षाकर्मी तथा स्वयंसेवीहरूको सामूहिक मानवीय प्रयास रहेको देखाउँछ।