शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै विषय पढाउने हो भने धेरै विश्वविद्यालय खोल्नुको औचित्य हुँदैन।
सिमरामा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा मन्त्री पोखरेलले विशिष्टीकृत विश्वविद्यालय निर्माण र विश्वविद्यालयको आफ्नै पहिचान विकासमा जोड दिएका हुन्। उनले संघीय सरकारअन्तर्गत रहेका १५ विश्वविद्यालयले आ–आफ्नो उद्देश्य र विशेषताअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे।
उनले अनियन्त्रित रूपमा सम्बन्धन विस्तार गर्ने र विद्यार्थी संख्या जथाभावी बढाउने प्रवृत्तिले व्यवस्थापन, परीक्षा सञ्चालन र समयमा नतिजा प्रकाशनमा समेत समस्या सिर्जना गरेको बताए। विश्वविद्यालयको शैक्षिक स्वायत्ततालाई स्थानीय आवश्यकता, राष्ट्रिय प्राथमिकता र श्रम बजारको मागअनुसार नयाँ तथा विशिष्ट कार्यक्रम विकास गर्न उपयोग गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले मुगु र बाराको शैक्षिक आवश्यकता एउटै हुन नसक्ने भन्दै स्थानीय बजार, संस्कृति, भूगोल र सामाजिक आवश्यकतालाई सम्बोधन गर्ने व्यावहारिक पाठ्यक्रम आवश्यक रहेको बताए। साथै, नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्न सक्ने विशेष कार्यक्रम विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।
विश्वविद्यालयको संख्या होइन, विशेषज्ञता, गुणस्तर, अनुसन्धान, प्रविधि र बजारअनुकूल शिक्षा उच्च शिक्षाको सुधारको आधार बन्नुपर्ने मन्त्री पोखरेलको भनाइ हो।