Thursday 19th November 2026

कविताः जाँतोको हातो -हरि शर्मा (गलकोटे कवि)


जाँतोमा हातो समाई सातु आमाले पिँधेको।
खाएर सातु कहिले काहीँ मेलोमा हिँडेको।
हलो र जुवा काँधमा बोकी ओराली झरेको।
खेतमा पुगी हलोले जोती रोपाइँ गरेको ।१।🌷🙏🌺

भनेको सुन्दा आश्चर्य लाग्ला पछाडि गएर।
त्यसैले मैले कविता लेखेँ मनमा लागेर ।
गाउँमा बसी ढिँडो र रोटी खाएका मानिस।
निरोगी भई बाँचेको देख्छु समय साक्षी छ ।२।🌷🙏🌺

दुध र घिउ दही र मही खाएको बलियो।
मासुको टुक्रा बियर साथ खाएको थलियो ।
भनेमा गाली अवश्य मिल्ला जमाना आजको ।
अमृत ठानी सुरुप्प प्युँने अनौठो चिज त्यो ।३।🌷🙏🌺

भकारीबाट झिकेर धान ढिकीमा कुटेको ।
चामल मकै फापर कोदो जाँतोमा पिसेको ।
चामलको भात मकैको आटो गहुँको रोटीको।
स्वादिलो मानी मिठ्याई मुख आफूले खाएको ।४।🌷🙏🌺

बालक काल सम्झना होला गाउँमा हुर्केमा ।
माथिको कुरा कथा झैँ होला शहर पसेमा ।
पूजाको दिन पुरेत बाजे आएर झ्यालमा।
कता छ रेखी भनेर सोध्दा भएर झसङ्ग ।५।🌷🙏🌺

आमाले झट्ट चामल झिकी दिनु भो मलाई।
पिसेर ल्याऊ हे मेरो छोरा नगरी ढिलाई।
चामल पिस्न भनेर मैले जाँतोमा पुगेको।
जाँतोको हातो खुसुक्क खुस्की निधार चुमेको।६।🌷🙏🌺

निधार छाँम्दा अमला जत्रो टुटुल्को उठेको।
त्यसैले गर्दा दुईघण्टा मैले कुनामा सुतेको ।
ती सबै कुरा सम्झना दियो अहिले जाँतोले।
कसैको पनि नहोस् है त्यस्तो जाँतोको हाँतोले ।७।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानअन्तर्गत सरकारले पाँचवटा स्थानीय तहलाई भूमिहीन समस्यामुक्त पालिका…

१८ नोभेम्बर २०२६ | मध्यपूर्व / मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। इरानको केश्म टापुस्थित क्षेप्यास्त्र प्रक्षेपण…

-गोबिन्द राज ओझा (राजन ) अनन्त आकाशबीच चम्किने ताराका ज्योति हौँ हामी सबै, प्रकृतिका कणकणभित्र लुकेको चेतनाका मोती हौँ हामी…

प्रतिकृयाहरू
...