Sunday 3rd August 2025

कविताः बडा दशैँ – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


सन्तान भन्नु यौटा छोरा मुग्लानमा पस्यो ।
बाबु आमा बिर्सिएर उतैतिर बस्यो ।
सबैकुरा जान्दैन कि पापी दशैँ कसो ।
घुमी फिरी सँघारमा आइकन बस्यो ।१। 🌷🙏🌺

भन्न लागे बुढा बुढी बाबुआमा घर ।
छोरो भने विदेशमा गयो भट्टी तिर ।
त्यहाँ बसी जेतेपाते पियो मस्त सित ।
लत बस्यो आफ्नो भन्दा उसैको छ जित ।२। 🌷🙏🌺

बडा दशैँ हाम्रो लागि आएको खै किन ।
डाँडा माथि पुगे घाम डुब्नै लाग्यो दिन ।
जाऊ बुढा छोराको त्यो फोटो लिई आऊ ।
टीका साथै जमारा त्यही फोटोमा नै लाऊँ ।३। 🌷🙏🌺

भनिकन बुढा बुढी आँशु झारी बसे ।
आँगनीमा भँगेराले जिस्काएर हाँसे ।
घर अघि काग आई का का गरी बोल्यो ।
प्रदेशीको खबर आयो भन्दै कुरा खोल्यो ।४। 🌷🙏🌺

नवरात्री भरी उनले दुर्गा पूजा गरे ।
सकरात्मक सोच थियो देवी शरण परे ।
छोराको केही खबर आओस् भन्ने चाह थियो ।
दुर्गाजीको कानमा नै कुरा पर्‍यो क्या हो ।५। 🌷🙏🌺

नभन्दैमा प्रदेशबाट छोराको फोन आयो ।
ढोग गरेँ आमा बुवा छोरा भन्न लाग्यो ।
बुढाबुढी बाबाआमा डाँको छाडी रोए ।
एकै छिनमा शान्त भए पिडा सबै पोखे ।६। 🌷🙏🌺

फोनबाट भएपनि दशैं शुरु भयो ।
बाबुआमा आशिष दिए हात थाप्यो छोरो ।
रामचन्द्रको जस्तो शत्रु नाश हुँदै जाउन् ।
बिदुर जस्तो ज्ञानी हुनु सबै सोध्न आउन् ।७। 🌷🙏🌺

सम्पति होस दशरथ जस्तो बायु जस्तो गति ।
ऐश्वर्य होस् नहुष जस्तो नारायणको कीर्ति ।
दुर्योधन जस्तो मान युधिष्ठिरको सत्य ।
भिष्म जस्तो शुरता होस् नडग्नु एक रति ।८। 🌷🙏🌺

भनिकन आशिष दिए बुढा बाबु आमा ।
छोरो पनि कुरा सुनी बसी रह्यो त्यहाँ ।
बडा दशैँ कारणले भेटघाट भयो ।
बाबु आमा छोरा बिच माया प्रेम बढ्यो ।९। 🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...