Thursday 13th November 2025

विदेशमा रहेका १९१ जना नेपालीको कोरोनाको कारण मृत्यु, ४६ हजार बढी स्वदेश फर्किए


कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अस्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक सय ४६ जना नेपालीमा संक्रमण देखिएको छ । गत साता लग्जेम्बर्गमा रहेका नेपालीमा सामूहिक रूपमा देखिएको कोरोना संक्रमितहरू संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्बर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् ।

विश्वमा ३८ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको र १६ देशमा कोरोनाका कारणले निधन भएको छ । हालसम्म नेपालसहित ५५ हजार नौ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४७ हजार चार सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विदेशमा अलपत्र परेका ४६ हजार तीन सय १२ जनाको उद्धार
कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट ४६ हजार तीन सय १२ जनाको उद्धार गरिएको छ । सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार पाँच सय एक जनाको उद्धार गरिएको छ । साउदी अरेबियाबाट ६ हजार नौ सय ९७, मलेसियाबाट ६ हजार सात सय ९४, कुवेतबाट ६ हजार तीन सय २९ र कतारबाट पाँच हजार दुई सय ५१ जनाको उद्धार भएको छ ।

अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्यान्डबाट तीन सय २६, दक्षिण कोरियाबाट सात सय २०, बंगलादेशबाट आठ सय ४१, माल्दिभ्सबाट सात सय नौ, सिंगापुरबाट दुई सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट नौ सय ८०, अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई सय २९, इजरायलबाट एक सय २७, चीनबाट दुई सय आठ, टर्कीबाट एक सय १० जना स्वदेश फर्किएका छन् ।

त्यस्तै, फिलिपिन्सबाट दुई सय ए जना, स्विट्जरल्यान्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट दुई सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट पाँच जना, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर, स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्यांक यकिन छैन ।

हालसम्म १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।

यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...