Saturday 16th November 2024

तनाव र दवाव छल्दै लयमा फर्किएको एनआरएन कुवेत


तोयानाथ उपेक्षित – प्रवासको हकमा एनआरएन भन्ने वित्तिकै आर्कषण हुने सँस्था हो तर कतिपय गैर जिम्मेवार एनसीसी नेतृत्वका कारण कयौ देशहरुमा एनआरएन प्रति वितृष्णा जगाउने काम नभएका होईनन्। एनआरएन भनेपछि मुण्टो बटार्ने र कुनै अमुक नामको संस्था खोलेर भए पनि काउन्टर गतिविधी गर्ने सम्मका धेरै उदाहरण छन्। लगभग एनसीसी कुवेत पनि वेलामौकामा यस्तै अवस्थाबाट गुज्रिएको थियो तर अहिले भने एनसीसी कुवेत लयमा फर्किएको एउटा सल्लाहकारको आँखाबाट देखियो।

गत विहिवार फाहाहिलमा बसेको एनसीसीको बैठकमा पहिलो पटक सल्लाहाकारको रुपमा निम्तो ग्रहण गर्दै हाजीर हुन पुग्ने मनुवा मध्ये म पनि थिए । पहिलो पटक मैले बोल्न भन्दा धेरै सुन्नु थियो, जान्नु थियो । सवैका अनुहार नियाल्दै कुरा सुन्दै जाँदा केही घण्टाहरु पत्तै नपाई वित्यो । धेरै बर्ष पहिले सल्लाहकार भएर एउटै बैठक गर्न नपाउँदै सामुहिक राजीनामा दिने मध्येको एक विद्रोही म पनि थिए । त्यसपछि मैले एनआरएनमा कहिल्यै नर्फकने सोच पालेको थिए । त्यसयता बास्तवमै एनआरएन गतिविधीका एकाध समाचार बनाउन भन्दा अरु कुनै काम नगरेको मैले सल्लाहकारमा मनोनयन भएको सुन्दा कुनै उत्साह भएन । एनआरएनलाई हेर्ने मेरा आँखा उहि भदौमा आँखा फुटेको गोरुले सधै भरी सवै कुरा हरियो देख्छ भने जस्तै थिए ।

तर पहिलो बैठकले मेरो आँखाको अप्रेशन गरिदियो । दल र बलको त्यहाँ कतै दम्भ थिएन । जात र आघातको कुण्ठा पनि थिएन । हार्दिकतापूर्ण सम्बन्ध, शिष्ट र सभ्य छलफल अनि सँस्थाको मान र प्रतिष्ठाका लागि दायित्व लिन म म गर्ने सदस्यहरु देख्दा यो एनसीसी नै हो त ? भनेर आफैलाई प्रश्न गर्न मन लाग्यो। वास्तवमा त्यो मेरो भ्रम थिएन,यर्थाथ थियो। लगभग सवैको उपस्थिती थियो। सवैमा एउटै चिन्ता देखिन्थ्यो के गरे एनसीसी अझै राम्रो हुन्छ। कसरी धेरै भन्दा धेरै राम्रा कामहरु गर्ने ? नेपाल सरकारले विदेशमा रहेका नियोगहरुलाई प्रष्टै निर्देशन गरेको परिप्रेक्षमा एनआरएन कुटनैतिक नियोगको दायाँ अंग हुनु अस्वभाविक हैन। यहि भएर पनि विदेशमा गरिने भिजिट नेपालको प्रचार प्रसारको आधा आधा ऋण धन एनआरएनले व्यहोर्न पर्ने देखिन्छ । यहाँ धनलाई जसको रुपमा र ऋणलाई कामको रुपमा बुझौ ।

यति राम्रो कुवेतको एनआरएन बने पछि यसले लय नसमाउने भन्ने कुरै छैन । सुजन केसिको नेतृत्व र अमित राईको आईसीसी बाट हुने व्याक फोर्सले लगभग कुवेतलाई समेटेको महसुस गर्न सकिन्छ । विगतको तनाव र दबाब छल्दै आज सम्म आईपुग्दा एनसीसी कुवेतले ईतिहासबाट सिकेको छ र बर्तमानमा सजग छ भन्ने कुरा उसको गति र शैलीलाई हेर्दा थाहा हुन्छ। शुक्रवार एनसीसीका अध्यक्ष र पदाधिकारीहरुको दौडधुप सवैको मन जित्ने प्रयाससँग अन्तर्निहित छन्। नेतृत्व र सँस्थाको सकरात्मक सतप्रयास बुझे पछि त्यसलाई साथ नमिल्ने भन्ने पनि हुदैन । सवैको नैतिक समर्थन रहेको एनसीसी कुवेतलाई अव्वल संस्था र सवल भूमिकामा देख्न चाहाने हो भने कुवेतका सवै संघसंस्थाले गंभिरतापूर्वक साथ दिन जरुरी देखिन्छ ।

हो वास्तवमा एनसीसी माथि भिजिट नेपाल सफल पार्न सहयोग गर्ने दवाव छ । यो सम्पूर्ण नेपालीको काम पनि हो । राजदूतावास सँग मिलेर विभिन्न कार्यक्रम गर्नका लागि जन र धन दुवै चाहिन्छ । यसैगरी एनसीसीको आफ्नो बार्षिक क्यालेन्डर पनि छ । नेपाललाई केही न केही प्रोजेक्ट कुवेतबाट दिने योजना पनि छ । एकदमै व्यस्तताका विच तन, धन र मनको प्रचुर खाँचो एनसीसीका पदाधिकारीले मात्र धान्न गाहो छ । यसर्थ एनसीसीले नसर्माई सवै संघ संस्था गुहार्न पर्दछ। सवैको साथ खोज्न पर्दछ।

गत बैठकमा एनसीसीका पदाधिकारीहरु र सदस्यहरुले विभिन्न कार्यक्रममा गर्नु पर्ने भौतिक, नैतिक र द्रव्य समेतको कन्ट्रिव्युसनका लागि म म भनेको सुन्दा मनै देखि सलाम गर्न मन लाग्यो। होमनाथ गिरी, रमिता योन्जन, बम विष्ट, गणेश रावत लगायत सवैजसो पदाधिकारी सदस्यहरुले यसरी आफ्नो गाँस काटेर कति दिन थाम्न सक्लान तर पनि त्यो भावना र उत्प्रेरणा अदम्य लाग्थ्यो । यसरी मात्र संस्था चल्दैन एनसीसी सवैका सामु पुग्नु पर्दछ । एनसीसीले फैलाउने सुवास माटोका लागि, देशका लागि नै हो अझ नेपालको भविश्यका लागि नै भएको हुँदा सब कुवेतवासी नेपालीहरु आफै एनसीसी बन्न जरुरी छ । एनसीसीले लय समातेको अवस्थामा यसको गतिलाई अविछिन्न बनाउन सबले साथ दिऔ ।


सम्बन्धित शीर्षकहरु

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हिन्दूहरूको मुद्दालाई आवाज उठाउने एक पूर्व डेमोक्रेटिक नेतालाई महत्त्वपूर्ण पदका लागि चयन गरेका छन्।…

बंगलादेशका महान्यायाधिवक्ताले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउन सुझाव दिनुभयो, कारण के थियो ? बंगलादेशका महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले देशको संविधानबाट 'धर्मनिरपेक्ष' र…

प्रतिकृयाहरू
...